November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

अधुरै रह्यो सैनामैनाकी सिर्जनाको बोइङ सपना

भैरहवा– उनले एक महिनाअघि मात्र एटीआर–७२ जहाजमा एयर होस्टेसको काम थालेकी थिइन् । उक्त जहाजको अनुभवले छिट्टै बोइङमा अवसर पाउने सपना देख्न थालेकी थिइन् । आफ्नो लक्ष्यबारे परिवारका सदस्यलाई बताएकी थिइन् । नेपाली आकासमा जहाजसँगै उडान भरिरहेकी थिइन् । सपनाको अर्को उडान पूरा गर्न गत दसैंमा घर आएका बेला राहादानी बनाएकी थिइन् । उनको सपनाको आइतबार अन्त्य भएको छ ।

Advertisement

यती एयरको ७२ सिटे जहाज पोखरामा आइतबार दुर्घटना भयो । त्यही जहाजमा आइतबार एयर होस्टेसको जिम्मेवारीमा रहेकी थिइन्, रुपन्देहीको सैनामैना–५ की २९ वर्षीया सिर्जना हुङ्चुङ् । परिवारका अनुसार २०७२ सालबाट सिर्जनाले परिचारिकाकोे काम थालेकी थिइन् । सैनामैनाको सेरुवामा बसोबास रहेको उनको परिवारमा बुवा–आमासँगैं दुई दाजु, भाउजु, ४ भदाभदै र एक भाई छन् । उनले सैनामैना र बुटवलबाट कक्षा १२ सम्म अध्ययन पूरा गरेकी थिइन् ।

Advertisement

त्यसपछि बुटवलको मिलनचोकस्थित एक तालिम कम्पनीबाट एयर होस्टेसको तालिम हासिल गरेकी थिइन् । लगत्तै विमान कम्पनीमा रोजगारीका लागि काठमाडौं गएकी थिइन् । सिजर्नालाई निकटले ‘सृजु’ भनेर बोलाउने गर्थे । सामाजिक सञ्जालमा फेसबुकमा उनले त्यही नामबाट आइडी बनाएकी छन् । उनका भिनाजु रेवन्तबहादुर सिंजालीका अनुसार सृजना गत दसैंमा कान्छो भाइलाई निमोनिया भएपछि १० दिनको विदामा घर आएकी थिइन् ।

भाइलाई अस्पतालमा हेरचाहगर्ने, घरबाट खाना लैजाने, भाइसँग बस्ने गरिन् । उपचारका क्रममा परिवारका अन्य सदस्यसित समय बिताउन पाइनन् । भाई निको भएपछि जागिरमा फर्केकी थिइन् । यती एयरमा काम थालेदेखि काठमाडौं–भैरहवा, काठमाडौं–विराटनगर र काठमाडौं–पोखराको उडानमा उड्ने गरेकी उनको आइतवारको फ्लाइट १२ बजेको थियो ।

शनिवार साँझ घरमा कुरा गरेकी उनले आइतबार १२ बजे पोखरा उड्ने जानकारी गराएकी थिइन् । उनी उड्ने जहाजमा यात्रु कम भएपछि १२ बजेका लागि तय भएका यात्रुलाई समेत अगाडिको जहाजमा राखिएको उनले परिवारलाई सुनाएकी थिइन् । कक्षा १२ सम्म्को अध्ययन सकाएपछि सृजुले सैनामैनाको पर्रोहा बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गर्न भर्ना भएकी थिइन् । प्रथम वर्षमा भर्ना भए पनि परीक्षा भने नदिएको तत्कालीन क्याम्पस प्रमुख चित्र केसीले बताए ।

एकपटक उनी जहाजमा सवार गर्दा सृजुले नमस्ते सर भनी सम्बोधन गरिन् । कसरी चिन्यौ भनी सोध्दा, हजुरकै कलेजकी विद्यार्थी थिएं भन्ने उत्तर पाएपछि आफू खुसी भएको उनले बताए । उनकी ६१ वर्षीय आमा खिमिसरा आइतबार माघे संक्रान्ति भएकाले छोरीलाई मनपर्ने बटुक पकाएर पठाउने तयारी गर्दै थिइन् । शनिवार साँझ कुरा हुँदा धेरै बटुक पकाएर पठाइदिनुस् है भनेर छोरीले भनेको उनको कानमा गुन्जिरहेको छ ।

आमाले जेठी बुहारी आइतवार सांझ काठमाडौं जाने र उनीसंगै छोरीलाई बटुक पठाइदिने भन्दै आइतवार बिहानैदेखि बटुक पकाउंदै थिइन् । पकाउँदै गर्दा विमान दुर्घटना भएको घटना उनको कानमा पर्यो । त्यसपछि उनले आधा बटुक पकाउन बाँकी राखेर घटनाबारे समाचार सुन्न र हेर्न थालिन् । उनले आफ्नी छोरीको बारेमा पनि जानकारी पाइन् र सम्हालिन सकिनन् ।