सहमती भएपछि टुङ्गीयो रुबी खानको आमरण अनशन


भैैरहवा– सरकारका प्रतिनिधिसंग सहमती भएपछि विगत २३ दिनदेखि आमरण अनशनमा रहेकी रुबी खानले अनशन अन्त्य गरेकी छन् ।
बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीरबन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानलगायतका माग राख्दै उनले अनशन सुरु गरेकी थिइन् । प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले पानी खुवाएपछि खानको अनशन अन्त्य भएको हो । खान र सरकारबिच भएको सहमति अनुसार जिल्ला प्रहरी कार्यालय, बाँकेमा २०७७ चैत २० गते दर्ता भएको निर्मला कुर्मीको अपहरण, शरीरबन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दाका सम्बन्धमा हालसम्म भएका अनुसन्धानको अध्ययन गरी यथाशीघ्र न्यायिक प्रक्रियामा लगिने छ ।
अनशनरत खानले उठाएका अन्य घटनाका अनुसन्धानका सम्बन्धमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाट छानबिन गराउने र त्यस क्रममा कमजोरी पाइए सम्बन्धित प्रहरी कर्मचारीमाथि प्रहरी नियमावली बमोजिम कानुनी कारबाही गर्ने प्रतिबद्धता सरकारले जनाएको छ । खानविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा दर्ता भएको ‘सार्वजनिक शान्तिविरुद्धको कसुर’ मुद्दामाथिको अनुसन्धानलाई पनि तत्काल टुंग्याउन निर्देशन दिइने सहमति भएको एड्भोकेसी फोरम लुम्बिनी प्रदेशका संयोजक वसन्त गौतमले बताए ।
गौतमका अनुसार, उक्त मुद्दामा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षकलगायतका कर्मचारीको भूमिकाका सम्बन्धमा प्रहरी प्रधान कार्यालयले छानबिन गर्ने र कमजोरी पाइए कारबाही प्रक्रिया अघि बढाउने सहमतिसमेत भएको छ । निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत खान र अन्य महिला अधिकारकर्मीको सुरक्षाका लागि बाँकेस्थित जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई आवश्यक निर्देशन दिने सहमतिसमेत भएको छ ।








प्रतिकृया दिनुहोस्