लुम्बिनी प्रेस क्लब र सौराहाका व्यवसायीबीच छलफलः लुम्बिनी र सौराहालाई जोडेर पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड


भैरहवा– रुपन्देहीस्थित लुम्बिनी प्रेस क्लबले आफ्ना सदस्यका लागि दुइदिने अध्ययन भ्रमण पूरा गरेको छ । आफ्नो वार्षिक क्यालेण्डर अनुसार सदस्यहरुलाई मुलुकका आन्तरिक गन्तव्यबारे जानकारी दिने उद्देश्यले उक्त भ्रमण आयोजना गरेको हो । क्लबले यस वर्ष अध्ययन तथा अवलोकन भ्रमणका लागि मंगलबार र बुधबार. चितवनका विभिन्न गन्तव्यमा पुर्याएको हो ।
क्लवका अध्यक्ष कमल रायमाझीका अनुसार चितवनका रहेका सांस्कृतिक र प्राकृतिक पर्यटकीय गन्तव्यको अवलोकनका लागि चितवन भ्रमण गरिएको हो । मंगलबार बिहान भैरहवाबाट गएका क्लवका २३ जना सदस्यलाई चितवनको सौंराहामा रहेको क्षेत्रीय होटल संघले आतिथ्यता प्रदान गरेको थियो । मंगलबार साँझ बुद्ध जन्मस्थल लुम्बिनी र चितवनबीच कसरी पर्यटकीय साझेदारी गर्न सकिन्छ भनेर अन्तक्र्रियाको आयोजना गरिएको थियो ।
क्षेत्रीय होटल संघले आयोजना गरेको उक्त छलफलमा सहभागी पत्रकारलाई स्वागत गर्दै बरिष्ठ संरक्षणकर्मी तथा पर्यटन व्यवसायी बासु ढुंगानाले चितवनका प्राकृतिक र सांस्कृतिक विविधताको प्रचार गरेर धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्न सकिने बताए । जैविक विविधता संरक्षण गर्दै पर्यटकलाई आकर्षित गर्नुपर्नेमा उनले जोड दिए । साथैं बुद्ध जन्मस्थलमा आएका पर्यटकलाई चितवन ल्याएर वन र वन्यजन्तु अवलोकन गराउन सकिने बताए । त्यसका लागि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनुपर्ने उनको भनाई थियो ।
उक्त कार्यक्रममा पर्यटन पत्रकार संघ रुपन्देहीका अध्यक्ष नरेश केसीले लुम्बिनी, चितवन र पोखराबीच त्रिकोणीय साझेदारी गरेर पर्यटनका गतिविधि बढाउनुपर्नेमा जोड दिए । व्यवसायीले पर्यटन प्रवद्र्धनका लागि गर्ने कार्यक्रममा सञ्चारकर्मीले हातेमाले गर्ने जनाउँदै उनले पर्यटन व्यवसायी र पत्रकारबीच सहकार्यमा जोड दिए । अन्तक्र्रियामा क्लबका अध्यक्ष रायमाझीले व्यवसायीले भोग्नु परिरहेका अप्ठ्यारा अन्त्यका लागि सञ्चारकर्मीले पनि भूमिका खेलिरहेको उल्लेख गरे ।

मुलुकमा जेनजी आन्दोलनपछि अस्थिर बनेको समयमा सिमावर्ती क्षेत्रबाट सद्भावको सन्देश दिन प्रेस क्ल्वले सद्भाव र्याली आयोजना गरेको जनाए । आगामी दिनमा भारतका विभिन्न सहरका पत्रकारसित सहकार्य गरेर लुम्बिनी र चितवनका गन्तव्य सुरक्षित रहेको जानकारी दिने तयारी भइरहेको र त्यसमा सहकार्यका लागि आह्वान गरे । लुम्बिनी र चितवनबीच पर्यटकीय साझेदारीका लागि लुम्बिनी प्रेस क्लव सधै सकारात्मक रहेको उनले बताए ।
क्षेत्रीय होटल संघका अध्यक्ष ओमप्रकाश पाण्डेले चितवन, लुम्बिनी र पोखरा लक्षित चेन होटलको संख्या बढिरहेको बताए । साथै ती क्षेत्रमा नयाँ–नयाँ पर्यटकीय पूर्वाधारको निर्माण भइरहेको बताए । ‘तर हामीले पर्यटकको बसाइँ लम्ब्याउन सकिरहेका छैनौं,’ उनले भने, ‘चितवन, लुम्बिनी र पोखरामा एक दिने पर्यटकको संख्या धेरै भयो । कसरी उनीहरुलाई धेरै दिन बसाउन सकिन्छ भन्ने चिन्ता छ ।’ पोखरा र भैरहवामा निर्माण भएका अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुनु र मुलुकका मुख्य मार्ग नै अस्तव्यस्त रहेकाले पर्यटकीय गन्तव्यबीच सहज सहकार्य नभएको उनले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मुलुकको प्रतिकुल अवस्थाका बेला चितवनको उद्योग, व्यापार र पर्यटन क्षेत्रलाई तत्काल सहज अवस्थामा पुर्याइएको जानकारी दिए । अहिले चितवनका पर्यटकीय गन्तव्य पुरानै अवस्थामा सहज र सुरक्षित रहेकाले स्वदेश र बिदेशबाट घुमफिरका लागि आह्वान गरे । ‘चितवन सुरक्षित छ,’ उनले भने, ‘यहाँ पहिलेको भन्दा झन न्यानो आथित्य मिल्छ ।’ मुलुकका पोखरा, लुम्बिनी र चितवनका फरक विशेषतालाई एकीकृत गरेर पर्यटकीय साझेदारी गर्न सके मुलुकको पर्यटन र अर्थ व्यवस्थाले फड्को मार्ने उनले बताए ।
अवलोकन भ्रमणका क्रममा पत्रकारहले दोस्रो दिन बुधबार बिहान चितवन निकुञ्जमा जीप सफारी गरिएका थिए । बिहान ७ बजे निकुञ्ज प्रवेश गरेका सञ्चारकर्मीले निकुञ्जको मध्य क्षेत्रको तमोर ताल हुँदैं गोही प्रजनन केन्द्रको अवलोकन गरेका थिए । प्रजनन केन्द्रबाट लामीताल हुँदैं सौराहा फर्किएका उनीहरुले जंगल सफारीका क्रममा एकसिंगे गैँडा लगायत वन्यजन्तु देखिएको जनाए । लुम्बिनी प्रेस क्लबका सदस्यलाई चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले स्वागत गरेका थिए । त्यसपछि सौराहा फर्किएका सञ्चारकर्मीलाई सौराहाको बाघमारामा रहेको होटल ल्याण्डमार्कमा स्वागत गरिएको थियो । त्यहाँ क्षेत्रीय होटल संघका अध्यक्ष पाण्डे र महासचिव महेश खनाल र केन्द्रीय सदस्य सुमन घिमिरेले स्वागत गर्दै पर्यटकीय सहकार्यका लागि हातेमालो गर्ने प्रतिवद्धता जनाएका थिए ।

त्यसपछि भरतपुर हुँदैं चितवनको महत्वपूर्ण पर्यटकीय गन्तव्य पटिहानीको अवलोकन गरेका थिए । पटिहानीमा भरतपुर महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष विष्णुकुमार महतोले स्वागत गरेका थिए । त्यसक्रममा अम्ब्रेला स्ट्रिट, बोटे बस्तीमा रहेको स्ट्रिट पार्क र पाँचतारे होटल सोल्टीको अवलोकन गराइएको थियो । पटिहानी पछि भरतपुर फर्किएका प्रेस क्लब सदस्य र चितवनका अगुवा पत्रकारबीच भरतपुरमा छोटो अन्तरक्र्रिया भएको थियो ।
उक्त छलफलमा पत्रकार महासंघका केन्द्रिय सदस्य नारायण अधिकारी, प्रेस सेन्टरका केन्द्रिय सदस्य प्रकाश ज्ञवाली र प्रेस चौतारीका चितवन अध्यक्ष सुवास पण्डित सहभागी थिए । साथै प्रेस क्ल्वका पदाधिकारी र सदस्यले समाचार संकलनका क्रममा गम्भीर घाइते भएर चितवन मेडिकल कलेजमा उपचाररत प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाललाई भेटघाट गरी स्वास्थ्यलाभको कामना गरेका थिए । चितवन भ्रमण ऐतिहासिक र पर्यटन प्रबद्र्धनका लागि महत्वपूर्ण भएको कार्यक्रम संयोजक प्रतीक पौडेलले जानकारी दिए ।








प्रतिकृया दिनुहोस्