September 30, 2022, Friday
१४ आश्विन २०७९, शुक्रबार

जिल्ला प्रशासनमा सेवाग्राहीको थेगिनसक्नु भिड

भैरहवा– कार्यालय समयमा भैरहवास्थित जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको परिसरमा पुग्ने हो भने थेगिनसक्नुको सेवाग्राहीको भिड देखिन्छ । बयस्क महिला, पुरुष, युवा–युवती, किशोर–किशोरी, बालबालिका र बृद्ध उमेर सबै समूहका सेवाग्राही यहाँ देखिन्छन् । सेवाग्राहीको लाइन छिचोलेर अघि बढ्न पनि धौ–धौ पर्छ ।

Advertisement

रुखमुनी होस्, चौतारामा । कार्यालयको भवन भित्र वा बाहिरी परिसरमा, जताततै भिड छ । मुद्दामामिला, निवेदन, विभिन्न कामका लागि डेलिगेशन, कर्मचारीसँग औपचारिक भेटघाट लगायतका कामका लागि जाने भिड पनि उत्तिकै छ । सेवाग्राहीको अत्याधिक चापले गर्दा प्रशासनका कतिपय शाखा तथा फाँटको ढोका बाहिर फलामे फाटक बनाएर चुक्कुल नै लगाउने गरेको पाइन्छ । अनि, सम्बन्धित फाँटका कर्मचारी साँझ ६ बजेसम्म पनि काम गरिरहेको भेटिन्छन् ।

आखिर किन यस्तो सेवाग्राहीको भिड त ? जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत बिष्णु ज्ञवाली भन्छन्, ‘अधिकांश भिड इ–पासपोर्ट बनाउने र नागरिकता बनाउने कामका लागि आउने सेवाग्राहीको हो ।’ बैदेशिक रोजगारीका लागि, अध्ययन, भ्रमणका लागि बिदेश जान खोज्नेले इ–पासपार्ट र राष्ट्रिय परिचयपत्र बनाउनका लागि नागरिकताको प्रतिलिपी लिने सेवाग्राहीको भिड बढेको उनले बताए ।

ज्ञवालीका अनुसार, पहिला भैरहवाबाट दैनिक सरदर ७० वटा र इलाका प्रशासन कार्यालय बु्टवलबाट ६० वटा जति पासपोर्ट बन्ने गथ्र्यो । अहिले जनशक्तिको कमीले गर्दा बुटवलबाट ५० वटा जती र भैरहवाबाट २ सय नाघ्ने गरेको छ । ‘तै पनि भिड घटेको छैन’, ज्ञवाली भन्छन्, ‘हामीले पासपोर्टका लागि फर्म भर्न पाएनौं भन्ने गुनासो छ ।’

अहिले पासपोर्ट बनाउनका लागि अनलाइन फर्म भर्ने गरिन्छ । २२ दिनका लागि ४ हजार कोटा खुल्ला गर्ने गरिन्छ । गत असार २४ देखि साउन १५ गतेसम्मका लागि खुल्ला गरिएको अनलाइन ४ हजारको कोटा ३ दिनमैं सकियो । पासकोर्ट बनाउनेको चाप कति रहेछ ? भन्ने कुरा यसैले प्रष्ट्याउँछ ।

भैरहवाबाट नागरिकता प्रतिलिपी लिनेको संख्या दैनिक २ सय माथि छ भने नयाँ लिनको संख्या १ सयमाथि । बैदेशिक रोजगारीका लागि पासपोर्ट बनाउनेको संख्या करिब ७० प्रतिशत, अध्ययनका लागि २०, आफ्ना सन्तान भेट्न जाने र भ्रमणका लागि १० प्रतिशत रहेको कर्मचारी बताउँछन् । पासपोर्ट बनाउनेमा महिला र पुरुषको संख्या बराबरी जस्तै छ ।

सेवाग्राहीको भिड व्यवस्थापन गर्न बिहान ९ बजे नै कर्मचारीको टोली कार्यालयमा आइ साँझ ६ बजेसम्म सेवा प्रदान गर्ने गरेको छन् । ‘दैनिक कोटा २ सयको छुट्याइएको छ । त्यो कोटा नसकिन्जेल काम गरिरहने हो’, ज्ञवालीले भने, ‘तर इन्टरनेटको सर्वर अति सुस्त चल्दा अनलाइन फर्म सीमित गर्नमा निकै समस्या छ ।’ प्रतिलिपी नागरिकताका लागि पनि बिहान ८ बजेदेखि १० बजेसम्म ५० जनाको तयार भइसक्ने गरेको छ ।