May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

बर्दिया निकुञ्जका ५ बाघलाई आजीवन काराबास

Advertisement

बर्दिया– बर्दिया निकुञ्जका समस्याग्रस्त पाँच बाघलाई आजीवन काराबास सजाय तोएिको छ । विभिन्न समयमा मानिसको ज्यान लिएका बाघलाई निकुञ्ज अन्तर्गत विभिन्न कार्यालयमा खोरमा राखिएको हो । पछिल्लो समय समस्याग्रस्त बाघको संख्या बढ्दै गइरहेकाले खोर र आहरा अभाव हुँदै गएको छ ।

Advertisement

अहिले निकुञ्ज मुख्यालय ठाकुरद्वारा र रम्भापुरमा यस्ता समस्याग्रस्त बाघ राखिएको छ । मानिस देख्नासाथ कराउने, आत्तिने र आक्रोशित हुने भएकाले खोर आसपास मानव प्रवेशमा रोक लगाइएको छ । खोरमा राखिएका बाघलाई एकदिन बिराएर ७ किलो राँगाको मासु दिने गरिएको निकुञ्जका सूचना अधिकारी वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए । ‘समस्याग्रस्त बाघ प्राकृतिक वासस्थानमा छाड्न मिल्दैन,’ उनले भने, ‘आजीवन खोरमा बस्नुपर्ने हुन्छ । बर्दिया निकुञ्जको मुख्यालयमा २ वटा भाले र रम्मापुर पोष्टमा २ भाले र एक पोथीसहित ५ समस्याग्रस्त बाघ थुनामा राखिएको छ ।’

निकुञ्जको खोर भरिएकोले समस्याग्रस्त बाघ अन्य निकुञ्जको खाली भएको खोरमा पठाउनुपर्ने भएको छ । टाडैबाट बाघको नियमित स्वास्थ्य अवस्था वारे जानकारी लिन पशु स्वास्थ्यकर्मीले रेखदेख गर्ने गरेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्बाहाम्फेले बाघ गम्भीर खालको रोगबाट ग्रसित भयो भने डट गरेर परीक्षण हुने गरेको बताए ।

बर्दिया निकुञ्जमा सन् २०१८ मा गरिएको गणनामा ८७ वटा बाघ भेटिएको थियो । हाल यसको संख्या बढेर १ सय २५ पुगेको निकुञ्जले जनाएको छ । पछिल्लो बाघ गणनाको नतिजा साउन महिनामा आउने भएको छ । बर्दिया निकुञ्जमा समस्याग्रस्त एउटा गैंडा १६ वर्षदेखि खोरमा राखिएको छ भने एउटा चितुवा एक वर्षदेखि थुनामा राखिएको छ ।