May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

रोहिणी नदी सभ्यताको खोज, अनुसन्धान र प्रवर्द्धनका लागि चासो बढ्दै

Advertisement

भैरहवा– रुपन्देहीको देवदह हुँदै दक्षिणतर्फ बग्ने रोहिणी नदी महामानव बुद्धको इतिहाससँग जोडिएकाले उक्त नदी किनार क्षेत्रलाई ‘रोहीणी सभ्यता’ को रुपमा संरक्षण र बिकास गरेर पर्यटकीय गन्तब्य बनाउने वारे चासो बढ्न थालेको छ ।

Advertisement

रोहिणी नदी सभ्यताको खोज, अनुशन्धान र प्रवर्द्धनका लागि सरोकारवाला निकायले पहल थाल्न सुझाव दिइएको छ । रोहिणी नदीको प्राकृतिक महत्व त छँदैछ । प्राचिनकालमा सिंचाइका लागि दुई गणराज्यका किसान बिच बिबादले लिएको उग्ररुपलाई माहामानव गौतम बुद्धले शान्तिपूर्ण तवरले विवाद समाधान गरि युद्ध हुनबाट जोगाएको ऐतिहासिक पक्ष छ ।

रोहिणी गाउँपालिकाको आयोजना र लुम्बिनी खबर मिडिया क्लबको समन्वयमा रोहीणी नदी सभ्यताको खोज, अनुशन्धान र प्रबद्र्धनका लागि सरोकारवाला पक्ष बिच अन्तरक्रिया कार्यक्रमको माध्यमबाट रोहिणी नदीको ऐतिहासिक पक्षबारे उजागर गर्ने कार्यको सुरुवात गरिएको छ ।

‘हाम्रो क्षेत्रमा रहेको रोहिणी नदीको वारेमा भारत, श्रीलंका र बर्मा लगायतका देशहरुमा धेरै महत्व दिइएको छ । तर, हामी याहीका बासिन्दा यस वारेमा अनभिज्ञ छौं’ अन्तरक्रिया कार्यक्रममा बोल्दै लुम्बिनी खबर मिडियाका संचालक कमल रायमाझीले भने, ‘रोहीणी नदी क्षेत्र पनि लुम्बिनी, कपिलबस्तु, देवदह, रामग्राम जस्तै ऐतिहासिक स्थल हो । तर, हामीले चिन्न सकेनौं ।’

रोहिणी नदीका वारेमा विभिन्न अध्ययन गर्दै कलम चलाउँदै आएका रायमाझीले नदीको विकास र प्रवद्र्धन गरेर आकर्षक पर्यटकीय स्थल बनाउन सकिने अथाह सम्भावना रहेको बताए ।

बुद्धकालीन इतिहासका वारेमा जानकारी राख्दै लुम्बिनी विश्व विद्यालयका विद्यर्थी तथा भैरहवा बहुमुखी क्याम्पसका प्राध्यापक सुरज घिमिरेले सिंचाइका लागि रोहिणी नदीको पानीको विवादलाई अन्त्य गरेको बुद्धकालीन इतिहासले रोहिणी नदी क्षेत्रले युद्धको सट्टा शान्तिको दृष्टान्त दिएकाले त्यही अनुरुपको प्रचार प्रसार अन्तर्राष्ट्रिय जगतमाझ पुर्याउन आवश्यक भएको बताए ।

उनका अनुसार रोहिणी नदीको पूर्वतर्फ कोलीय र पश्चिमतर्फ शाक्य बंशको गणराज्य थियो । नदीको पानी दुवै राज्यका किसानले प्रयोग गर्ने गर्थे । बैशाख जेठको सुख्खा मौसमका वेला सुकेर नदीमा पानी अति कम थियो । दुवैराज्यका किसानले सबै पानी आ–आफ्नो कुलोमा लैजान खोज्दा दुई पक्ष बिच ठूलो बिबाद भइ युद्ध उन्मुखको अवस्था सृजित भयो ।

युद्धका लागि दुवै राज्यका तर्फबाट सेनाहरु नदीमा तैनाथ भए । यो थाहा पाएपछि माहामानव बुद्ध द्वन्द्व स्थलमा आइपुगेर पानी भन्दा मानवको जीवनको महत्व ठूलो रहेको प्रशंगमा धर्मदेशना दिए ।

बुद्धको त्यो धर्म देशना तथा उपदेश सुनेपछि युद्धका लागि तयारी अवस्थामा रहेका दुईतीन सय संख्यामा तैनाथ सैनिकहरु भिक्षु बनेको इतिहास रहेको घिमिरेले उल्लेख गरे । लुम्बिनी विकास कोषका सूचना अधिकृत डा.हरिध्वज राइले द्वन्द्व समाधानका लागि रोहिणी नदी सभ्यता क्षेत्र दृष्टान्त स्थल भएकाले यसको सही किसिमबाट खोज र प्रबद्र्धन गरि बिश्वकै द्वन्द्व व्यवस्थापन गर्ने स्थलको रुपमा प्रयोग गर्न सकिने बताए ।

रोहिणी नदी किनार क्षेत्रमा सहज पहुँचको व्यवस्था र सुन्दरीकरण गर्नु पर्ने सुझाव उनले दिए । रोहिणी गाउपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले रोहिणी नदी क्षेत्र सभ्यताको खोज, अध्ययन र प्रबद्र्धनका लागि लुम्बिनी विकास कोष लगायतका निकायसँग समन्वय गरिने बताए । ‘यसका लागि बहुबर्षीय योजनाका साथ संघ र प्रदेश सरकारको साथमा स्थानीय तहले पहलकदमी लिन तयार छ’, यादवले भने ।