July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

भैरहवाका उद्योगी–व्यवसायीको डेढ करोड ठगेर सम्पर्कबिहीन

Advertisement

भैरहवा– भैरहवाका उद्योगी–व्यवसायीबाट डेड करोडका खाद्यान्न समाग्री खरिद गरेर रकम भुक्तानी नगरेर एक व्यक्ति सम्पर्क बिहीन भएका छन् । जसले गर्दा उधारोमा सामान विक्री गरेका उद्योगी व्यवसायी मर्कामा परेका छन् । आफूलाई होलसेल व्यापारी बताएर सामान खरिद गरेका ती व्यक्ति दसैंको फूलपातीबाट सम्पर्क बिहीन बनेका हुन् । उनी गायव भएपछि उद्योगी–व्यवसायी आत्तिएका छन् ।

Advertisement

आफूलाई चितवनको व्यापारी बताउने दीपक खनालले समान खरिद गरेर केही दिनमा चेकमार्फत् भुक्तानी गर्ने जनाएर गायव बनेको व्यवसायीले बताए । चितवनको भरतपुर नगरपालिकास्थित रामनगरको एक घरमा सटर भाडामा लिएर बसेका ती व्यक्ति फूलपातीको दिन ट्रकमा सामान लोड गरेर फरार भएका थिए । उक्त घरमा १० महिनासम्म एउटा सटर भाडामा लिएर दाल, चामल, तेल लगायत खाद्यान्न व्यापार गरेका उनी अर्को ठाउँमा पनि पशल सञ्चालन गर्ने भन्दैं सामान लिएर गएको घर धनीले जनाइन् । अहिले उक्त घरको सटर खाली छ ।

भैरहवाका उद्योगी बृजेशकुमार अग्रवालका अनुसार खनालले चितवनको जुगेडीमा आफ्नो गोदाम रहेको जनाएका थिए । चितवनका खाद्यान्न व्यावसायीसित सामान खरिद गर्ने प्रयास असफल भएपछि खनाल भैरहवा आइपुगेका थिए । नारायणगढस्थित खाद्यान्न उद्यमी रञ्जन अग्रवालले आफू कहाँ पनि चामल लगायत खाद्यान्न खरिदका लागि खनाल पटकपटक आएको बताए । ‘रामनगरमा बसेर व्यवसाय गर्छु भनेपछि पत्यार लागेन,’ उनले भने, ‘चितवनका सबै खाद्यान्न व्यवसायी नारायणगढमा छन् । नयाँ अनुहारका व्यक्तिको कुरा गर्ने शैली पनि नक्कली लागेको थियो ।’

भैरहवाबाट खाद्यान्न खरिद गरेर ल्याएर काठमाडौं पुर्याएर कम मूल्यमा विक्री गरेको आशंका उनले गरे । उद्योगी बृज्रेशकुमार अग्रवालले आफ्ना दुईवटा उद्योगबाट खनालले २२ लाखको दाल र तेल लगेर भुक्तानी नदिएको जनाए । एकपटक लगेको सामानको भुक्तानी नगरेर अर्को ट्रक सामान माग गरेपछि शंका लागेर विक्री नगरेको उनले बताए । सामान लगेको लामो समयम्म भुक्तानी प्राप्त नगरेपछि उद्योगी अग्रवाल खनालको खोजी गर्दै बुधबार चितवन पुगेका थिए ।

खनालले आफ्नो म्यानेजर भनेर शिव गिरीको मोवाइल नम्बर दिएका थिए । अहिले खनाल र गिरी दुबैको मोवाइल स्वीच अफ गरिएको छ । दुबैजना चितवनबाट कहाँ गए भन्ने पत्तो छैन । अग्रवालले जिल्ला प्रशासन कार्यालय, चितवनमा ठगी रकम अशुलउपर गरिपाउँ भनेर बुधबारै निवदेन गर्दा गराएका छन् । निवेदन बुझेपछि चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रहरी मार्फत् ठगीमा संलग्न व्यक्तिबारे अनुसन्धान गर्ने बताए ।

जसरी हुन्छ ती व्यक्तिलाई पत्ता लगाएर कारबाही गर्ने अर्यालले प्रतिवद्धता जनाए । उद्योगीका अनुसार खनालले भैरहवाका आधा दर्जन उद्योगी व्यवसायीबाट डेढ करोडको खाद्यान्न लगेर रकम भुक्तानी गरेका छैनन् ।