बोधि बुद्धको जीवन चक्र



हिमालयको फेदमा एउटा सुन्दर बगैँचा थियो । त्यस बगैँचामा केही सेता हात्तीहरू बस्थे । हात्तीहरू मध्ये एउटा मुख्य हात्ती थियो । तिनी स्वयम् बोधि थिए, उनकै नेतृत्वमा त्यहाँ अन्य हात्तीहरू बसेका थिए । त्यसै बगैँचामा एउटा सुन्दर तलाउ पनि थियो । त्यो तलाउ सामान्य तलाउ थिएन । शरीरको घाउ, खटिरा, थकान सबै निर्मूल पार्ने तथा शरीरमा स्फूर्ति बढाउने अमृत भएको जल त्यस तलाउमा थियो । बगैँचाको बीचमा रहेको त्यो तलाउ हात्तीहरूको क्रिडास्थल रहेको थियो । बोधि हात्तीको संरक्षणमा सबै हात्तीहरू आनन्दका साथ त्यस बगैँचाको सुन्दरतालाई संरक्षण गरी रमाएर बसेका थिए ।
एक दिनको कुरा हो । कुनै एउटा राज्यबाट राजकुमारी दुःखी अवस्थामा राज्य छोडेर त्यहाँ पुगिन् । टाडा एकान्त जङ्गलमा दुःखी अवस्थामा राजकुमारी त्यहाँ देखेपछि बोधि हात्तीले प्रश्न गरे । राजकुमारी आफ्नो अनुहारको दाग देखाउदैँ विवाह गर्न आएका अर्को राज्यको राजकुमारले उनको अपमान गरेको कुरा वृतान्तमा बताइन । बोधि हात्तीले सबै कुरा सुनेपछि आफ्नो सुडमा तलाउको पानी राजकुमारीको मुखमा छ्यापी दिए र आफ्नो राज्यमा फर्कन आग्रह गरे । राजकुमारीले कुनै प्रश्न नगरी आग्रह स्वीकार गरिन् ।
राजकुमारी सबै लक्षणले युक्त र सुन्दर थिइन । त्यहीँ अनुहारको दागको कारण अपमान हुनु परेको थियो । भोलिपल्ट राजकुमारीको अनुहारको सबै दाग हराएको देखेर राजकुमारीले हात्तीले पानी छ्यापेको रहस्य बुझिन् । राजकुमारीको अनुहारको दाग हराएको कुरा चारैतिर सनसनी भयो । अर्को राज्यको राजकुमार जसले राजकुमारीलाई अपमान गरेका थिए । उनको कानमा पनि यो कुरा पुग्यो । राजकुमारले राजकुमारीको अनुहारको दाग एकै दिन हराएको वास्तविक कुरा जान्ने जिज्ञासाले अनेकाँै जुक्ति लगाउँदा पनि रहस्य बहिरा आउन सकेन ।
राजकुमारले राजकुमारी अत्यन्त दयाले स्वभावकी छन् भन्ने यर्थाथ बुझेपछि आफ्नै राज्यको एउटी युवतीलाई पुरुस्कारको लोभ देखाउदैँ अनुहारमा कृत्रिम दाग बनाएर राजकुमारी समक्ष उपस्थित भई रहस्य बुझन लगाए । दयालु स्वभावकी राजकुमारी आफूले भोगेको पिडा अरुलाई नपरोस् भन्ने सोचले ती युवतीलाई उक्त ठाउँको रहस्य बताइन् ।
रहस्य बुझेँपछि दुष्ट स्वभावका राजकुमारले सेतो हात्तीलाई आफ्नो दरबारमा ल्याउने र तलाउको पानी सेचन गरी आफ्नो दरबार भित्र त्यस्तै तलाउ बनाएर राख्ने निर्णय गरी बगैँचामा पुगे । सुनसान त्यस वनमा एक्कासी सिपाही देख्दा सेता हात्तीरू सबै आत्तिएर बोधि हात्ती भएको ठाउँमा पुगे । बोधि हात्तीले सबै हात्तीहरूलाई अर्को जङ्गलतिर जान व्यवस्था मिलाएर सबैको ज्यान बचाए तर आफू भने घाइते भए । दुष्ट राजकुमारले तलाउको पानी सेचन गर्न सफल भए तर घाइते बोधि हात्ती मरेको अनुमान गरी लगेनन् । यसै क्रममा राजकुमारीलाई पनि त्यस जङ्गलमा गएर हात्तीलाई भेट्ने इच्छा जाग्यो ।
राजकुमारी जङ्गलको उक्त बगैँचामा गएर त्यहाँको दृष्य देखेर सारै दुःखी भइन् । हात्तीलाई आफ्नो राज्य लगेर उपचार तथा हेरविचार गर्ने निर्णय गरिन् तर हात्तीले राजकुमारीलाई यसमा उनको केही दोष नभएको बताए । उनको यात्रा यहाँसम्म रहेको अब उनले देह त्याग गर्ने समय आएको कुरालाई प्रष्ट पारे । यो सुनेर राजकुमारी अझ भावविह्ल भएर रुन थालिन् ।
हात्तीले राजकुमारीलाई सम्झाउदैँ उनको राजकुमारी सँगको सम्बन्ध यो जुनीमा मात्र नभएर अर्को जुनी उनकै गर्भबाट जन्म लिने तथ्य बताए । त्यसपछि हात्तीले देह त्याग गरे । राजकुमारीले हात्तीको सद्गत गरेर महल फर्किन । तर उनले यो घटना आफ्नै कारणले भएको भनेर आफूलाई नै दोषी ठानी चिन्तामा डुब्न थालिन् । चिन्तै चिन्ताले उनले पनि यो संसार छोडिन् ।
केही समय पश्चात उनको पुर्नजन्म देवदहको कोलिया राज्यमा सौर्य राजवंशमा राजा अन्जनाको दरबारमा रानी सुलक्षणाको कोखबाट महामाया राजकुमारीको जन्म भयो । उनी दुई बहिनी दुई भाइ थिए । उनकी बहिनीको नाम प्रजापति थियो । देवदहको कोलिया राज्यमै उनको पालन पोषण भयो । केही समय पश्चात कपिलवस्तुका प्रथम शाक्य वंशका राजा सिहानुका पुत्र राजकुमार शुद्योधनसँग उनको विवाह भयो । शुद्योधनपछि कपिलवस्तुका राजा भए । राजा शुद्योधन र मायादेवीको विवाह पश्चात बीस वर्ष सम्म पनि सन्तान भएनन् । उनीहरू निकै दुःखी थिए ।
अनेकौँ व्रत, पुजा, पाठ गरी रहन्थे । एक दिन रानी मायादेवीले उक्त सेतो हात्ती दाहिने कोखबाट आफ्नो गर्भमा पसेको सपना देखिन् र उनी गर्भवती भइन् । लामो समयपछि राजबालक जन्मने विषयले राजदरबारमा राजा र प्रजा सबैमा बडो आनन्दमय खुसीयाली छायो । यस वंशमा पहिलो सन्तान माइतमा जन्माउने चलन रहेकाले रानी मायादेवी पहिलो सन्तान जन्माउन माइत देवदहतिर हिडिन् । वसन्त महिनाको हरियाली र घाम थियो त्यसैले बाटोमा पर्ने लुम्बिनी वनमा रानी एकछिन विश्रान गर्न सोचिन् । त्यस बगैँचामा चारैतिर विभिन्न थरीका फूलहरू फुलेको थिए । उनी बडो आनन्दित भएर पोखरीको छेउमा सालको ठुलो रुखको तल विश्राम गरिन् ।
त्यसै समय उनलाई व्यथाले च्याप्यो । रुखको एउटा हाँगामात्र के समातेकी थिइन् राजकुमारको जन्म भयो । त्यो दिन वैशाख पूर्णिमाको दिन थियो । राजकुमारको जन्मले स्वर्ग तथा पृथ्वीले नै आनन्द महसुस गरी फूलहरू वर्षाए । राजा अत्यन्त आनन्द विभोर भए र उनले राजकुमारको नाम सिद्धार्थ राखे । जसको अर्थ हुन्छ , पवित्र, लक्ष्य पुरा भएको अर्थात इच्छा पुरा भएको । यसपछि राज्यमा हर्षउल्लास भयो । सबै खुसी भए । तर त्यो खुसीले अर्को दुःख निम्त्यायो । केही दिनमा रानी मायादेवीले संसार छोडिन् । उनकी बहिनी प्रजापतिले बालक सिद्धार्थको स्नेहका साथ स्यारसुसार तथा हेरविचार गरी हुर्काइन् ।
यसै क्रममा एक दिन एकजना तपस्वी महलको वरी परि शोभा देखेर महलमा आए । राजाले लामो समय पश्चात् पाएको आफ्नो एकमात्र सन्तान राजकुमारलाई तपस्वीसँग देखाए । तपस्वीले बालकलाई देख्ने वित्तिकै साधरण बालक नभएको तथा युवावस्थासम्म महलमा बसे भने सम्पूर्ण विश्वमै राज गर्ने र महल त्यागेमा धार्मिक जीवनयापन गर्ने ठुलो वैरागी महापुरुष बन्ने छन् भन्ने भविष्यवाणी गरे । यो सुने पछि राजा प्रसन्न त भए तर एकमात्र सन्तान राजकुमारले बैरागी जीवनयापनले आफ्नो राज्यको बिडो नसमाल्ने हो कि भन्ने चिन्ता बढ्न थाल्यो । यसैले उनले राजकुमारको सम्पूर्ण शिक्षा दीक्षा दरबार भित्र नै गराए ।
उनलाई बाहिरी संसारबाट टाडा राखे । महलमा सम्पूणर््ा सुःखसयल तथा उनलाई भुलाउन हरसम्भव गरे । यसैक्रममा उनी सोह्र वर्ष पुगेपछि स्वर्गीय माता मायादेवीका भाई देवदह दुर्गका राजा सुप्रबुद्धकी छोरी राजकुमारी यशोधरासित उनको विवाह गरी दिए । सिद्धार्थ अति नै भावुक थिए । कुनै पनि प्राणीको हत्या गर्नु ,दुःख दिनु हुदै‘न भन्ने उनको सिद्धान्त थियो । उनको मन कोमल थियो । एकदिन दरवार भित्र देवदत्तले वाण हानेर घाइते बनाइएको सारसलाई उनले बडो स्नेहपूर्वक सेवा गरी प्रकृतिमा उड्ने पंक्षीलाई आफ्नै संसारमा रमाउन दिन पर्छ भनेर उनलाई बन्धक नबनाई छाडी दिए ।
हरेक पशुपंक्षी जीव प्राणी कसैलाई कष्ट नहोस् भन्ने भावना थियो । यसरी दिन बित्दै गयो उनकी पत्नी यशोधराले राहुललाई जन्म दिइन् । राहुलको जन्मपछि उनको मनमा मानिसको जन्म, मृत्यु, जीवन आदिको विषयमा मनमा अनेक तरङ्गहरू खेल्न थाले । दरवारभित्रको एकान्तले मनको यस्तो तरङ्गहरू रोकिन सकेन । त्यसैले उनी महल बाहिर जान इच्छा गरे । राजकुमारको सवारी हुदै‘छ भनेर राजाले महल बाहिरको वातावरणलाई रमाइलो गर्न समेत लगाए । राजकुमार आफ्ना सारथीलाई लिएर महल बहिर निस्के ।
त्यहाँ उनले चार कुरा देखे– बृद्ध मानिस, रोगी मानिस, जोगी तथा मृतसैयामा राखेको मानिसलाई देखेर सारथी सँग प्रश्न गरे । सारथीले चारै मानिसको अवस्थालाई वर्णन गरे । महल बाहिरको अवस्थाले उनी माथि झनै ठुलो प्रश्न खडा भयो । मनमा अनेकौ‘ प्रश्नहरू उब्जिन थाल्यो । मानिसको जन्म मृत्युको वास्तविक यथार्थ उनलाई झनै रहस्य जस्तो लाग्यो । उनी उन्तीस वर्षको हुँदा एकातिर छोरा राहुल हुर्कदै‘ थिए अर्को तर्फ उनको मनको द्वन्द्व शान्त हुन सकेको थिएन । महल भित्र बसेर वास्तविक रहस्य बुझ्न नसक्ने अनुभव गरे ।
उनी आफ्नो घोडा कन्थकलाई लिएर राती महलबाट बाहिर निस्के । केही टाडा पुगेपछि आप्mनो घोडा कन्थकलाई महल र्फकन आग्रह गरे । यसैक्रममा सिद्धार्थ योगी भागर्वको कुटीमा पुगे । योगिसँग कुरा गरेपछि मनमा उठेको प्रश्न योग तथा ध्यानबाट नै समाधान हुन्छ भन्ने निष्कर्ष निस्कयो । त्यसपछि उनी कपाल मुण्डन गरी योग र ध्यान गर्न थाले । यसरी ध्यानमा बस्दा पनि लक्ष्य पुरा हुन सकेन । मन विचलित भइ नै रहयो ।
नदीको छेउमा स्नान गरी छिमेक गाउँमा सुजाता नाम गरेकी एउटी नारीको हातबात भिक्षाटनमा खीर ग्रहण गरे । यसरी नारीको हातबाट खीर ग्रहण गरेको देखेर अन्य सहयोगीहरू नैतिक पतन भएको भनेर सबैले साथ छोडे । सिद्धार्थ एकलै परे । त्यहाँबाट उनी मगध देशको गयामा गएर एउटा पीपलको ठुलो रूखको तल आफ्नो लक्ष्य प्राप्त नगरी यो ठाउ‘बाट उठ्ने छैन भनेर दृढ सङ्कल्प गरी ध्यानमग्न बसे । यसरी तपस्यामा बसेपछि उनको हाड र छाला मात्र रहयो । धैर्यपूवर्क सबै कुरालाई स्वीकार गरेर निश्चय गर्न र सांसारिक कुरा नित्य र अनित्यको यथार्थलाई बुझे ।
सारा अन्धकार हराएर गयो । मस्तिष्कमा नयाँ सूर्यको उदय भए जस्तै उज्ज्वल भएर आयो । उनी पैतीस वर्ष पुग्दा उनको लक्ष्य पुरा भयो । त्यसपछि उनी नयाँ नाम ‘बुद्ध’को नामबाट चिनिन थाले । त्यो दिन वैशाख पूर्णिमाको दिन थियो । लक्ष्य प्राप्तपछि उनी आफू पहिला तपस्या गरेको ठाउँ वाराणसीमा पुगेर पहिला साथ भएका तपस्वी साथीहरूसँग भेटे । उनलाई देख्ने वित्तिकै उनीहरू टाडा हुन खोजे तरपछि उनीसँग कुरा गर्दै जाँदा ज्ञान प्राप्त गरी सकेको कुरा विश्वास भयो । उनीहरू नै सिद्धार्थ गौतम अर्थात् गौतम बुद्धका पहिला अनुयायी भए । त्यहाँबाट उनी भिक्षटन गर्दै एक ठाउँबाट अर्को ठाउँ जान थाले । त्यहाँ सबै मानिसहरूलाई जीवनयापनको तरिकाहरू सिकाउदैँ जाने क्रममा कतिपय उनकै अनुयायी भएर उनीसँग भिक्षु भए ।
फागु पूर्णिमाका दिन आफ्नो जन्मथलो कपिलवस्तु पिता र छोराले भेट्ने इच्छा प्रकट गरेपछि आफू बैरागी जीवनयापन गरेकाले दरवार भित्र प्रवेश नगरे प्रस्ताव सारे । कलिवस्तुको कुदानमा आफ्ना परिवारलाई भेटेपछि सबैलाई भिक्षु बनाए । यसरी ठाउँ ठाउँमा आफूले आजन गरेको ज्ञानलाई शिक्षा दिदैँ जाँदा उनी असी वर्ष पुरा भए ।
राजगृहबाट श्रावस्ती जाने बाटोमा वैसाली पुग्दा उनी अस्वस्थ भए । तीन महिनापछि आफू निर्वाण लिने भविष्यवाणी गरे । तैपनि यात्रा चली नै रहयो । कुशीनगर पुग्दा वैशाख पूर्णिमाकै दिन असी वर्षको उमेरमा उनले महापरिनिर्वाण प्राप्त गरे । उनको अस्तुधातु आठ भागमा विभाजन गरी विभिन्न ठाउँमा स्तुपहरू निर्माण भए । आज उनको महिमा संसारभरि नै फैलिएको छ ।
शर्मा प्राध्यापक/लेखक हुन् । [email protected]








लेखकको सम्वन्धमा