May 27, 2026, Wednesday
२०८३ जेष्ठ १३ बुधबार

करछली

Advertisement

“धनबहादुर हाजिर हो !” नाइकेले नाम उच्चारण गर्नासाथ उपस्थित भयो । अनुपस्थित हुँदाको परिणाम विगतमा देखिसकेको छ । नाइकेले जेल जीवन सकिएको पुर्जा हातमा थमायो ।

Advertisement

‘करछली’– चार अक्षरको शब्द । “त्यो के हो ? मबाट के हुन गयो र म जेल परेँ ?” भनेर पन्ध्र वर्षे जेल जीवन व्यतित हुँदासम्म पनि खुट्याउन सकेन ।

च्यातिएको तन्नाले बेरेको पोको बोकेर जेल बाहिर केहीबेर घोरियो । अन्ततः फटाफट उकालो चढ्यो ।

पन्ध्र वर्ष अघिको घटना पुनः मानसपटलमा देखा परे ।

मध्याह्न ढल्कँदै थियो । तामाकोशी बजारमा भएका सबै माछा बिक्री गरेर सानो सिसिमा एक चौथाई तेल र जर्किनमा दुई लिटर मट्टितेल । काँधमा जाली, कम्मरमा फुङ्ग्रो र खुर्पा भिरेर घर फर्कँदै थियो ।

घर पुग्दा नपुगदै मान्छेहरूको कल्याङ कुलुङ आवाजले मनमा सन्ताप लिएर हतारिँदै घर पुग्यो । आफ्नै आँगनमा प्रहरी र गाउँले  देखेर झसङ्ग भयो । धनबहादुर तपाईं नै हो ? उसले मुन्टो हल्लाएर हो को संकेत गर्यो ।

पक्राउ पुर्जी हातमा थमाउँदै प्रहरीले हतकडी लगाए ।

किन ? कसरी ? सोध्ने आँट कसैले गरेनन् । घरमा रुवाबासी चल्यो । दनुवार बस्तीमा एकाएक सन्नटा छाएको थियो ।-sahityapost