प्रधानमन्त्री कपले उत्साहित छ लुम्बिनी



भैरहवा- यसपटक लुम्बिनी प्रदेशका तीन मैदानमा प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । यही फागुन २५ देखि हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । पहिलोपटक प्रधानमन्त्री कपका सबै खेल लुम्बिनी प्रदेशमा हुने भएपछि यहाँका खेलाडी र क्रिकेटप्रेमी उत्साहित छन् ।
‘घरेलु मैदानमा बसेर राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीको प्रदर्शन हेरेर क्रिकेट खेल्न रुचाउने नयाँ पुस्ताले समेत धेरै कुरा सिक्न पाउँछन्’, क्रिकेटर कृष्ण कार्की भन्छन्, ‘केही प्रदेश र जिल्लास्तरका खेलाडीहरु सँगै खेल्न पाउँछन् । यसले गर्दा म जस्ता धेरै खेलाडीमा उत्साह छ ।’ उनले सबै खेल प्रदेशमै हुने भएकाले होम ग्राउण्डको फाइदा लिन कोसिस गर्ने बताए । कार्की लुम्बिनी प्रदेशको टिममा छन् ।
प्रधानमन्त्री कपका लागि रुपन्देहीको भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदान, तिलोत्तमा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान तयार पारिएको छ । यी तीनमध्ये एक्स्ट्राटेक निजी लगानीको मैदान हो भने अन्य दुई सरकारी स्तरका हुन् । ‘प्रतियोगिताका लागि तीनवटै मैदानमा रंगरोगनदेखि आवश्यक स्थायी तथा अस्थायी संरचना निर्माण गरिएको छ भने विज्ञ क्यूरेटर मार्फत् पिच राम्रो बनाइएको छ’, प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका निर्देशक विनयराज भण्डारीले भने ।
उनले एक्स्ट्राटेकमा आफ्नै क्यूरेटरले पिचको काम गरिरहेको भए पनि सिद्धार्थ र देउखुरीमा क्यानबाट आएको टिमले पिच मर्मतको काम गरिरहेको जनाए । ‘हामी प्रतियोगिताका लागि उत्साहित छौं, तयारीका काम अन्तिम चरणमा पुगेका छन्’, भण्डारीले भने, ‘केही सामान्य काम बाँकी छन् एकदुई दिनमा सकिन्छन् ।’ नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेटका सबै खेल राजधानी बाहिर लुम्बिनी प्रदेशमा गराउन लागेको हो । प्रदेशमा क्रिकेटका लागि आश लाग्दा धेरै खेलाडी भएकाले पनि क्यानको निर्णयले लुम्बिनी उत्साहित बनेको हो ।

‘प्रतियोगिताले प्रदेशका धेरै खेलाडीलाई अवसर सिर्जना गरेको छ । यो सुखद् पक्ष हो’, अन्तर्राष्ट्रिय म्याच रेफ्री समिर खान भन्छन्, ‘प्रदेश अब खेलाडी उत्पादनसँगै क्रिकेट मैदानमा पनि अब्बल भइसकेको उदाहरण प्रष्ट भयो ।’ उनले प्रतियोगिता सुरु हुने दिनको प्रतिक्षामा लुम्बिनी प्रदेशबासी रहेको जनाए । क्यानका अनुसार फागुन २५ देखि चैत्र १६ गतेसम्म हुने प्रतियोगिताका ४६ खेलमध्ये भैरहवाको सिद्धार्थ रंगलाशामा १७, तिलोत्तमाको एक्स्ट्राटेकमा १५ र दाङको लमहीमा १४ खेल हुनेछन् । गत संस्करणको प्रधानमन्त्री कपका केही खेल सिद्धार्थ रंगशालामा पनि भएका थिए । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली सहभागी हुँदैछन् । प्रत्येक टोलीले एकअर्कासँग खेल्नेछन् ।
लुम्बिनी प्रदेश क्रिकेट संद्दका अध्यक्ष संजय गुरुङले क्रिकेटका प्रतियोगिताहरु विकेन्द्रिकृत भइरहेको जनाए । ‘सधैं राजधानीका हुने खेलहरु अब प्रदेश–प्रदेश र जिल्लाहरुमा हुन थालेका छन्’, उनले भने, ‘यसले खेलाडी उत्पादनमा ठूलो टेवा पुर्याउँछ ।’ प्रतियोगिताले लुम्बिनी क्षेत्रको खेलमात्र नभई आर्थिक क्षेत्रसमेत चलायमान बनाउने विश्वास गरिएको गुरुङ बताउँछन् ।
स्तरीय होटल तथा हवाई सुविधासहितका सबै पूर्वाधार भएकाले पनि प्रधानमन्त्री कपले प्रदेशलाई थप अवसर सिर्जना गरेको बुझाई प्रदेशबासीको छ । ‘लुम्बिनीका तीन वटै मैदान राम्रा र अन्तर्राष्ट्रिय मापदण्डका छन् । यसले गर्दा प्रतियोगिताले प्रदेश र जिल्ला क्रिकेट संघ झनै उत्साहित बनेका छन्’, गुरुङले भने, ‘लुम्बिनी प्रदेश खेलाडी उत्पादनसँगै खेल मैदानमा पनि सक्षम बन्दै गएको प्रमाणित भएको छ ।’ गुरुङले अहिले सबै प्रदेशबासीले पीएम कप सुरु हुने दिन गनेर बसिरहेको बताए ।

भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा अभ्यास गर्ने ठाउँ र एकेडेमीसमेत छ । यो नेपालमै जिल्लास्तरमा ५० ओभरको १ दिवसीय खेल हुने यो पहिलो रंगशालाका समेत हो । यहाँबाट करिब १ सय अन्तर्राष्ट्रिय र करिब दुई सयभन्दा राष्ट्रिय खेलाडी उत्पादन भइसकेका छन् । यहाँ अहिलेसम्म ४ जति राष्ट्रिय र जिल्लास्तरका प्रतियोगिता भएका छन् । यहाँ प्रधानमन्त्री कप क्रिकेटका १७ खेल हुनेछन् ।
अष्ट्रेलियामा व्यवसाय गर्दै आएका गुल्मीका विनोद कुँवरको लगानीमा तिलोत्तमा नगरपालिका–१७, दरखसवामा बनेको एक्स्ट्राटेक ओभल निजी क्षेत्रको देशकै पहिलो व्यावसायिक क्रिकेट मैदान हो । एक्स्ट्राटेकमा गत फागुनदेखि अहिलेसम्म १ सय भन्दा बढी खेल भइसकेका छन् । यहाँ मुलुकमा पहिलोपटक ५ वटा फ्लड लाइट पनि जडान भएको छ । ‘फ्लड लाइट जडानसँगै रातिमा समेत क्रिकेट खेलाउन मिल्ने यो नेपालको पहिलो क्रिकेट मैदान बनेको छ’, प्रबन्धक कुँवरले भने ।

यस्तै, प्रतियोगिताका लागि दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पनि उत्कृष्ट छ । यहाँ पछिल्लो एक वर्षमा झण्डै तीन दर्जन प्रदेशस्तरका प्रतियोगिता र ५० बढी अभ्यास खेल भएका छन् । ‘स्तरीय रंगशाला, होटल तथा हवाई र यातायात सुविधा, क्रिकेटको हब, लुम्बिनी जस्ता पर्यटकीय गन्तव्य रहेको लुम्बिनीमा हुन लागेको प्रधानमन्त्री कपले मुलुकसँगै अन्तर्राष्ट्रियस्तरमा समेत यस क्षेत्रको प्रवद्र्धन हुने हाम्रो विश्वास छ’, प्रतियोगिताका निर्देशक भण्डारीले भने, ‘लुम्बिनीबासीलाई यसले निकै उत्साहित र हौसाएको मैले पाएको छु ।’









लेखकको सम्वन्धमा