माटो पाला बनाउन भ्याइनभ्याई (भिडियो रिपोर्टसहित)


भैरहवा– नेपालीहरुको दोस्रो महान चाड तथा उज्यालो पर्व तिहार घरआँगनमा प्रवेश गर्नै लागेको छ । तिहार नजिकिँदै जाँदा रुपन्देहीको मायादेवी गाउँपालिका–४, सेमरीका फौदार कोहारलाई माटोको पाला र अन्य भाँडाकुँडा बनाउन भ्याइनभ्याई छ । उनी अझै अन्य समयमा भन्दा तिहार नजिकिएसँगै बिहानदेखि साँझसम्म प्रत्येक दिन समय बढाएर तिहारमा बत्ती बाल्न प्रयोगमा ल्याइने पाला बनाउन व्यस्त हुन्छन् । उनले यो बाउबाजेको पालादेखिको पेसा भएको बताए ।
तर, उनको परिवारमा रहेका ८ जना कसैले पनि उक्त पेसा अँगाल्न रुचि देखाएका छैनन् । फौदारले भने ३२ वर्षदेखि माटोको भाँडा बनाउने पेसा अँगाल्दै आएका छन् । ‘तिहारमा माटाका पाला बढी विक्री हुने भएकाले पहिल्यै अर्डर लिएर पाला बनाउँछु’, उल भने, ‘मनग्य आम्दानी त हुँदैन । तर गुजारा राम्रै चलेको छ ।’ उनले सरदरमा मासिक १५ हजार हाराहारी आम्दानी गर्छन् र यहीबाट गुजारा समेत चलाउँछन् ।
फौदार मात्रै होइन्, अहिले रुपन्देहीमा माटाका विभिन्न भाँडाकुँडा बनाउने पेसा अँगाल्दै आएका कुमाल, कोहाँर, प्रजापती लगायतका समुदायलाई नजिकिँदो तिहारले ब्यस्त बनाएको छ । रोहिणी–३, धकधईका राकृष्ण कहाँर र बैजनाथ कोहाँरले पनि विगत १० वर्षदेखि माटोको भाँडा बनाउने काम गर्दै आएका छन् । सिजनअनुसार उनीहरुले भाँडा बनाउँछन् । दिपावली नजिकिएसँगै उनीहरुलाई पनि पाला बनाउन भ्याईनभ्याई छ । पुख्र्यौली पेसा भएकाले यसबाट उनीहरु सन्तुष्ट छन् । तर, सरकारले माटोको सहजता र अनुदान दिओस् भन्ने उनीहरुको अपेक्षा भने छ ।
लक्ष्मी पूजाको साँझ धनकी देवी लक्ष्मीलाई स्वागत गर्न घरका ढोका, आँगन, भान्सा र तुलसी मठमा पालामा तेल वा घिउको दीयो बाल्ने परम्परा छ । परम्परागत माटोको कुहिनोले स्थानीय हस्तकलालाई प्रोत्साहन दिन्छ । आजकाल बिजुलीका बत्ती र मैनबत्ती पनि प्रयोग हुन्छ, तर माटोको दीयोको सांस्कृतिक महत्व अटल छ । दीयोले सामुदायिक एकता र उत्सवको भावनालाई पनि जोड्छ ।
तिहारमा बत्ती बाल्नका लागि प्रयोग गरिने माटोका पालाको बजार माग पूरा गर्न तीन महिनाअघिदेखि नै पाला बनाउन सुरु गरिन्छ । रुपन्देहीका विभिन्न गाउँहरुमा बनाएका पालाहरु भैरहवा, बुटवल, लुम्बिनी, तिलोत्तमा लगायतका बजारमा विक्री हुँदै आएको छ । कतिपयले काठमाडौं, पोखरा लगायका सहरमा समेत विक्रीका लागि पठाउने गरेका छन् ।
दिपावलीलाई लक्षित गरी रुपन्देहीका भित्री बस्तीहरुमा माटोको पाला बनाउन यस पेसासँग सम्बन्धित व्यक्तिहरुलाई भ्याईनभ्याई छ, अहिले । सिजनअनुसार माटोका भाँडाकुँडा बनाउँदै आएकाहरु अहिले पाला बनाएरै आर्थिक उपार्जन बढाएका छन् ।








प्रतिकृया दिनुहोस्