November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

यसरी पत्ता लगाइयो बुद्ध जन्मस्थल

लुम्बिनी– भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व शान्तिको मुहान स्थल भनेर गर्व गरिरहेका छौं । विश्वले लुम्बिनी नेपालमा भएको र यही बुद्धको जन्म भएको भनेर चिनिरहेको छ । नेपाल भन्ने वित्तिकै गौतम बुद्ध र सगरमाथा आँखा सामु आउँछन् । बुद्ध दर्शनका प्रणेयता गौतमबुद्धको जन्म लुम्बिनीमा भएको इतिहास लामो समय धर्तिको गर्भमा लुकेको थियो । जसले गर्दा बुद्ध जन्मस्थललाई लिएर आ आफ्नै दाबी हुँदैं आएका थिए । लामो समय बुद्धको जन्मस्थललाई लिएर अन्योल थियो । सन् १८६१ मा भारतमा पुरातत्व विभाग स्थापना भयो । त्यसअघि बुद्धस्थलबारे अत्तोपत्तो थिएन । त्यसबेला भारत र नेपालको सिमाना पनि प्रष्ट थिएन । भारतीय पूरातत्व विभागका पहिलो निर्देशक जनरल अलेक्जेण्डर कनिङघम बने । उनी तत्कालीन इष्टइडिया सेनाका मेजर थिए ।

Advertisement

इसवीको सातौं शताब्दीमा भ्रमणका आएका चिनियाँ यात्री ह्वेङसाङ पुगेर यात्रा विवरणमा उल्लेख गरेका स्थलको अन्वेषणको काम थाले । पुरातत्व विभागको टिम परिचालन गरेर ह्वेङसाङगले उल्लेख गरे अनुसारका पुरातात्विक स्थलमा गएर त्यस अनुसार वास्तविकता छ–छैन् भनेर पत्ता लगाउन निर्देशन दिए । कतिपय ठाउँमा आफै पुगे । उक्त खोजबाट बोद्धगया, सारनाथ, कुशीनगर, संक्स्या, श्रावस्ती, नालन्दा र साचीसम्म पत्ता लाग्यो । तर, चिनियाँ यात्रीले वर्णन गरेको कपिलवस्तु र लुम्बिनी गर्भमै थियो । ह्वेङसाङले श्रावस्तीबाट ९० माइल उत्तर पूर्वमा शाक्यवंशीय राजधानी प्राचीन कपिलवस्तु रहेको उल्लेख गरेका छन् । अलेक्जेण्डर कनिङघमले भारतीय टेरोटोरी भित्र त्यस्तो स्थल भेटेनन् । नेपाल आएर अध्ययन अनुसन्धान गर्न तत्कालीन राणा सरकारले विदेशीलाई अनुमति दिएको थिएन् ।

Advertisement

सन् १८९३ मा भारतको बलरामपुरस्थित सेनाका मेजर जस्करण सिंह नेपाली जंगलमा शिकार खेल्न आउँदा एक ठाउँमा ढुंगाको स्तम्भ र त्यस्मा केही उल्लेख गरिएको देखेका थिए । उक्त कुराको जानकारी सिंहले लखनउबाट प्रकाशित हुने पायोनियर पत्रिकामा लेख लेखेर दिएका थिए । उक्त लेख पढेपछि अलेक्जेण्डर कनिङघमलाई चिनियाँ यात्रीले वर्णन गरेको लुम्बिनी, निग्लिहवा र गोटिहवाको अशोक स्तम्भ त हैन् भनेर खुल्दुली भयो । तर, विदेशीलाई नेपाल आउन प्रतिबन्ध थियो । उनले तथ्य पत्ता लगाउन तत्कालीन राणा सरकारलाई नेपालको तराईमा अध्ययन अन्वेषण गर्न अनुमति माग्दै पत्राचार गरे । राणाले अध्ययनका लागि सहमति दिए । ब्रिटिशकालमा पुरातत्व हेर्ने नर्थ वेष्ट प्रोभिन्स ईन अवधको कार्यालय लखनउमा थियो । त्यही काम गर्ने जर्मन सर्भेयर डा. ए ए फ्युहररलाई ह्वेङसागले यात्रा विवरणमा लेखेको तथ्य नेपाल गएर पत्ता लगाएर आउन पठाए ।

अवध कार्यालयले भारत सरकारको परराष्ट्र मन्त्रालय मार्फत मे १२ र जुन २९, १८९६ अध्ययनका लागि अनुमति माग गर्दै पत्राचार गर्यो । २९ अगस्तमा भारत सरकारले पत्राचार गरेपछि ७ सेप्टेम्बर १८९६ मा राणा प्रधनमन्त्री वीर शम्सेरले फ्युहररलाई नेपाल आएर अन्वेषण गर्न अनुमति दिएका थिए । उनी लखनउबाट दुईवटा रेलमा यात्रा गरेर सीमास्थित भारतीय उस्का बजार पुगेका थिए । त्यहाँबाट हात्तीमा नेपालका गाउँमा डुल्दै सोधपुछ गर्दै हिँडे । त्यही क्रममा उनलाई गाउँलेले निग्लिहवा पुर्याए । निग्लिहवामा रहेको स्तम्भबारे स्थानीयलाई थाहा थियो ।

अशोक स्तम्भ हो–होइन् जानकारी थिएन । गाउँलेहरु यसलाई भिमसेनको पाइप भन्थे । डा. फ्युरर पहिलो पटक मार्च, १८९५ मा पुगेका थिए । त्यहाँ उनले बाह्मी लिपीमा पाली भाषाको अक्षर देखे । तर, उनी बाह्मी लिपीबारे अनभिज्ञ थिए । त्यो भाषा र लिपिको जानकार अष्ट्रियाको भियतामा पढाउने उनका गुरु प्रोफेसर बुलर थिए । बुलरलाई उक्त लिपी पठाए । बुलरले उक्त अक्षर पढ्दा दोस्रो लाइनमा ‘बुदस कोनक मानस थुबे द्वितियम बढ्ती’ लेखेको देखे । त्यो भनेको कनममुनि बुद्धको स्तूप डबल साइजमा बढाइयो भनेर लेखेको प्रतिउत्तर गरे । यसले कोनक मानस भनेको कनकमुनि बुद्धको जन्मस्थल हो भन्ने कुरा प्रमाणित गर्यो ।

यो भेटिएपछि डा.फ्युरर निक्कै उत्साहित भए । यता चिनियाँ यात्री ह्वेसाङले निग्लिहवादेखि पूर्व तिर ५० लि (करिब २० किमी)मा ला–फा–नी गार्डेन रहेको उल्लेख गरेका थिए । चिनियाँहरु लुम्बिनीलाई ला–फा–नी भन्ने गरेको लुम्बिनीको मौन आवहान पुस्तकमा उल्लेख छ । ह्वेसाङले त्यहाँ एउटा पोखरी छ भनेका छन् । पानी निश्चल सफा छ । पोखरीदेखि २४–२५ पाइताला उत्तरमा एउटा अशोक रुख छ । जसको हाँगा समातेर मायादेवीले राजकुमार सिद्धार्थलाई जन्म दिएकी थिइन् भनेर उल्लेख गरेका छन् । तर, रुख चाहिँ मरिसकेको ठूटो छ भनेर लेखेका छन् । त्यस्कै छेउमा अशोक स्तम्भ छ भनेर उल्लेख गरेका छन् । अशोक स्तम्भको माथि घोडा थियो । तर उक्त घोडा चट्याङ खसेर जमिनमा लडिरहेको र स्तम्भ पनि बीचमा चिरिएको देखेको उल्लेख गरेका थिए । निग्लिहवा पत्ता लागेपछि डा.फ्युरर निक्कै उत्साहित भए ।

चिनियाँ यात्री ह्वेसाङले उल्लेख गरेको लुम्बिनी पनि यतैकतै हुनुपर्छ भनेर अनुमान लगाए । जन्मस्थान पनि भेटिने भयो भनेर उनी खुसी भए । तर, उनलाई तिलौराकोट, निग्लिहवा आसपास बाहेक अन्वेषण अनुसन्धान गर्ने अनुमति राणा सरकारले दिएको थिएन् । यसपछि उनलाई समस्या भयो । उनले राणाहरुलाई कनकमुनि बुद्धको जन्मस्थान भेटिँदा हामी खुसी भएका छौं । अब बुद्धको जन्मस्थल लुम्बिनीको खोज अनुसन्धान गरेर विश्वलाई चिनाउनु पर्ने आवश्कता भएको छ । यसका लागि लुम्बिनी क्षेत्रमा जान अनुमति माग्दै उनले राणा सरकार नेपाल दरबारलाई पत्राचार गरे । राणा सरकारले पाल्पामा खड्ग शम्सेर बडा हाकिम छन् । दुबै जनालाई मिलेर लुम्बिनी खोज्न डा. फ्युररले अनुमति पाए ।

दुबैबीच सन् १८९६ मा पत्राचार भएर काम गर्ने सहमति भयो । यसपछिको पत्राचारमा ३० नोभेम्बर १८९६ का दिन तिमि निग्लिहवामा आएर कुर । म त्यही आउँछु भनेर बडाहाकिम खड्ग शम्सेरले पत्राचार गरे । यसपछि ३० नोभेम्बरका दिन डा.फ्युरर निग्लिहवा पुगे । तर, खड्ग शम्सेर पुग्न सकेनन् । पाल्पाबाट आफ्नो तहसिलमा पर्ने लुम्बिनी हुँदै जादै गर्दा खड्ग शम्सेरले बाटोमा ढिस्को देखे । स्तम्भ भने एक हातजति भाग माथि निस्किएको थियो । उनले त्यही खनाउन थाले । यता निग्लिहवामा पूर्व निर्धारित भेटघाट हुन नसकेपछि फ्युरर पनि उतै लुम्बिनीतिर हात्तीमा लागे । भोलिपल्ट एक डिसेम्बरका दिन विहानै लुम्बिनीमा दुबै जनाको भेट भयो । फ्युरर आइपुग्नसाथ अशोक स्तम्भनिर ३ फुट के खनेका थिए । ईन्सक्रिप्सन (अभिलेख) देख्न थालियो ।

पाली भाषाको बाह्मी लिपीमा लेखिएको अभिलेखबारे बडा हाकिम खड्ग शम्सेर अनभिज्ञ थिए । उनले यसबारे कुनै मेसो पाएनन् । तर, फ्युरर भने निग्लिहवाको अभिलेखबारे धेरैसोध खोज गरेर अध्ययन अनुसन्धान गरेकाले थोरै जानकार थिए । उनले बाह्मी लिपीको अक्षर बुझन सक्थे । दोस्रो लाइनमा ‘हिदबुद्ध जाते शक्यमुनि ते’ पढे । यो त शाक्यमुनि बुद्धको जन्मस्थान लेखिएकोछ फ्युररले भन्दा खड्ग शम्सेर खुसी भए । खड्ग शम्सेरले ढिस्को देखेर खन्न थाले र लिपि पढेर फ्युररले बुद्ध जन्मस्थलको पहिचान गरेका थिए ।

अशोक स्तम्भ पत्ता लगाउने ऐतिहासिक श्रेय फ्यूरर र खड्ग शमशेर दुबैलाई दिइन्छ । लुम्बिनी खोज गर्ने विषयमा भएको पत्राचार नै अशोक स्तम्भ पत्ता लाग्ने आधार बन्यो । अशोक स्तम्भ पहिलो पटक खड्ग शम्सेरले देखे । त्यसलाई प्रमाणित गर्ने काम फ्युररले गरे । बुद्ध वंशमा २९ वटा बुद्धको कुरा उल्लेख छ । तर, सम्राट अशोकले शाक्यमुनि बुद्ध भनेर लेखेकै कारण पनि उक्त स्तम्भ रहेको ठाउँ राजकुमार सिद्धार्थ जन्मेको ठाउँ भनेर संसारले जानेको हो ।

त्यसअघि भारतमा शासन गरिरहेको ब्रिटिशले शाक्यवंशीय राजधानी तिलौराकोट र जन्मस्थान लुम्बिनी बस्ती, गोरखपुर तिर खोज्दै थिए । लुम्बिनी फेला पर्नुमा भारतीय पुरातत्व विभागका डाइरेक्टर जनरल कनिङघम पनि सम्झनुपर्छ । उनकै अग्रसरतामा लुम्बिनी पत्ता नलाग्दै भारतमा रहेको बुद्ध तीर्थस्थल ज्ञान प्राप्त गरेको बोद्धगया, प्रथम देशना गरेको सारनाथ र महापरिनिर्माण प्राप्त कुशीनगर पत्ता लगाइसकेका थिए । तर, जन्मस्थल पत्ता नलाग्दा बुद्धको इतिहास र अध्ययन अपुरो बनेको थियो । उनी सेनाका भएपनि पुरातत्वमा रुचि भएका थिए । बेलायतमा पुरातत्वको क्षेत्रमा काम गरेका थिए । यता जर्मन सर्भेयर फ्युररलाई खड्ग शम्सेरले भेटेपछि पुरातत्वमा अली रुचि बढ्यो । उनले सोधखोज र अध्ययन गर्न थाले ।

खड्ग शम्सेरले सन् १९०४ मा बुद्धिष्ट आर्कोलोजी अफ नेपाल तराई विषयमा तीन वटा लेख भारतको लखनउबाट प्रकाशित हुने पायोनियर पत्रिकामा लेखे । कपिलवस्तु, रुपन्देही र नवलपरासीमा भएका पुरातात्विक स्थलकाबारेमा लेख लेखेका थिए । यसले यी क्षेत्रमा पुरातात्विक महत्व बाहिर आए । उनले लेखेको लेखमा गोटिहवाको स्तम्भको माथिल्लो भाग निग्रोधारामको पोखरीको दक्षिण पूर्वी डिलमा लडिरहेको देखेको कुरा उल्लेख गरेका छन् । तर, त्यहा त्यो फेला पार्न सकेको छैन् । उता फ्युररले पनि कपिलवस्तुमा १० पुरातात्विक स्थल अन्वेषण गरेर भारतीय पुरातत्व विभागलाई प्रतिबेदन बुझाएका छन् । तिलौराकोट नै शाक्यहरुको राजधानी हुन सक्ने प्रशस्त आधारहरु देखाउँदै उनले प्रतिबेदन दिएका थिए ।

यसपछि १८९९ मा कपिलवस्तु लुम्बिनीको अध्ययन गर्न भारतीय पुरातत्वबिद् पीसी मुखजी आए । लुम्बिनीमा उत्खनन् गरे । ढिस्को खने । स्तुपा पाए । मायादेवी मन्दिर विभिन्न कालक्रममा बनेको भनेर पत्ता लगाए । मायादेवी मन्दिर सप्तरथ आर्किटेक्टमा बनेको हुनु पर्छ भन्ने बताए । मन्दिरमा रहेको मायादेवीले बुद्धलाई जन्मदिँदाको मूर्तिको टाउकोविहीन थियो । टाउको पछाडी पट्टी थियो । त्यसलाई जोडेर सग्लो बनाएका थिए । पीसी मुखर्जी आउनु अघि १८९८ मा थाई राजकुमार जीनवर वंश र अनागरिक धर्मपाल आएका उक्त मूर्ति हेरेको कुरा पुस्तकमा पाइन्छ ।

१९३३ देखि १९३९ सम्म केशर शम्सेरले ठूलो उत्खनन् गरे । त्यसपछि १९६२ मा भारतीय पुरातत्वबिद् देवला मित्र आइन् । उनले अशोक स्तम्भको जग पत्ता लगाउन पश्चिमी भागमा खाल्टो खनिन् । उनले नै मौर्यकाल (चौथौं शताब्दीदेखि दोस्रो शताब्दी ईशापूर्व)को प्रविधिले पालिस गरेको बताइन् । उनले उत्खनन् गर्दै गर्दा भैरहवाबाट घुम्न आएका बडा हाकिमले काम बन्द गराएको कुरा पुस्तकमा उल्लेख गरेको पाइन्छ ।
पुरातत्व विभागले सन् १९७० देखि लुम्बिनी संरक्षणको काम थाल्यो । पुरातत्वविद् बाबुकृष्ण रिजालले स्तम्भमा लेखिएको लुम्बिनी गामे पत्ता लगाए । २०१०–२०१२ मा जेफिड परियोजना अन्तर्गत तीन वटा काम भए । जस अन्तर्गत पुरातात्विक वस्तुको संरक्षण थियो । त्यसै अन्तर्गत अशोक स्तम्भको बैज्ञानिक तरिकाले संरक्षण गरिएको थियो ।

युनेस्को परामर्शदाता तथा स्टोन विषेशज्ञ इटालीका कन्स्टयान्टिनो म्युचीले नेतृत्वमा रहेको टोलीले स्तम्भको रसायनिक संरक्षण गरेको थियो । पहिले स्तम्भलाई बाँधेको फलामको पेटी निकालेर गन म्याटलले बाँधिएको छ । स्तम्भमै आइआर क्यामरा र अत्याधुनिक उपकरण जडान गरेर उनले अनुसन्धान गरेर संरक्षण गरेका थिए । राम्रोसँग संरक्षण गरिएकाले अहिलेसम्म भेटिएका अशोक स्तम्भ मध्ये सग्लो र नबिग्रिएको अभिलेख लुम्बिनीको मात्रै छ । साढे ४ लाइन, नब्बे अक्षर र २६ शब्दको अभिलेख छ । शासक फिरोज शाहको पालामा निस्किएको एन ए अकबरी पुस्तकमा ४० पाग्रा भएको गाढालाई ५ सय घोडाले तानेको दृष्य छ । जसमा स्तम्भ लोड गरिएको छ । ३७ टन तौल छ । ३० फिट साढे १० इन्च लम्बाइको छ । स्तम्भ १३ फुट ८ इन्च जमिनमुनी गाडिएको छ । मथिल्लो घोडाको भाग तल झरेको छ । अशोक स्तम्भको अभिलेख नै बुद्ध जन्मस्थलको अकाट्य प्रमाण हो ।