वृक्ष–लोक

न कोही ठूलो न त सानो सवैलाई एकै देख्छु
न त नर न त नारी न दल कुनै न बल थेग्छु
अमिर गरिव निर्दो बलियो जे भए नि आफ्नै देख्छु
मेरो भाषा नबुझे नि सुसेलीमा गुनगुनाउँछु
खै किन हो म विनाको तिमीलाई निरस पाउँछु
तिमीले आफ्नो ठान्यौ भने आँखाभरि सजाउँछु
मलाई माया गर्यो भने मनैदेखि रमाउँछु ।
वसन्तमा हरियाली शितलतामा मगमगाउँछु
खडेरीमा काकाकुल झै अंग अंग जलाउँछु
कहिले निर्मम हावाहुरी आँधीबाट मडारिन्छु
बर्षासँगै भिषण बाढी पहिरोबाट बढारिन्छु
कहिले मुर्ख तस्करबाट पछारिँदै लतारिन्छु
हुर्कनै नपाउने गरी घरी घरी म साँटिन्छु
देवबाट पुजिन्छु म दानवबाट निमोठिन्छु ।
सोच त म आफू कहिले आफ्ना लागि जिउँछु
तिम्रै हरेक चाहनामा सधैं साथ दिन्छु
वनदेखि मन–मनसम्म, ज्ञानदेखि धनसम्म
चुलोदेखि तुलोसम्म, हलोदेखि बलोसम्म
सागरदेखि पहाडसम्म, खाडीदेखि बहारसम्म
जन्मदेखि मरणसम्म, देवगणका चरणसम्म
खरानी र धुवाँ बन्छु कहिले आगो पानी पिउँछु ।
अनेक रुपमा पटक पटक तिमीबाट म भोगिन्छु
फेरि आउँछु पुस्तौं पुस्ता तिमीलाई साथ दिन्छु
आदि देखि अन्त्यसम्म तिमीसँग सँगै जिउँछु
तिम्रै खुशी सुख भरी युगौंयुग साथमा हुन्छु
आई बस मेरै काखमा जुनीजुनी तिमीलाई चुम्छु
धर्ती माता रहेसम्म हजार हजार जुनी लिन्छु
मलाई माया गर्यो भने लाखौं लाख जीवन दिन्छु ।
राप्ती उपत्यका, देउखुरी, दाङ्ग
(काफ्ले लुम्बिनी प्रदेशको वन मन्त्रालयका सचिव हुन् ।)
लेखकको सम्वन्धमा