May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री फेर्न कसरत, पालो कुर्दै कांग्रेस

Advertisement

भैरहवा– लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले केही महिना अघि गत चैत ८ गतेभित्र सरकार परिवर्तन भइसक्ने बताएका थिए । त्यसका लागि वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्यसित छलफल भइरहेको उनको दावी थियो । उनले भनेजस्तो परिस्थिति रहेन ।

Advertisement

कांग्रेसमा विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गरियो । कांग्रेस सभापतिमा गगन थापा चुनिए । लगत्तैं प्रतिनिधिसभा सदस्य निर्वाचन आयो । जसले गर्दा सरकार परिवर्तनको विषय ओझेलमा पर्यो । अर्कोतर्फ कांग्रेसभित्र पहिलको संस्थापन पक्ष किनारा लाग्यो । नयाँ पक्ष संस्थापन बनेको छ । एमालेभित्र पनि भविष्यमा कसरी अगाडि बढ्ने भन्नेबारे घनिभूत छलफल भएन । जसले गर्दा प्रदेश सरकार परिवर्तनमा ढिलाई भइरहेको छ ।

ढिलैं भए पनि लुम्बिनी प्रदेशमा सत्तारुढ एमालेभित्र सरकार फेर्ने कसरत अघि बढेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै मुख्यमन्त्री फेर्ने प्रयास सुरु गरेको नेताले दाबी गरेका छन् । स्रोतका अनुसार काठमाडौंमा आइतबार यस विषयमा छलफल भएको हो । निष्कर्षमा पुग्न नसकेपछि सोमबार सचिवालय बैठकमा प्रदेश सरकारको नेतृत्व र मन्त्री फेरिन सक्ने विषयमा छलफल भएको थियो । बैठकमा अध्यक्ष ओलीले सातै प्रदेश सरकारको नेतृत्व परिवर्तनको विषयमा कांग्रेस र नेकपासँग अनौपचारिक छलफल भइरहेको जानकारी सचिवालय बैठकमा गराएको एक नेताले बताए । ओलीले मंगलबार पनि प्रदेश सरकार फेरबदलको विषयमा कांग्रेससँग छलफलको प्रयास गरेका थिए । कांग्रेसले बुधबार गर्ने भनेपछि छलफल अगाडि बढ्न सकेन ।

लुम्बिनी प्रदेशमा अहिले एमालेका आचार्य मुख्यमन्त्री छन् । एमाले महासचिव शंकर पोखरेल निकट मानिन्छन् । त्यसकै कारण पनि ओलीले फेर्ने प्रयासमा रहेको एमालेका केन्द्रीय नेताहरूको दाबी छ । लुम्बिनीमा कांग्रेससँग १८ महिना आचार्यले सरकारको नेतृत्व गर्ने र त्यसपछिको १८ महिना कांग्रेसले नेतृत्व गर्ने सहमतिअनुसार २०८१ साउनमा आचार्य मुख्यमन्त्री भएका थिए । उक्त सहमति अनुसार गत फागुनमै त्यो समयसीमा सकिएको छ ।

अहिले लुम्बिनी कांग्रेसभित्र पनि संस्थापन र इतरपक्षबीच मुख्यमन्त्रीका लागि प्रतिस्पर्धा चलिरहेकाले कांग्रेसले प्रदेश सरकारले बजेट ल्याएपछि मात्र सरकारको नेतृत्व फेर्ने तयारी छ । तर, एमालेमा त्यो भन्दा अघि नै मुख्यमन्त्री फेर्ने गरी प्रयास भइरहेको हो । कांग्रेसका नेताहरू भने आवश्यक नै परे मन्त्रीहरू हेरफेर गर्ने तर सरकारको नेतृत्व बजेटपछि मात्र फेर्ने गरी छलफल गरिरहेका छन् ।

एमाले नेताहरूका अनुसार अहिले केपी शर्मा ओलीले कोशी र लुम्बिनीमा नेतृत्व फेर्ने प्रयास गरिरहेका छन् । त्यसका लागि ओलीले कांग्रेस र नेकपा संयोजक पुष्पकमल दाहालसँग पनि छलफल गरिरहेका छन् । त्यसकै आधारमा नेकपाका नेता एवं लुम्बिनीका पूर्वमुख्यमन्त्री जोखबहादुर महरालाई केन्द्रमा भएको छलफलको जानकारी गराएका हुन् । नेकपाका लुम्बिनी प्रदेश संयोजक सुदर्शन बरालले सामान्य छलफल चलिरहेको तर ठोस केही नभएको बताए । ‘दलको नेतासँग सामान्य कुराकानी भइरहेको जानकारी छ,’ उनले भने, ‘निष्कर्षमा पुग्ने गरी ठोस छलफल अझै भएको छैन । एक–दुई दिनमा केही होला ।’

लुम्बिनी प्रदेशबाट एमालेको केन्द्रीय सदस्यमा निर्वाचित एक नेताका अनुसार लुम्बिनीमा कांग्रेस नेतृत्व लिन तयार नभए नेकपासँग सहकार्य गर्ने गरी ओलीले छलफल गरिरहेका छन् । ‘पहिलो सम्झौता अनुसार कांग्रेसलाई नेतृत्व लिन आग्रह गर्ने, दोस्रो नेकपासँग छलफल गर्ने र त्यो पनि नभए एमालेकै अर्को व्यक्ति अघि सार्ने तयारीमा अध्यक्षज्यूको मनसाय देखिन्छ,’ ती केन्द्रीय सदस्य भन्छन्, ‘नेतृत्व फेर्ने भन्दै उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल अघि बढेपछि चिढिएका ओली कमरेडले अर्को विकल्प प्रयोग गर्न खोजेको बुझिन्छ ।’

ओलीले कोशी र लुम्बिनी सरकारको एमाले नेतृत्व तत्काल परिवर्तन गर्न खोजेको देखिएको ती सदस्यले बताए । एमाले महासचिव शंकर पोखरेल मंगलबार गृहजिल्ला दाङ आएका छन् । उनले मंगलबार देउखुरीमा प्रदेश सरकारका नयाँ भवनहरूको अवलोकन गर्ने, एमालेका प्रदेश मन्त्रीहरू र कर्मचारीसँग पनि छलफल गरेका थिए । महासचिव पोखरेलले जनताको मन छुने गरी बजेट बनाउन निर्देशन दिएको भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताए ।