उच्च अदालत बुटवल इजलाशका २१ हजार फाइल नष्ट


भैरहवा– भदौ २४ को प्रदर्शनका क्रममा भएको क्षतिको मूल्यांकन सार्वजनिक हुन थालेको छ । जेन–जी आन्दोलनका नाममा भएको प्रदर्शन भड्किएपछि मुलुक भरका सरकारी कार्यालय र निजी प्रतिष्ठान जले । त्यसक्रममा मुलुकका धेरै अदालतमा पनि क्षति पुगेको थियो ।
त्यहीँ बेला रूपन्देहीस्थित जिल्ला अदालत र उच्च अदालतमा आगजनी र तोडफोडबाट भौतिक संरचनामात्र नभएर महत्वपूर्ण मुद्दाका मिसिल जलेका छन् । केही मुद्दाका मिसिल जोगिएका छन् । उच्च अदालत तुलसीपुर अन्तर्गत बुटवल इजलासका करिब २१ हजार पुराना मुद्दाका अभिलेख जलेर नष्ट भएका छन् । अदालत प्रशासनका अनुसार आगजनी र तोडफोडका बापजुत रास्वपा सभापति रवि लामिछानेको सहकारी ठगी सम्बन्धी मुद्दाको मिसिल सुरक्षित छ । यसका साथै राजश्वतर्फका केही ठूला मुद्दाका फाइल पनि सुरक्षित रहेका छन् ।
गत भदौ २४ गते उच्च अदालत अन्तर्गत बुटवल इजलासमा प्रदर्शनकारीले आगजनी र तोडफोड गरेका थिए । आगजनीबाट अदालतका इजलासका कुर्ची, कम्प्युटरदेखि केही फाइलसम्म जलेका थिए । उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले फैसला भइसकेका पुराना अभिलेखका झन्डै २१ हजार फाइल जलेको भए पनि चालु मुद्दाका फाइलहरु खोज्ने काम जारी रहेको बताए । अदालतमा आएका सबै फाइलको समान महत्व हुने भएकाले साना, ठूला भन्न नसकिने उनले बताए ।
आगजनी र तोडफोडबाट भौतिक संरचनामा धेरै क्षति भएको भए पनि रूपन्देही जिल्ला अदालत भैरहवामा रहेका मुद्दाका फाइल भने सबै सुरक्षित छन् । फाइलहरु कुनै पनि नजलेको जिल्ला अदालत भैरहवाका सूचना अधिकारी पदम अर्यालले बताए । जिल्ला अदालतका सबै फाइल सुरक्षित रहेको उनले जनाए । जिल्ला अदालतबाट उच्च र सर्वोच्चसम्म धेरै फाइल पुग्ने भएकाले अन्यत्रको विवरण आउन समय लाग्ने उनले बताए ।








प्रतिकृया दिनुहोस्