कमजोर आन्तरिक कनेक्टिभिटीले पर्यटन प्रभावित



भैरहवा– मुलुकका पर्यटकीय केन्द्रबीच कमजोर सडक कनेक्टिभिटीले पर्यटन प्रभावित भएको छ । सहज यात्रा नहुँदा पर्यटकले योजना अनुसार घुमफिर गर्न पाइरहेका छैनन् । गाडी सुविधा नभएकाले यात्राका क्रममा पर्यटकले पीडा भोग्नु परिरहेको पर्यटन व्यवसायीले दुखेसो पोखेका छन् । यात्रा झण्झटिलो र कष्टप्रद हुने गरेको पर्यटकले बताएका छन् । मुलुक भित्रकै पर्यटकीय क्षेत्रबीच सडक यातायात सुधारका लागि पहल भएको छैन ।
एउटा पर्यटकीय गन्तव्यबाट अर्कोमा सिधा यातायात सुविधा नभएकाले यात्रा झण्झटिलो र खर्चिलो भएको पर्यटकको गुनासो छ । होटल एशोसियशन लुम्बिनीका बरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले गत बिहीबार बिहान एक जोडी बिदेशी पर्यटकलाई बर्दिया पठाए । लुम्बिनी घुमफिर गरेका उनीहरुले बर्दिया निकुञ्ज पुग्ने बताएपछि महंगो यात्रा गर्नु पर्यो । लुम्बिनीबाट बर्दियाको ठाकुरद्धारासम्म बस सञ्चालन गरिएको छैन । त्यसैले बुधबार बुटवलस्थित बसपार्कमा फोन गरेर सिट बुक गरे । ठाकुरद्वारासम्म सिधै यातायात सुविधा नभएकाले धनगढीको बसको टिकट काटेको शर्माले बताए ।
उनका अनुसार बिहीबार बिहान गएका दुई जना पर्यटकले बुटवल पुगेर बस चढ्न मात्रै ३ हजार ५ सय रुपैयाँ ट्याक्सी भाडा तिरे । बुटवलबाट बर्दियाको आमाबासासम्म एक जनाको एक हजार दुईसय रुपैयाँ बस भाडा छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत आमबासाबाट ठाकुद्धारा १२ किलोमिटर दूरीमा छ । आमबासाबाट ठाकुद्वारा पुग्न अटो रिक्सा चढ्नु पर्छ । अटो रिक्साले ५ सय रुपैयाँ भाडा लिने गरेका छन् । ‘पर्यटकलाई घुम्ने वातावरण नै छैन,’ शर्माले भने, ‘यस्तो कनेक्टिभिटीले कहिले पर्यटक बृद्धि हुने ।’ वर्षौदेखि कमजोर ‘कनेक्टिभिटी’ बारे आवाज उठाए पनि सुनुवाई नभएको बताए ।
उनका अनुसार नजिकको गन्तव्यट चितवनको सौराहाबाट लुम्बिनी आउने पर्यटकले दिनभरि यात्रा गर्नु परिरहेको छ । बुटवल–नारायणगढ सडक बिस्तारमा भएको ढिलाईले लुम्बिनीमा आन्तरिक पर्यटक ठप्प बनेको छ । सडक सहज हुँदा पोखरा, चितवन, काठमाडौं, बीरगन्ज र धरानबाट घुमफिर गर्न आउँथे । त्यसरी आउने पर्यटकले प्रशस्त खर्च गर्ने हुँदा व्यवसाय सञ्चालन भइरहेको शर्मा बताउँछन् । अहिले यस्ता पर्यटक शून्य छन् । स्तरीय सार्वजनिक यातायातका साधन सञ्चालन नहुने र नीजिमा आउन सडकको अवस्था जीर्ण भएकाले पर्यटन प्रभावित बनेको उनले बताए ।
उनकाअनुसार अहिले लुम्बिनीबाट काठमाण्डौं दिवा र रात्री बस सञ्चालन भइरहेका छन् । पोखरा–लुम्बिनी एउटा बस नियमित सञ्चालन भइरहेको छ । त्यसबाहेक यहाँबाट लुम्बिनी प्रदेशका अन्य प्रमुख गन्तव्यमा बस सुविधा उपलब्ध छैन । शर्माका अनुसार चितवनबाट लुम्बिनी यात्रा १० घण्टाको बनेको छ । पहिले ४–५ घण्टा लाग्थ्यो । चितवनको सौराहाबाट सिधै लुम्बिनीसम्म बस सेवा सञ्चालन नहुँदा एउटा पर्यटकले पाँच ठाउँमा गाडी परिवर्तन गर्नुपर्छ । उनका अनुसार चितवनको सौराहाबाट रत्ननगरको सौराहाचोकसम्म एउटा गाडीमा आउनुपर्छ । सौराहाबाट नारायणगढसम्म अर्को बस चढ्नुपर्छ । नारायणगढ आएपछि बुटवलसम्म आउने बस खोज्नुपर्छ । बुटवलको राजमार्ग चौराहामा उत्रिएर भैरहवासम्म आउने बस चढ्नुपर्छ । भैरहवाको बुद्धचोकमा उत्रिएर लुम्बिनीसम्म आउन फेरि बस चढ्नुपर्छ ।
‘ठाउँ–ठाउँमा बस फेर्नु झण्झटिलो हुन्छ,’ शर्माले भने, ‘धेरै स्थानमा धुलोमैलो हुँदैं कोच्चिएर यात्रा गर्नुपर्छ । यसले गन्तव्यबारे नकारात्मक प्रचार बढी भइरहेको छ ।’ लुम्बिनीमा कार्यरत पर्यटन पथ प्रदर्शक प्रल्हाद यादव पर्यटकले यात्रा थाल्नु अगाडि घुमफिरका लागि निश्चित बजेट बनाउने गरेको सुनाउँछन् । निश्चित रकम बोकेर यहाँ आउने पर्यटकको यात्राका क्रममा एकाएक खर्च बढ्ने गरेको उनले सुनाए । अहिलेको सडकको नाजुक अवस्था र यातायात असुविधाबारे स्वदेश पर्यटक जानकार भएपनि बिदेशी अनभिज्ञ हुने गरेको उनको भनाई छ ।
‘बिदेशमा नेपाल सुन्दर र पाहुननाई स्वागत गर्ने मुुलुकका रुपमा प्रचार भएको छ,’ उनले भने, ‘त्यसैले काठमाण्डौं छाडेपछि मात्रै पर्यटकले भोग्नुपर्ने सास्तीबारे जानकारी पाउछन् ।’ पर्यटकीय गन्तव्यबारे कुनै पनि स्थानमा सूचना नराखिएकाले पर्यटक रनभुल्ल पर्ने र बिचौलियाले मनपरी रकम अशुल्ने गरेको उनले बताए । लुम्बिनीको पर्साचोकमा आएपछि पर्यटक अन्यौलमा पर्ने गरेको उल्लेख गर्दै उनले गन्तव्यबीच सहज ‘कनेक्टिभिटी’ कायम नगरिनु भनेको पर्यटनलाई बाधा सिर्जना गरिनु भएको उनले बताए । यहाँ सरकार र नीजि क्षेत्रको गन्तव्यमा पर्यटक ल्याउने सोच नपाएको उनले बताए ।
‘अहिले पर्यटक आफैं आइरहेका हुन्,’ उनले भने, ‘कहाँ जाने, कसरी जाने, के साधन पाउछ, कती रकम तिर्नुपर्छ उल्लेख गरेर सूचना राखेको खैं ?’ लुम्बिनी प्रदेश सरकारले स्थापनाकालदेखि बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटकीय क्षेत्रको बिकास गर्ने जनाउँदैं आएको छ । पर्यटनबाट प्रदेशलाई समृद्ध तुल्याउन सकिने तत्कालीन शंकर पोखरेलदेखि वर्तमान मुख्यमन्त्री डील्लीबहादुर चौधरीले समेत भाषण गर्दै आएका छन् । अहिलेसम्म प्रमुख पर्यटकीय गन्तव्यबीच यातायात सम्पर्क कायम हुन सकेको छैन । ‘गाडी भाडामा लिएर मात्रै पर्यटकी क्षेत्र घुम्न सम्भव छ,’ लुम्बिनीका ट्राभल व्यवसायी चन्दनसिंह कुँवरले भने, ‘हैन भने पर्यटकलाई घुम्ने वातावरण छैन ।’
उनका अनुसार लुम्बिनीबाट बर्दियाको ठाकुरद्धारा नीजि गाडी भाडामा लिएर जानुपरे १६ हजार रुपैयाँ तिर्नुपर्छ । पाल्पा, स्वर्गद्वारीसम्म त्यति नै भाडा लाग्छ । गाडी भाडाको पनि कुनै मापदण्ड नभएकाले मनपरी अशुल्ने गरेको उनले बताए । यहाँका गन्तव्य घुमफिरका लागि भारतीय पर्यटक धेरै आउने गरेको उनले बताए । तर, भारतीय गाडीको मुलुक प्रवेशमा स्पष्ट नीति नभएको र भन्सार कर्मचारीले दुख दिने गरेकाले दैनिक पर्यटक नाकाबाट फर्किने गरेको उनले बताए । ‘मुलुकमा आएर घुम्नका लागि बस–गाडी व्यवस्था छैन,’ उनले भने, ‘भन्सार तिरेर आफ्नो गाडी ल्याउन झण्झटिलो हुने भएपछि भारतीय पर्यटक नाकाबाटै फर्किन्छन् ।’
बर्दियाको ठाकुरद्वारास्थित होटल एशोसियशन अध्यक्ष मोहन चौधरी सडक मार्गबाट आउने पर्यटकको ‘हरिबिजोग’ भइरहेको बताउँछन् । एउटा गन्तव्यबाट अर्कोमा एकैदिन पुग्ने वातावरण नभएको उनले बताए । काठमाडौंबाट ठाकुरद्वारा आउने पर्यटकले बुटवल–नारायणगढ खण्डको अवस्थाले गर्दा एक दिन बीचबाटोमा रात बिताउनु परिरहेको उनले बताए । उनका अनुसार सडकको विकल्प हवाई यातायात हो । तर, काठमाडौंबाट नेपालगन्ज हवाई टिकट प्रतिव्यक्ति १४ हजार रुपैयाँसम्म छ । नेपालगन्जसम्म जहाजबाट आएपछि ठाकुरद्वारा पुग्न नीजि गाडी चढ्नुपर्छ ।
त्यसवापत थप ४ देखि ६ हजार रुपैयाँ खर्च लाग्छ । अहिले नेपालगन्जबाट पूर्वपश्चिम राजमार्ग हुँदैं बर्दिया निकुञ्ज भएर ठाकुरद्वारा पुग्नुपर्छ । निकुञ्जमा ‘टाइमकाड’ व्यवस्था छ । त्यसकालागि चिट काट्नु पर्छ । ‘चिटलाई डिजिटल बनाइयो भने राहत हुन्थ्यो,’ उनले भने, ‘नत्र समय लाग्छ, त्यसले पर्यटक हैरान हुन्छन् ।’ नेपालगन्ज–गुलरिया हुलाकी मार्ग बिस्तार भइरहेको छ । त्यहाँबाट यात्रा सहज छैन । ‘गन्तव्यबीच सिधै बस सेवा नहुँदा ठूलो मर्का परेको छ,’ उनले भने, ‘बस चलाउने इच्छाशक्ति पनि देखिदैन, कसरी पर्यटन उँभो लागोस् ।’








लेखकको सम्वन्धमा