October 16, 2025, Thursday
२०८२ आश्विन ३० बिहीबार

मान्छेको छाउरो

निस्तब्ध रात कुनै स्वास्नीमाछेको निर्जीव हृदय हो, जसलाई चिरेर यौटा तीतो स्वर, कुकुरका सानु छाउराको प्रलाप, बाँसको लिङ्गो जस्तै ठडिन्छ आकाश छुने गरी–क्वाइँ… क्वाँ वाँ वाँ वाँ वाँ वाँईईईईईई…

Advertisement

यो चीत्कार दोहोरिन्छ, तेहोरिन्छ, चौहोरिन्छ र प्रत्येकपटक अझ सघन, अझ तीखो, अझ अग्लो भएर कराउँछ ।

किस्नेलाई मन पर्दैन ।

ढोकाबाहिर चिसो सडकमा नाङ्गो आकाशमुन्तिर जरूवा पानीझैँ यो आवाज भुलभुल उम्रेको छ, प्रत्येक पछिल्लो क्षणमा झाङ्गिदो छ, र किस्ने ढोकाभित्र रेस्टुराँको चिसो छिँडीमा शीताङ्ग छ ।

विचित्र किसिमको जाडाले ऊ जम्दो छ । उसका पैतला भूइँ जति चिसा छन्, औँलाका टुप्पामा ठिही छ । अनि घुँडामा एक किसिमको दुखाइ छ, जति बढी चिसिँदै गयो, त्यो दुखाइ उति बढी हुँदै जान्छ ।

उसलाई पनि एकपटक त्यै कुकुरको छाउरोजस्तो गरी कराउन मन लाग्छ, तर सक्तैन, किनभने ऊ मान्छेको छाउरो हो र ऊ ढोकाभित्र छ ।

किस्नेलाई त्यस कुकुरको छाउराको आवाज तीतो लाग्छ । के, ढोका खोलिदिऊँ, छाउरो भित्र पसोस्, अँगालेर सुतेँ, उसलाई पनि तातो, आफूलाई पनि तातो, ऊ सोच्छ ।

तर ऊ ढोका खोल्न उठ्दैन । ऊ रेस्टुराँका दिउसो हिप्पी ग्राहकहरू बस्ने दुईटा बेन्च जोडेर सुतेको छ । सासको तातोले अनुहार र छाती, काखीको तातोले दुवै हत्केला तातेका छन् ।

ती जम्मै सेलाउनेछन् ढोका खोल्न उठ्यो भने । पैताला हिमाल हुनेछन् । अहँ, उसँग त्यति जाँगर छैन । त्यसमाथि साहूले राति रेस्टुराँको ढोका खोलेको थाहा पायो भने मार्छ ।

छाउरो अझ तीव्रतासाथ उकेल्छ उसको छातीमा नअटाएको तीतो ।

रेस्टुराँ बाह्र बजे बन्द भयो होला । तीनटा ऊजस्ता मसिना भूरा केटाहरू तीनटा लाठे कुकहरूसँग गए । तिनीहरू कुकहरूकै डेरामा उनीहरूसँगै सुत्छन् ।

चौथो कुकसँग ऊ सुत्थ्यो, जसले एक मैना अगाडि मात्रै यौटी रन्डीसँग बिहा गरेको छ, अतः किस्नेको ठाउँ स्वतः त्यस रन्डीले लिएकी छ । यसरी हाल ऊ रेस्टुरामा सुत्ने गर्छ एक्लै ।

उसको काठमाडौंको जाडाको यो दोस्रो अनुभव हो । पोहोरको हिउँद उसले पल र जुलीसँग सुतेर बितायो । पल यौटा फ्रेन्च हिप्पी र जुली यौटी डच हिप्पिनी ।

उसको पहाडमा यस्तो जाडो हुँदैनथ्यो । पोहोर दश‌ैँताक ऊ यहाँ सडकमा सुतेर बिताउँथ्यो, तैपनि यस्तो जाडो लागेको थिएन, कुकुरको छाउरो किन त्यसरी कराएको हँ ?

भोलिबिहानसम्म पक्कै मर्छ क्यार ! कि ढोका खोलिदिने हो ? (अब छाउरो धेरै चोटि क्वाइँ–क्वाइँ नगरेर थोरैचोटि तर धेरै लामु समयसम्म र जोडसँग क्वाँइँ क्वाँइँ गर्न लागेको थियो ।)

घरबाट भाग्दा ऊ माग्ने हात र खाने मुख मात्रै बोकेर आफ्ना खुट्टामा सवार भएर भागेको थियो–मूलबाटै मूलबाटो । उसलाई थाहा थियो, सुनिराको थियो पढेलेखेका ठिटाहरू नेपाललाई ‘काठमाडौँ’ पनि भन्छन्– खुब बयान गर्छन् अतः उसले ‘तीन सहर नेपाल’ जाने मूलबाटो समायो ।

उसले धुलिखेललाई ‘नेपाल’ भनिठान्यो, बनेपालाई ‘नेपाल’ भनिठान्यो, ठिमीलाई ‘नेपाल’ भनिठान्यो, नयाँ सडक आइपुगेपछि चाहिँ सक्कली ‘नेपाल’ आउनै छ भनिठान्यो ।

धुलिखेल आइपुग्दा ऊ दुई दिनको भोको थियो र यौटा होटेलमा भाँडा माझ्न थाल्यो, अहिले पल्टिरहेको होटेल उसले काम गरेको अठारौँ होटेल हो ।

बीचमा ६ महिना जति ढाक्रे थियो । दुई महिना माग्ने पेसा समायो । वसन्तपुरको पेटीमा सुत्यो । हिप्पी र टुरिस्ट देखेपछि सबै भूराजस्तै ऊ पनि हात फैलाएर पछि लाग्यो ।

‘नो मामा नो पापा हङ्ग्री प्लीज ।’

यो त्यहाँ सुत्ने सबै भूरालाई कन्ठै थियो, कुन्नि कसले सिकाइदिएको, सायद कुनै हिप्पीले जुन आफू पनि मागेर हिँड्थ्यो र बेलामौकामा तिनीहरूसँगै त्यहीँ सुत्थ्यो ।

किस्ने अझ सेलाउँदै जान्छ । सुत्ने बेलामा उसले आफूलाई रनक्कै तताएको थियो । गाँजा, चरेसका धुँवाले, बिहानदेखि सल्किरहेको हिटरको साटो काम लिइएका चार–पाँच वटा दमचुलीको मकलले, मान्छेको भीडले कोठा केही तातै थियो ।

सुत्ने बेलामा उसले जम्मै मकलहरूको गोल निथारपिथार पारेर, यौटैमा खन्याएर भुङ्ग्र्रो चम्काएको थियो र हातखुट्टा, सबै तताएको थियो । त्यै रन्कामा ऊ दुईतीन घण्टासम्म निदायो पनि ।

तर ऐले ब्यूँझेको छ । सायद छैन । उसले यो निधो गर्न सकेको छैन, ऊ निदाएको छ वा ब्यूँझै छ ।
बिहान सात बजे साहू ओर्लन्छ । त्यति बेलादेखि बोकेको कामको जुवाकाँधबाट राति बाह्र–एक बजे मात्रै ओर्लन्छ ।

दिउँसो ग्राहकको भीड अलि कम्ती हुन्छ र त्यसबेला मालिकको, साथी बेराहरूको, कुकहरूको आँखा छलेर उङ्नसम्म पाइन्छ । अनि कहिल्यै अघाउन्जेल सुत्न नपाएको निद्रा, थकाइ र आलस्यको बोझले गर्दा जति जाडो भए पनि, जति चिसो भए पनि ऊ राम्रै ब्यूझेको छैन ।

तर ऊ छाउरो रोएको तीतो स्वर अवश्य सुनिरहेछ र बिथोलिइरहेछ । ढोका खोलेर त्यसलाई भित्र हुलूँ कि नहुलूँ भन्ने दोधारमा छ ।

उसलाई थकान, निद्रा र आलस्यभन्दा चिसो र ब्युँझाइले जितेछ क्यार, सिरानमुनिबाट उसले यौटा चरेस भरेको चुरोट झिक्छ, जुन आज दिउँसो उसलाई क्याथरिन भन्ने हिप्पिनीले दिएकी थिई । सल्काएर सुइँ सुईं तान्न थाल्छ ।

पल नोभेम्बरमै फेरि आउँछ भनेर गएको हो, क्रिसमस भैसक्यो, तर आएन । पलसँग दोस्ती भएपछि ऊ पलसँगै सुत्न लाग्योः पलसँगै खान, पलसँगै डुल्न । पलले उसलाई बालगिरीको होन्डामा बारबीसे डुलाउन पनि लगेको थियो ।

पल नाङ्गै सुत्थ्यो । मागेर हिँड्ने ताका गाँजा खान, चरेस खान उसले पलसँगै सिकेको हो । पल भन्थ्यो– ‘म तँलाई माया गर्छु ।’

किस्नेलाई पनि पलको माया लाग्छ, तर यो हिउँदमा, यो चिसामा ऊ पलको अँगालोमा सुत्न पाएन । पल आएन, न जुली नै आई ।

जुली त नेपालमै थिई–साथीहरूसँग ट्रेकिङमा गएकी, तर फर्किन । साथीहरू पिटर, क्रिस्टी, ओम, मेडलिन सबै फर्किसके । उसबारे सोध्दाखेरी ‘हु नोज ?’ भन्छन् जसको ठीक अर्थ किस्नेले बुझ्न सकेको छैन ।

जुलीले पनि उसलाई महिनौं आफ्नू कोठामा सुताएकी छ, आफूसँगै, तर जुली नाङ्गै सुत्दिन ।

एकदिन मध्येरातमा कुन्नि कताबाट रोबर्ट आइपुगेपछि जुलीले उसलाई निकालिदिएकी थिई !

उसले त्यै चुरोटसँग जोडेर अर्को चरेस भरेको चुरोट सल्काउँछ । चरेसको मातले उसको टाउको घुमाउन थाल्छ । उसलाई लाग्छ ऊ आफ्नू ओछ्यानबाट केही उचालिँदै छ ।

बाहिर छाउरो कराउँदैछ । जुलीले भनेकी थिई चरेसले सोझै स्वर्गमा पुर्‍याउँछ, धरतीरूपी नर्कमा बस्नु पर्दैन, यो उसले अरूसँग अर्थ लगाइमागेर जानेको ।

उसले जान्ने अंग्रेजी त ‘यस’ र ‘नो’ अनि अलि–अलि टाकन–टुकन मात्रै हो । सोच्यो ऊ स्वर्गतिर जाँदैछ, छाउरो रूँदैछ, उसले आफ्नी आमा सम्झ्यो–जुली पनि उसलाई कता कता आमा जस्तै लाग्थ्यो ।

उसलाई मायाले टाँस्थी पनिः एकजोर दोचा किनिदिएकी थिई । ऊ पन्ध्र सालको अनिकालमा जन्मेको थियो रे, जन्मेकै वर्ष बाबु खसेको र पच्चीस सालमा आमा पोइल गएपछि झड्केलो बाबुको कुटाई खाएको बेहोसीमा दसैँको मुखमा घर छोडेर भागेको थियो ।

चरेसको सुरमा ऊ झड्केलो बाबुको जुँधा सम्झिन्छ । पलमा उसले आफ्नू झड्केलो बाबु देख्न सकेन अब । साँच्चै ऊ केही सम्झन सक्तैन… साँच्चै स्वर्ग जाँदैछ क्यार ऊ चरेसको धूवाँ निल्दै जान्छ…ऊ त्यो कुकुरको छाउराको तीतो आवाज सुन्न छाड्छ (यद्यपि त्यो छाउरो अझ बेसरी रूदै हुन्छ) ।

ऊ जुलीलाई बिर्सन्छ । …ऊ आफ्नू शीताङ्गलाई बिर्सन्छ । भोलि बिहान सातबजेदेखि मेलामा जोतिनु पर्ने बन्धनलाई बिर्सन्छ ।

सातबजे पाइने दुइटा पाउरोटी र एक कप चियाको ब्रेकफास्ट बिर्सन्छ, मैना मरेपछि नगद पाउने रू. दश बिर्सन्छ ।

तर, भोलि मालिकले गाँजाको गन्ध पायो, अर्थात् उसले गाँजाचरेस खान्छ भन्ने थाहा पायो भने त्यस रेस्टुराँबाट पाकेको तलब छाडेर निस्कनुपर्छ भन्ने बिर्संदैन, किनभने ऊ यै अपराधको दण्डस्वरूप हरेक रेस्टुराँबाट निकालिएको थियो ।

हरेक साहू काम गर्ने केटाको खोट खोजिरहेका हुन्थ्ये र पाउनासाथ दण्डस्वरूप तलब नदिई कामबाट निकालिदिन्थे ।

आफू भने हिप्पी–हिप्पीनी ग्राहकहरूसँग बसेर गाँजा र चरेसमाथि रक्सी पनि खान्थे तर काम गर्ने केटाले चरेस हालेको चुरोटको एक सर्को खाएको थाहा पाए तलब नदिईकन निकालिदिन्थे ।

ऊ ठुटो राम्रोसंग निभाएर फ्याकिदिन्छ, तर ठुटो फ्याक्न झट्कारेको हात फर्काउन सक्ने स्थितिमा हुँदैन चरेसको मातले गर्दा ।

उसको जिभ्रामा चरेसको तीतोतीतो स्वाद आइरहेको हुन्छ । घाँटी सुकेको हुन्छ ।

भोलिपल्ट घामलागेपछि उसले देख्छ, हिजो राति रूने कुकुरको छाउरो आमाको लाम्टा चुस्दै थियो । यस दृश्यले उसलाई भरेको लागि चरेसदार चुरोटको जोहो गरिराख्न सम्झाइदियो, आमा होइन ।

(कथाकार ‘जगदीश घिमिरेका प्रतिनिधि कथाहरू’बाट ।) -baahrakhari