July 14, 2026, Tuesday
२०८३ असार ३१ बुधबार

सरकारी छात्रबृत्तिमा अध्ययन गरि सरकारी अस्पतालमा कार्यरत चिकित्सकले निजीमा काम गर्न नपाउने

Advertisement

भैरहवा–अस्पतालमा भन्दा अन्यत्र बढि समय दिएको गुनासो आउन थालेपछि लुम्बिनी प्रदेश सरकारले सरकारी सुविधामा अध्ययन गरि सरकारी अस्पतालमा करारमा कार्यरत चिकित्सकलाई बाहिर निजी क्लिनिकहरुमा काम गर्न नदिने भएको छ ।

Advertisement

यस वारेमा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले बुधवार सूचना जारी गर्दै छात्रवृत्तिमा अध्ययन गरेर सरकारी अस्पतालहरुमा कार्यरत चिकित्सकहरूलाई बाहिर काम नगर्न निर्देशन गरेको हो ।
छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि २०७२ बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नियुक्त लिएर सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरूलाई यो प्रावधान लागु गर्न खोेजेको हो ।

छात्रवृत्तिमा सरकारी लगानीमा अध्ययन गरेर करारमा रहेका विशेषज्ञ चिकित्सकहरु सम्बन्धित ठाउँमा कम समय दिएर बाहिर काम गरेको गुनासो आउन थालेपछि यस खालको प्राबधान ल्याइएको लुम्बिनीका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले बताए ।

‘सरकारी छात्रवृत्तिमा अध्ययन गर्ने चिकित्सककानिम्ती सरकारको ठूलो लगानी रहेको र त्यसमापनि निश्चित तलब दिएर सरकारले काममा लगाने गरेको भनाइ मन्त्री सारुको छ ।
‘जति तलब छ, त्यो अनुसारको सेवा उपलब्ध गराउनै पर्छ’ उनले भने, ‘अस्पतालमा भन्दा अन्यत्र बढि समय दिने गरेको गुनासो जताततैबाट आएपछि पहिलो चरणमा विशेषज्ञ क्षेत्रमा करारमा रहेका चिकित्सकको हकमा लागु गरेको यो प्रावधानको सुरु गरिएको छ ।’

मन्त्रालयका महाशाखा प्रमुख नीदनारायण चौधरीले यदि यो प्रावधानको उलङघन गरेमा निजको लाइसेन्स निलम्बन गर्न सकिने व्यवस्था भएको वारेमा जानकारी गराइएको बताए । चौधरीका अनुसार, सरकारी शिक्षण संस्थाहरूमा चिकित्सा शास्त्र छात्रवृत्ति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ बमोजिम नियुक्त भई प्रदेशका अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरूले उक्त कार्यविधिको दफा १६ को उपदफा १ (ज) मा सेवा अवधिभर निजीरुपमा चिकित्सकीय सेवा प्रदान गर्न नहुने प्रावधान छ ।

उपदफा ३ मा उपदफा १ (ज) काकार्यविधिमा सरकारको निर्देशन अटेर गर्ने चिकित्सकको लाइसेन्स नै खारेज गर्न सक्ने प्रावधान छ । सरकारले जारी गरेको यो निर्देशन कार्यान्वयनका लागि सवै अस्पतालहरुमा कडाइका साथ पत्राचार गरिएको र १५ दिन भित्र पुनः अनुगमन गरेर निर्देशन कार्यान्वयनमा लैजाने भनाइ उनको छ ।

लुम्बिनी प्रदेशमा झन्डै १ सय चिकित्सक छात्रवृत्ति सुविधा लिएर अहिले एक वर्षे करारमा कार्यरत छन् ।

छात्रवृत्तिमा अध्ययन गरेर करार नियुक्त लिएका चिकित्सकहरूले बिशेषगरी बुटवल, भैरहवा, कपिलवस्तु, दाङ, बाँके लगायत तराईका जिल्लामा सरकारी सेवामा भन्दा बढी निजी क्लिनिकहरूमा समय दिने गरेको गुनासो मन्त्रालयमा आएको चौधरीले जनाए ।