October 16, 2025, Thursday
२०८२ आश्विन ३० बिहीबार

पश्चिम नवलपरासीमा ‘तस्करी नियन्त्रणमा जेनजी’

परासी– भदौं अन्तिमसाता भ्रष्टाचार नियन्त्रणको माग गर्दै मुलुकभरका जेनजी युवा आन्दोलित बने । सरकारले सामाजिक सञ्जालमा रोक लगाएपछि सडकमा उत्रिएका आक्रोशित युवाले भ्रष्टाचार नियन्त्रणलाई मूल मुद्दा बनाए ।

Advertisement

उक्त आन्दोलनपछि जेनजी युवाको भावना अनुसार काम गर्न मुलुकभर दबाब सिर्जना भइरहेको छ । यसैक्रममा पश्चिम नवलपरासीस्थित जेनजी युवा समूह सिमावर्ती क्षेत्रबाट भइरहेको तस्करी नियन्त्रणमा सक्रिय देखिएको छ ।

पश्चिम नवलपरासीका सिमावर्ती गाउँमा रहेको उक्त समूहका युवा अहिले चोरी तस्करी नियन्त्रणमा अग्रसर बनेका छन् । यसैक्रममा बुधवार रामग्राम–१, सण्डाका युवाहरुले कुखुरा नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए ।

भारतीय बजारबाट तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । तीनवटा मोटरसाइकलमा सदरमुकाम हुँदै कुखुरा लिएर जाँदै गरेका व्यक्तिलाई रोक्न खोज्दा केही व्यक्ति कुखुरा फालेर भागेको स्थानीयले जानकारी गराए ।

बरामद कुखुरा प्रहरीलाई बुझाएका थिए । चाडपर्वमा सीमाक्षेत्रबाट खुलेयाम तस्करी बढेको छ । भारतीय बजारबाट तस्करी गरेर ल्याएका सामान घर र पशलसम्म पुर्याउने गरेका छन् । यस्तो काममा प्रहरीको मिलेमतो हुने गरेको युवाको आरोप छ ।