December 10, 2024, Tuesday
२०८१ मंसिर २५

छहारी पाउनै मुस्किल

भैरहवा- सात–आठ बर्ष अघिसम्म भैरहवादेखि बेलहिया जाने राजमार्गको छेउमा ठूला रुख थिए । यसले हरियालीसँगै छहारी पनि दिएको थियो । अहिले राजमार्गको छेउमा स–साना विरुवा भए पनि ठूला रुख छैनन् । निर्माणाधिन छ लेनको सडक निर्माणका क्रममा सबै रुख काटिए ।

भैरहवा–लुम्बिनी सडकको हालत पनि उस्तै हो । भैरहवादेखि विमानस्थल जाने सडक खण्डमा सडकको दायाँबायाँ ठूला–ठूला रुख थिए । हरियाली थियो । हरियाली खोज्दै र शुद्ध अक्सिजन पाइने भन्दै बिहान र साँझ त्यस क्षेत्रमा वाकिङ जानेको ताँती लाग्थ्यो । तर अहिलेको अवस्था भने राजमार्ग क्षेत्र बुङबुङ्ती धुलो उडेर मरुभूमि जस्तो देखिन्छ ।

Advertisement

भैरहवा–बेलहिया छ लेनको सडक किनारामा बृक्षारोपण गरेर केही रुख हुर्किने क्रममा त छन् । तर ति रुख अभैm हुर्केर ठूला बृक्षामा रुपमान्तरण भएर पर्याप्त छहारी दिन सक्ने अवस्थामा छैनन् । अलिअलि छहारी दिन सक्ने बृक्षमुनि भाडा तिरेर व्यवसाय गर्न नसक्ने निम्न बर्गका व्यवसायीले आफ्नो गुजाराका लागि व्यवसाय गर्ने गरेका हुन्छन् । कि मोटरसाइकल, साइकल र गाडी समेत छायामा राख्ने गरेका छन् ।

राजमार्ग छेउमा मात्रै होइन, भैरहवाको भारतीय सिमावर्ती क्षेत्र मेउडिहवामा बाहेक मुख्य बजार क्षेत्रमैं रुख, बगैँचा र हरियाली पार्क केही छैनन् । सडक बिस्तार र बढ्दो शहरिकरणसँगै शहरको हरियाली उजाडिँदै गाएको छ । ‘पहिलाको भैरहवा रुख र खेतीपातीले जताततै हरियाली थियो अहिले उजाड छ’, २०२८ सालदेखि भैरहवालाई चिन्दै आएका स्थानीय व्यवसायी तथा प्रहरीटोल निवासी नारायण रिजाल भन्छन्, ‘आफैलाई छहारीमा उभिन पनि बृक्ष छैनन् ।’

नगरपालिकाको कार्यालयमा जाने हो भने, ‘स्वच्छ, सफा, हराभरा सिद्धार्थनगर’ लेखिएको नारा फाइल, राजश्व तिरेपछि पाइने बिल लगायतमा पाइन्छ । साथै हिजो उमेदवार बन्दा र आज निर्बाचित भएपछि बनेका सवै जनप्रतिनिधिको वोलीमा पनि । तर, व्यवहार र धरातलमा त्यस किसिमको कार्यशैली वा योजना अति न्युन परिमाणमात्र देख्न सकिन्छ ।

एशियाली विकास बैंकको लगानीमा सिद्धार्थनगर नगरपालिकामा निर्माण भएको शहरी विकास योजना अन्तर्गत नगरलाई हरियाली बनाउने भनेर अर्बौं रुपैयाँ खर्चियो । अर्बौं रुपैयाँको लगानीमा नगरमा कुन खालको हरियाली भयो त ? खोज्ने हो भने बडो उदेक लाग्दो छ ।

नगरका भित्रि सडकको किनारामा ड्रम भित्र केही माटो राखेर त्यसमाथि बाहिरबाट ल्याइएको स–साना बृक्ष लगाइयो । ति बृक्षले न हरियाली दिएका छन् । नत शितलता नै । उल्टो, उसै त नगरको मुख्य स्थानमा रहेका सांघुरो सडकमाथि यि बिरुवाका ड्रमले पैदल यात्रुलाइ हिँड्नमा पनि समस्या थपेका छन् ।

ति बिरुवामा वेलावेलामा मलजल गर्ने गरेको देखिँदैन । कतिपय स्थानमा करोडौं खर्चेर हरियालीका लागि देखाइएको यि बोट मरिसकेका छन् । कतिपय ठाउँमा सुक्न थालेका छन् । बिरुवा अलिकता बढेमा माथि रहेका बिद्युत र टोलिफोनका तारलाई असर पर्ने भएपछि अलिअलि हांगा लागेर झ्यांग्गिन थाल्यो की काटेर छांटिहाल्ने गरिन्छ । अनि कहाँबाट बढोस् बिरुवा ? कसरी बनोस् छहारी र शितल ।

भैरहवा र आसपासको क्षेत्र पहिला जमिन्दारको बसोवास हुने क्षेत्र हो । जमिन्दारको घर नजिक कम्पाउण्ड भित्र आँप, लिची, अम्बा जस्ता फलफूलको बगैँचा हुने गथ्र्यो । बाहिर जमिन प्रशस्त भएकाले आँप, पिपल, बरका रुख र ठाउँठाउँमा चौतारी हुन्थे । चौतारी बनाएमा धर्म हुने धार्मिक बिश्वासले बाटोको छेउमा चौतारी निर्माण हुन्थे । पहिला यातायाताका साधनको कम प्रयोगका कारण धेरै बटुवा तथा यात्रु पैदल हिँड्दा थकाई मार्न केही वेर सुस्ताउने गर्नाले त्यस्ता चौतारीको प्रयोग धेरै हुन्थ्यो ।

बढ्दो शहरिकरण र जनसंख्याको चापसंगै जमिनको अभावले त्यस्ता चौतारी र रुख मारिन थालेका छन् । माफिया र जग्गा दललालीको निशानामा ति चौचारा लगायतका सार्वजनिक जमिन पर्ने गरेका छन् । जमिनदारका जमिन पनि घडेरीमा बिक्री गरिनाले नीजि बगैँचा पनि छैनन् । जताततै जमिनको प्लटिङ्ग गरिनाले हरियाली कतै बचेको छैन । नत, नगरमा हरियाली बनाउने सोंच र योजना नगरपालिकाले नै ल्याएको छ ।

जमिनको प्लटिङ्ग गर्दा ठाउँठाउँमा बिद्यालय, पार्कका लागि सार्वजनिक स्थान छाड्नु पर्ने प्रावधान भए पनि अनुगमन र कार्यान्वयन गर्ने निकाय प्रभावहिन भएकाले जथाभावी र अव्यवस्थित ढंगबाट प्लटिङ्ग हुने गरेको छ । भैरहवाको तापक्रम कुनै कुनै बर्ष ४४–४५ डिग्रीको आसपास पुग्ने गर्छ । नगरमा बगैँचा, रुख र सार्वजनिक स्थलमा हरियाली पार्क नहुँदा सर्वसाधारण यात्रु र रिक्सा तथा अटोरिक्सा चालक लगायतका मजदुरलाई गर्मी र प्रचण्ड घामबाट जोगिन समस्या भएको छ ।

‘राजमार्ग किनारामा रहेका सवै रुख सडक बिस्तारसँगै काटिएपछि घामबाट जोगिन साह्रै समस्या भएको छ’, सप्तरी घर भई एक दशक अघिसम्म भैरहवामा रिक्सा र त्यसपछि अहिले अटोरिक्सा चलाउँदै आएका राम भजन यादवले भने, ‘धनि र हुनेखानेलाई घाम र गर्मीमा घर बाहिर ननिस्किए पनि पुग्छ तर हामी मजदुरलाई एक छिन शितल छहारीमा थकाई मार्न पनि स्थान छैन ।’

हुन त हालका नगरप्रमुख इश्तियाक अहमद खानले उमेदवार बन्दा र पछि निर्बाचित बनेपछि पहिलो प्राथमिकता भनेको नगरलाई हरियाली र सुन्दरीकरण गर्नु नै हो भनेका छन् । यसका लागि उनले घोषणा पनि गरे, ‘निर्बाचनमा जति मत ल्याएं, उति नै बृक्षारोपण गर्छु ।’ बृक्षारोपणको सुरुवात पनि दुई हप्ता अघि बेलहिया–भैरहवा बिचको छ लेनको सडक क्षेत्रमा भैसकेको छ । यो कदम स्वागत योग्य हो ।

तर, कतिपय स्थानमा भने मलजलको अभावले बृक्षारोपण गरिएको बिरुवा पंहेलिएर मर्न थालिसकेका छन् । बृक्षारोपण गरिएको स्थल बिरुवा मरेकाले खाली भैसकेका छन् । तीन–चार बर्षअघि भैरहवा–बुटवल छ लेनको सडक निर्माण सम्पन्न भएको दायाँबायाँ किनारामा बृक्षारोपण गर्ने लहर खुव चल्यो । बिभिन्न संघसंस्था, निजी संस्था, व्यक्तिगत लगायत सरकारी पक्षबाट पनि निकै तामझामका साथ बृक्षारोपण गरिए ।

बृक्षारोपण गरिएका स्थानमा आ–आफ्नो संस्थाको नामसहितको साइनबोर्ड गाडिए । फोटो खिचियो । फेसबुक लगायतका सामाजिक संजालमा ठूलो उपलब्धि गरिएको देखाउँदै पोष्ट्याइयो पनि । सवैले स्याबासी दिए । कतिपय स्थानमा त बृक्षारोपण गरिएका बिरुवा हुर्किए र हरियालीको रुप लिँदै छन् । तर कतिपय स्थानमा भने बृक्षारोपण गरेको दिनदेखि कसैले हेरेन । मलजल कसैले गरेन ।

बृक्षारोपण गरिएको बिरुवालाई मलजल गर्ने र हेरचाह गर्ने जिम्मेवारीबाट स्थानीय तहले पनि चासो देखाएनन् । परिणामतः बिरुवा मरे । साइनबोर्डमात्र झुण्डिइरहेका छन् । पछिल्लो समयमा बृक्षारोपणको लहर फेरि बढ्न थालेको छ । यो स्वागतयोग्य पक्ष हो । तर, बृक्षारोपण गरिएको बिरुवालाई हुर्काउने कुरा ठूलो हो ।

आफूले गरेको बिक्षारोपणलाई हुर्काउने जिम्मेवारी पनि सम्बन्धित पक्षबाट हुन जरुरी छ । आफ्नो नगर वा गाउँपालिका क्षेत्रमा गरिएका बृक्षारोपणको संरक्षण गर्नेतर्फ समबन्धित नगरप्रमुख लगायतका जनप्रतिनिधि, आम नगरवासी, नगरपालिका लगायत सवै सरोकारवाला निकायले पनि ध्यान दिनुपर्छ ।