‘झुर’ म्याराथन, धेरै खर्च देखाएर रकम कुम्ल्याउने दाऊमा आयोजक



लुम्बिनी– लुम्बिनीमा एकैदिन २ वटा अन्तर्राष्ट्रिय स्तरका म्याराथन प्रतियोगिता भए । बिहीबार अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसर पारेर मदन भण्डारी स्पोर्टस् एकेडेमीले हाफ म्याराथन आयोजना गरेको थियो । यस्तै, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषदले संयुक्त ४२ किलोमिटरको म्याराथन प्रतियोगगिता गरे । तर, पार्टीको भातृ संगठनले आयोजना गरेको म्याराथनले राम्रो प्रशंसा पाउँदा सरकारी निकायको संलग्नतामा भएको म्याराथन भने निकै ‘झुर’ रह्यो ।
अन्तर्राष्ट्रिय म्याराथन भनिए पनि विदेशी खेलाडी निकै कम भए । धन्न एउटा श्रीलंकन खेलाडी सहभागी भए र अन्तर्राष्ट्रिय भन्ने शब्दको गरिमा जोगियो । महिला सहभागी भएनन् । खेलकुद परिषद् र ओलम्पिक कमिटीले आयोजना गरेको म्याराथन यति सारो झुर भएको सायद यो पहिलो इतिहास रहेको धावकहरु बताउँछन् ।
लुम्बिनी प्रदेश खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले शान्तिको कामना गर्दै प्रतियोगिताको आयोजना गरिएको दावी गरेका थिए । तर, खेल खल्लो हुँदा यसको आलोचना भइरहेको छ । कपिलवस्तुको तिलौराकोटबाट खेलाडी दौडन सुरु गर्नुभन्दा पहिला खेलाडीलाई नै कुनकुन ठाउँ हुँदै लुम्बिनी पुग्ने भन्ने पत्तो थिएन । न बाटोमा राम्रा गेट देखिए । खाली झारा टार्न गरे जस्तै प्रतियोगिता आयोजना गरिएको देखिएको दौडमा हसहभागी एक धावकले गुनासो पोखे ।
खेलकुदको माध्यमबाट लुम्बिनीको प्रवद्र्धनमा टेवा गुग्ने लक्ष्यसहित २०७ राष्ट्रका खेलाडीलाई निमन्त्रणा गरिएको बताइएको थियो । तर, श्रीलंकका धावकबाहेक विदेशी कुनै खेलाडी सहभागी भएनन् । आयोजकले अपेक्षा गरेअनुसार धावक सहभागी नहुँदा धेरै आलोचना भयो । ७ बजे सुरु हुने भनिएको दौड सवा ८ मा बल्ल सुरु भएको थियो ।
‘खर्च मनलाग्दी गरेको पाइयो तर खेलाडी र कार्यक्रम व्यवस्थापन निकै फितलो भयो’, म्याराथनमा सहभागी एक धावकले भने, ‘आयोजक धेरै ठाउँमा चुकेका थिए ।’ म्याराथनको सुरुवात लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गरेका थिए । तर, आयोजकको ढिलाईले उनी म्याराथन सुरु हुने स्थान तिलौराकोटमा आएर करिब सवा घण्टा कुरेर बसे । जेनतेत म्याराथन सुरु भयो तर धावक निकै कम सहभागी भए । लुम्बिनी खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले एक श्रीलंकनसहित ३३ धावक म्याराथनमा सहभागी भएको जनाए ।
उनले कार्यक्रमस्थलमै प्रतियोगिता सोचेजस्तो नभएको स्वीकारेका थिए । पुरस्कारका लागि मात्रै ४ लाख २४ हजार खर्च भएको थियो । तर, प्रतियोगिता सफल पार्न ४० लाख खर्च भएको अनुमान छ । तर, अझै कहाँ कति खर्च भयो भन्ने एकीन विवरण एकदुई दिनमा आउने जनाइएको छ । ४० लाख हाराहारी खर्चेर आयोजना गरिएको म्याराथन भने सोचेअनुसार नहुँदा अहिले आयोजकको चौतर्फी आलोचना भइरहेको हो ।
कार्यक्रमका लागि काठमाडौंदेखि अतिथि आएका थिए । कार्यक्रम सफल पार्न भन्दा खानपानमै आयोजकको बढी ध्यान देखिन्थ्यो । जसले गर्दा खर्च अत्यधिक भएको बताइएको छ । म्याराथनमा नेपाली सेनाका खगेन्द्रबहादुर भाटले कपिलवस्तुको तिलौराकोटदेखि लुम्बिनीसम्मको ४२ किलोमिटर लामो म्याराथनमा प्रथम भए । म्याराथनमा नेपाल प्रहरीका निरन खड्का द्वितिय र श्रीलंकाका अमिला सनाथ तृतीय स्थान हुन सफल भएका थिए ।
२ घण्टा ४० मिनेट १ सेकेन्डमा दूरी पूरा गरी प्रथम भएका सेनाका भाटले १ लाख रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै, २ घण्टा ४२ मिनेट ५७ सेकेन्डमा निर्धारित दूरी पूरा गरी द्वितिय भएका प्रहरीका खड्काले ५० हजार र २ घण्टा ४४ मिनेट २५ सेकेन्डमा दूरी पूरा गरी तृतीय भएका श्रीलंकन धावक सनाथले २५ हजार नगद राशिसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । म्याराथनमा उत्कृष्ट १० औं स्थानसम्म आउनेलाई पुरस्कारको व्यवस्था गरिएको थियो ।
पुरस्कारबाहेक अन्य सबै खर्च अतिथि आउजाउ र खानपानमै खर्च गरिएको बताइएको छ । दुईचारवटा सामान्य गेट बनाए पनि सबै खर्च बचाएर कुम्ल्याउने प्रयासमा आयोजक रहेको स्रोत बताउँछ । ‘आयोजकको व्यवस्थापन हेर्दा १०–१२ लाखमा कार्यक्रम सकिएको होला’, ओलम्पिक कमिटीका एक सदस्यले भने, ‘तर, ४० लाख जति खर्च भएको भनिएको छ । यसमा माथिल्ला पदाधिकारीले राम्रो रकम कुम्ल्याउने प्रयास गरेको देखियो । खर्चविवरण पारदर्शी छैन । अनुसन्धान हुनुपर्छ ।’








लेखकको सम्वन्धमा