लुम्बिनीमा पहिलोपटक पुरातात्विक वस्तुको संरक्षण प्रयोगशाला


भैरहवा- बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी संग्रहालयमा संरक्षण प्रयोगशाला (कन्जरभेसन ल्याब) संचालनमा आएको छ । बुद्ध जीवनीसँग सम्बन्धित सांस्कृतिक र ऐतिहासिक महत्वका प्राचीन कलाकृतिको संरक्षण, अभिलेखीकरण र संरक्षण गर्ने उद्देश्यले संरक्षण प्रयोगशाला संचालनमा ल्याइएको हो । नेपालस्थित अमेरिकी दूतावासअन्तर्गत रहेको संस्कृति संरक्षणका लागि राजदूत कोषले बुद्ध फाउण्डेसनलाई उपलब्ध गराएको दुई लाख ४४ हजार ९६६ अमेरिकी डलरको अनुदानमा उक्त प्रयोगशाला संचालनमा ल्याइएको हो । फाउण्डेसनकी कार्यकारी निर्देशक चुम्निमा उदासले बृहत्तर लुम्बिनी क्षेत्रका पुरातात्विक संरचनालाई संरक्षण गर्ने उद्देश्यले लुम्बिनी संग्रहालयमा प्रयोगशाला स्थापना गरिएको बताइन् ।
‘अहिले जति पनि पुरातात्विक संरचनाहरु भेटिन्छन्, ती सबै एकै ठाउँमा खप्टाएर राखिएको छ । जसले गर्दा त्यस्ता प्राचीन वस्तुहरु मासिँदै जाने जोखिम छ’, उनले भनिन्, ‘प्रयोगशालाबाट उत्खखन् गरिएका पुरातात्विक संरचनाको विनाक्षति दुरुस्तै बनाई संग्रालयमा राखिनेछ ।’ उनलका अनुसार प्रयोगशालामा टुटेफुटेका पुरातात्विक वस्तु जोडिने छ र थप विग्रनबाट बचाइने छ । यसअघि प्रयोगशाला नहुँदा बृहत्तर लुम्बिनी क्षेत्रमा उत्खननका क्रममा भेटिएका पुरातात्विक वस्तुको दिगो संरक्षणमा सकस थियो । टुटेफुटेका त्यस्ता संरचनालाई पूर्ववतः अवस्थामा ल्याउन विदेशबाट विज्ञ ल्याउनुपर्ने बाध्यता समेत थियो । अब, भने त्यो समस्या अन्त्य हुने लुम्बिनी विकास कोषले जनाएको छ ।

उदासले नेपाललाई सांस्कृतिक सम्पदा संरक्षणको क्षेत्रमा एक अगुवाका रुपमा स्थापित गर्ने उद्देश्यले अत्याधुनिक संरक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको र अब लुम्बिनी संग्राहलयलाई व्यवस्थित गरिने जनाइन् । दुतावासले बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका सांस्कृतिक र ऐतिहासिक महत्वका प्राचीन कलाकृतिहरूको संरक्षण, दस्तावेजीकरण र संरक्षणको लागि सहयोग गरेको जनाएको छ । कोषअन्तर्गतका परियोजनाले दिगो पर्यटन, आर्थिक वृद्धि र सांस्कृतिक संरक्षणलाई प्रवद्र्धन गरेर अमेरिका–नेपाल सम्बन्धलाई बलियो बनाउने आशा दूतावासले लिएको छ ।
लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले लुम्बिनी जस्तो संवेदनशील र पवित्रस्थलमा संरक्षण र पर्यटनबीच सन्तुलन कायम गर्न प्रयोगशाला कोषेढुंगा सावित हुने जनाए । ‘संरक्षण प्रयोगशालाले स्थानीय जनशक्तिलाई आवश्यक सीप, ज्ञान र प्रविधिमा दक्ष बनाउनसमेत सहयोग पुग्नेछ’, उनले भने । प्रयोगशाला स्थापना पछि कोषले गर्दै आएको संरक्षण कार्यलाई वैज्ञानिक, व्यवस्थित र दिगो बनाउने उनले बताए ।

लुम्बिनी संग्रहालयमा लुम्बिनीमा उत्खनन गरिएका इसा पूर्वको छैटौं शताब्दीदेखि इस्वी संवतको तेस्रो शताब्दीसम्मका पक्की माटोका प्रतिमा, ढुंगाका मूर्ति, सिक्का र प्राचीन ईंटाका संरचना र अन्य अवशेषहरु राखिएको छ । तत्कालका लागि प्रयोगशालामा अस्थायी रुपमा दुईजना भारतीय र दुईजना लुम्बिनी बौद्ध विश्वविद्यालयका पुरातत्व विभागका अध्यापकहरुलाई क्युरेटरका रुपमा खटाइएको छ । तर, केही समयपछि प्रशोगशालामा स्थायी रुपमा दुईजना क्यूरेटर राखिने संग्रालयको संरक्षण गर्दै आएको बुद्ध फाउण्डेसनले जनाएको छ ।
अमेरिकी विदेश विभागले सन् २००३ देखि नेपालको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्न सहयोग गर्दै आएको छ । विभागले काठमाडौं, पाटन, मुस्ताङ, हुम्ला र लुम्बिनीका परियोजनासहित नेपालभरि २८ वटा परियोजनाको पुनस्र्थापना र संरक्षणलाई सहयोग गर्न ४.५४ मिलियन डलरभन्दा बढी रकम प्रदान गरेको छ ।

लुम्बिनी प्राचीन सभ्यता र समृद्ध इतिहासको प्रतीक भएकाले संरक्षण प्रयोगशाल केवल एक प्राविधिक संशाधन मात्र नभइ यो शिक्षा, क्षमता विकास र सामुदायिक सहभागिताको केन्द्र पनि हुने लुम्बिनीबारे जानकारहरुले विश्वास व्यक्त गरेका छन् ।








प्रतिकृया दिनुहोस्