सीमापारी किनमेल रोक्न मानसिकता परिवर्तन जरुरी



करिब पाँच वर्ष अगाडिको कुरा हो । हामी चितवनबाट रुपन्देही बसाइँका लागि फर्किने तयारीमा थियौं । मेरो श्रीमान कार्यालय कामको शिलशिलामा भैरहवामा बसिरहनु भएको थियो । परिवारै यता सर्नु भन्दा अगाडिको अवधि भएकाले बन्दोबस्तीका सामान चितवनमै थिए । झोलामा ल्यापटप र केही थान कपडा बोकेर उहाँ भैरहवा जानु भएको थियो ।
जाने बेला झोलामा दाह्री काट्ने मेसिन राख्न बिसर्नु भएछ । फोनमा कुराकानी हुँदा बजारमा एकपटक प्रयोग गरेर फ्याँक्न मिल्ने साना रेजर पाइने भएकाले भैरहवामै किनेर काम चलाउनु भए हुन्छ भनेर सुझाव दिएँ । उहाँले केही समयपछि चितवन फर्केर यस्तो कहानी सुनाउनु भयो– हिउँदको महिना बिहान कुहिरो लाग्थ्यो । सायद कुनै कार्यक्रममा जानु थिएन । त्यसैले एउटा रेजर खरिद गर्न भनेर उहाँ घरबाट निस्किनु भएछ । त्यसबेला भैरहवाको बजार अहिले जस्तो भव्य बन्ने क्रममा थियो । ठूला मल, मार्ट खुलेका थिएनन् । त्यसैले मुख्य सडकदेखि गल्लीमा रहेका किराना र थोक पशल चाहार्नु भएछ । पूरै भैरहवा परिक्रमा गर्नु भएछ । तर, कतै रेजर नपाएपछि निरास बनेको सुनाउनु भयो । के भैरहवाका मानिसले दाह्री काट्दैनन् ? उहाँले मलाई जिस्काउनु भयो, ‘पुरै बजार चहारे पनि एउटा रेजर नपाइने भैरहवा कस्तो बजार ?’
उहाँले त्यति भनेपछि मनमा अनेक प्रश्न उब्जिए । सिमावर्ती पुरानो बजारमा व्यक्तिगत र घरायाशी आपतकालीन प्रयोग हुने सामानका ठूला पशल पनि थिएनन् । बजारमा यस्ता आवश्यक सामाग्रीको अभाव नै हो त ? व्यापारीले किन राखेनन् होला ? यस्ता प्रश्नको जफाव खोज्ने क्रममा मनबाट एउटा उत्तर मिल्यो‘ त्यसको खास कारण सिमापारीको बजारमा किनमेल रहेछ । यहाँ व्यक्तिलाई अपर्झट आवश्यक पर्नेदेखि भान्सामा चाहिने नुन तेलसम्म सीमापारिबाट खरिद हुने भएपछि स्थानीय व्यापारीले जति सामान राखे पनि त्यसको के काम । नजिकै रहेको सिमावर्ती भारतीय बजार सुनौंलीमा यहाँ आवश्यक पर्ने सबै सामान मिल्छन् ।
यहाँका बजारमा सबै सामान उपलब्ध भए पनि खरिद नगर्ने परम्पराले गर्दा ब्यापारी हिच्किचाएका हुन् । बिक्री नहुने भएपछि सामान राखेर के अर्थ ? हामी चितवनबाट रुपन्देही फर्केर बुटवलमा साढे तीन वर्ष बस्यौं । बुटवलमा भैरहवाभन्दा ठूलो बजार छ । बुटवल व्यापारको केन्द्र हो । तर, बुटवलका सर्वसाधरण बिदाको दिन समूह बनाएर भारतीय बजार सुनौली किनमेल गर्न पुग्छन् । बसभरि सीमापारि जाने सर्वसाधरणको घुइँचो लागेको देख्थे ।
साढे एक वर्षदेखि हाम्रो परिवारै भैरहवामा बसिरहेको छौं । भैरहवा मेरो माइती सहर हो । उहाँ र मेरो पहिलो भेट यही भयो । लामो संगतपछि हामीले बिहे गरेका थियौं । यहाँ आएपछि पुराना याद ताजा भए । यही क्रममा कोरोना महामारीको प्रभाव मुलुकका सबै क्षेत्रमा पर्यो । महामारीको असरबाट कुनै क्षेत्र अछुतो रहेन । तै पनि निर्वाह गर्नै पर्यो । हामीले सतर्कता अपनाएर अत्यासलाग्दो समय बितायौं । अहिले भैरहवा हामी चितवनबाट फर्किंदा देखेको अवस्थाबाट धेरै अगाडि बढिसकेको छ । यहाँ भाटभटेनी सुपरमार्केटदेखि नीजि क्षेत्रको लगानीमा डिपार्टमेन्टल स्टोर खुलेका छन् ।
किराना पशल बढेका छन् । दैनिकी उपभोग्यदेखि सुविधामा समान पाइने आकर्षक आउटलेट सञ्चालनमा आएका छन् । यहाँका मानिसको दैनिक जीवनमा परिवर्तन देखिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको छ । त्यसलाई लक्षित गरेर एक दर्जज चारतारे र आधा दर्जन भन्दा बढी पाँचतारे होटल सञ्चालनमा आइसकेका छन् । बजार सहरमा परिणत भइसकेको छ । शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानी बढेको छ । यतिले पनि सिमापारि किनमेल गर्न जानेको लर्को थामिएको छैन ।
अहिले पनि रुपन्देहीको मूल नाका बेलहियाबाट दैनिकी सयौं मानिस किनमेलका लागि सिमावर्ती भारतीय बजारमा पुग्ने गरेका छन् । उनीहरु आवश्यकता हेरि सामान खरिद गर्न सुनौंली हुँदै नौतनुवादेखि गोरखपुरसम्म पुगिरहेका हुन्छन् । अझ धेरै सामान ल्याउनु पर्ने सस्तो खोज्दै नयाँ दिल्लीसम्म पुग्ने गरेका छन् । कोरोना महामारीका बेला समेत जोखिम मोल्दै किनमेलका लागि सिमापारि जाने सर्वसाधरणलाई नियन्त्रण गर्न सम्भव देखिएको थिएन । अहिले माहामारीको अवस्था पहिले जस्तो छैन । तर, संक्रमण थामिएको अवस्था पनि होइन । अझै स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने जरुरी छ । यस्तो बेला किनमेलका लागि सीमापारि जानेले स्वास्थ्य मापदण्ड पालानालाई बेवास्ता गरेको देखिन्छ ।
सिमावर्ती बजारका लगानीकर्ता भारतीय हुन् । उपभोक्ता भने नेपाली । अहिले त भारतीय बजारमा नेपालमा हुने बिहेवारीका कपडादेखि पूजा सामाग्री समेत बिक्रीमा राखिएको देखिन्छ । त्यस्ता पशलमा परिवार र आफन्तसहित नेपाली उपभोक्ता पुगिरहेका हुन्छन् । भारतीय बजारमा किनमेल गरिन्छ । कतिपय अवस्थामा म आफै पुगिरहेकी हुन्छु । त्यहाँ किनमेल गरेपछि भारतीय व्यापारीले बिल दिँदैनन् । एउटा खाली कागजमा सामानको विवरण र रकम उल्लेख गरेर पठाउँछन् । हजारौं रुपैयाँ खर्च गर्छौं । तर हामी बिल लिँदैनौं । अर्कोतर्फ भारतीय व्यापारीले नेपालको बिक्री अवस्था र मूल्य अध्ययन गरेको जस्तो देखिन्छ । जस्तैः भैरहवामा भन्सार तिरेर ल्याएको साडीको मूल्य एक हजार ५ सय रुपैयाँ छ । त्यही साडी भारतीय सुनौंली बजारमा नेपाली एक हजार रुपैयाँमा बिक्री गर्दा उनीहरुलाई घाटा हुँदैन । उनीहरुले हाम्रा उपभोक्ताको मनोबिज्ञान अध्ययन गरेर सामानको मूल्य बताउने गरेका छन् ।
एउटा सामानको पाँच हजार रुपैयाँ मूल्य बताउने र घटाएर २ हजार ५ सयमा बिक्री गरिरहेका हुन्छन् । हामीलाई समानको बास्तविक मूल्य जानकारी हुँदैन । हामी भारतीय ब्यापारीले मूल्य घटायो भनेर सामान किनेर मक्ख हुँदैं फर्किन्छौं । हामी खरिद गर्दा ठगियौं कि ठगिएनौं मेसो पाउँदैनौं । नेपाली उद्योगी, व्यवासायीका संघसंस्थाले वर्षौदेखि सिमावर्ती बजारमा किनमेल रोकिनु पर्ने माग गर्दै आएका छन् । स्वदेशी उत्पादन र बजारको प्रवद्र्धन गर्न प्रत्येक वर्ष मेला–महोत्सवको आयोजना गर्दै आएका छन् । कतिपय मेला–महोत्सवमा भारतीय र नेपाली बजारमा सामान खरिद गर्दा मूल्यमा पर्ने अन्तरसमेत खुलाएर राख्ने गरिएको थियो । अहिले नेपाली गार्मेन्टले उत्पादन गरेका सामान यही सस्तो मूल्यमा पाइने गरेका छन् । पहिलेको तुलनामा नेपाली बजारमा किनमेल गर्ने परम्परा बढ्न थालेको छ । तर, घरायसी सामान र उपभोग्य बस्तु खरिद गर्न सिमापारी जाने क्रम रोकिएको छैन ।
चाडबाड र पूजाआजा, बिहेका बेला रुपन्देही र आसपास मात्र होइन, पहाडी जिल्लाबाट समेत सामान खरिद गर्न सिमापारि पुग्ने गरेका छन् । नेपालीको अनौठो मानसिकता देखिन्छ । घुम्न वा भेटघाटमा रुपन्देही आएका बेला समेत सामान खरिद गर्न सुनौंली बजार पुग्ने प्रचलन स्थापित छ । एकपटक काठमाडौंकै बासिन्दा मेरो साथीको परिवार लुम्बिनी घुम्न आएका थिए । हामीले लुम्बिनीमा सपरिवार रमाइलो गर्यौ । अर्कोदिन फर्किने बेला भयो । ती साथीले एकपटक सिमापारी बजारमा जाउ भने । नयाँ ठाउँ घुम्न पनि हुने भनेपछि गयौं । त्यहाँ गएर २–३ वटा पशलमा पुगेपछि मेरो साथीले कुनै सामान खरिद गरिनन् । उनले सुनौंली भन्दा काठमाडौंको असनमा साडी सस्तो पाइने बताइन् ।
सुनौंलीको मूल्यको आधामा काठमाडौंमा साडी पाइने भएपछि यहाँ खरिद नगरेको उनको भनाई थियो । त्यसपछि सुनौली जाने धेरै पाहुनालाई म यही प्रसंग सुनाउने गर्छु । पछिल्लोपटक सिद्धार्थनगर नगरपालिकाको पक्लिहवा नजिकै फरेनियामा लाग्दैं आएको हाटबजारलाई लिएर जिल्लामा बहस सुरु भएको छ । कोरोना संक्रमण उकालो लागेपछि जिल्लास्तरीय कोरोना नियन्त्रण समितिले उक्त हाटबजारमा नेपाली उपभोक्ताको आउजाउमा रोक लगाएको छ । उक्त हाटबजारका कारण भैरहवाको व्यापार धारासायी बनेको जनाउँदैं यहाँ रहेका व्यावसायिक संघसंस्थाले वर्षौदेखि उपभोक्ताको आउजाउ रोक्न माग गर्दै आएका थिए ।
केही महिनाअघि पनि संघसंस्थाका प्रतिनिधिले प्रमुख जिल्ला अधिकारीलाई भेटेर बजारमा जाने उपभोक्तामाथि कडाई गर्न माग गरेका थिए । सातामा दुई दिन बुधबार र शनिवार दशगजा क्षेत्रमै उक्त हाट लाग्ने गरेको छ । बजारमा किनमेल गर्नेको भीड लाग्छ । भीडले दशगजा छेकिन्छ । धुलोमैलो हुन्छ । व्यापारी भारतीय हुन् । उक्त हाटका अधिकांश उपभोक्ता नेपाली हुने गरेका छन् । सामान र खाद्यान्न सस्तो पाइने भन्दै उपभोक्ता जाने गरेको बताइन्छ । नेपाली व्यावसायीले वर्षौदेखि गर्दै आएको माग पनि पूरा हुने । अर्कोतर्फ कोरोना संक्रमण रोकथाम हुने र राजश्व चुहावट नियन्त्रण हुने जनाउँदैं प्रशासनले रोक लगाएको जनाएको छ । अचम्म लाग्दो कुरा के छ भने प्रशासनले व्यापारीको माग अनुसार कडाई गरिरहेको छ । तर, फरेनिया बजारमा निर्वाध आउजाउ गर्न पाउनु पर्ने भन्दै प्रशासनलाई रोक हटाउन दबाब दिने व्यापारी र व्यक्ति अहिले बढेका छन् ।
सुनेअनुसार हाटबजार जाने उपभोक्तालाई रोक नलगाउन जिल्लास्थित राजनीतिक दलका नेताले समेत फोन गरिरहेका छन् । अर्कोतर्फ उक्त हाटबजारमा सामान विक्री गर्दै आएका व्यापारीले समेत विभिन्न माध्याम प्रयोग गरेर दबाब बढाइरहेका छन् । भैरहवामा रहेका केही व्यापारीले समेत हाटबजारमा आउजाउ दिनुपर्ने दबाब दिएको सुन्दा दिक्क लाग्यो । यस्ता दबाब दिने व्यक्तिले बेलहिया नाका हुँदै हुने किनमेल रोक्न प्रशासनलाई चुनौती दिने गरेका छन् । बेलहिया अन्तर्राष्ट्रिय नाका भएकाले आउजाउ रोक्न कठिन छ । तर, त्यहाँबाट भन्सार छलि गरेर हुने आयात रोक्न प्रशासनले कडा निर्देशन दिएको छ । पछिल्लो पटक जिल्ला प्रशासनमा बसेको राजश्ज चुहावट नियन्त्रण समितिको बैठकले चोरी–पैठारी हुने सम्भावित नाका र स्थान पत्ता लगाएर कडाई गर्न निर्देशन दिएको मैले समाचार पढेकी छु ।
हामी सस्तो खोज्छौं । खरिद गर्न भारतीय बजार पनि पुग्छौं । भारतीय बजार जान हुँदैन भन्दा व्यक्तिगत स्वतन्त्रताको कुरा पनि उठ्छ । तर, हामी सामान ल्याउँछौं । तर, ती सामान खान योग्य छन–छैनन ख्याल गर्दैनौं । कम गुणस्तरका खाद्यान्नले भोलिका दिनमा निम्त्याउने गम्भीर रोगबारे हामी सचेत छैनौं । भारतीय बजारमा दैनिक उपभोग्य समान किन सस्तो मिल्छन् ? तिनै सामान बिल तिरेर बैधानिक तरिकाले खरिद गर्दा किन महंगो पर्छन् ? हामीले खरिद गरेर ल्याउने उपभोग्य बस्तुको गुणस्तरको पक्षमा ध्यान दिन जरुरी छ । अर्कोतर्फ हामीले यसरी सामान खरिद गरेर ल्याउँदा राजश्ज चुहावट भइरहेको हुन्छ । हामीले यहाँ दुःख गरेर कमाएको पैसा बिदेशीरहेको हुन्छ । त्यसबाट राज्यलाई कुनै लाभ मिल्दैन । हामीले भारतमा सामान खरिद गरेपछि त्यहाँको सरकारले न केही मूल्यांकन गर्छ । दैनिक नेपाली मुद्रा बिदेश पुग्ने मात्र हो । हाम्रा उपभोक्ताको भीड लागेको अवसर छोपेर भान्सार छली गर्ने समूहले लाभ लिइरहेका छन् ।
अहिले रुपन्देहीमा सबै सामान उपलब्ध छन् । ठूला डिपार्टमेन्टल स्टोर खुलेपछि मूल्यमा प्रतिष्पर्धा भइरहेको छ । तरकारीदेखि कपडासम्म हाम्रै उत्पादन बजारमा आइरहेका छन् । यस्तो बेला हामीले स्वदेशी उत्पादन खरिद गरेर लगानीको माहोल बनाउनुपर्छ । अर्कोतर्फ राज्यले जतिसुकै कडा रोक लगाए पनि हाम्रो भारतीय बजारमा गएर किनमेल गर्ने बानीमा सुधार आउने देखिँदैन । त्यसैले सिमापारिको किनमेल रोक्न हाम्रो मानसिकतामा परिवर्तन जरुरी छ । त्यसका लागि व्यावसायिक संघसंस्थाले बस्तुको मूल्य र गुणस्तरका बारेमा जनचेतना जगाउन जरुरी छ । अर्कोतर्फ राज्यले बजारमा अचाक्ली मूल्यबृद्धि नियन्त्रण गरि उपभोक्ताले स्वदेशमै सुपथ मूल्यमा सामान खरिद गर्ने वातावरण तयार गर्नुपर्छ ।








लेखकको सम्वन्धमा