छोरीको विवाह सकेर फर्किंदै थिए नन्देश्वर, दुर्घटनामा छोरासँगै उनको पनि ज्यान गयो



भैरहवा– रुपन्देहीमा भएको यात्रुबाहक बस दुर्घटनामा एकै परिवारका पाँच जना परेका छन् । दुई जनाको मृत्यु भएको छ भने तीन जनाको उपचार भइरहेको छ । दुर्घटनामा अन्दाजी ५६ वर्षीया नन्देश्वर शर्मा र उनका छोरा ४० वर्षीया अरविन्द्रको मृत्यु भएको छ । अरविन्द्रको श्रीमती सीता, छोरी ५ वर्षीया संदीपा र छोरा ४ वर्षीया यश शर्मा घाइते भएका छन् ।
घाइते तीन जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये सीताको इमरजेन्सी कक्षको स्पेशल केयर युनिटमा उपचार भइरहेको छ भने संदीपा र यशको इमरजेन्सीको सामान्य कक्षमा उपचार भइरहेको मेडिकल कलेजका प्रशासन प्रमुख कमलप्रसाद ढकालले जानकारी दिए ।
उनीहरु पाँचै जना जनकपुरमा रहेको घरमा विवाहका लागि गएका थिए । नन्देश्वरीका चारमध्ये साइली छोरीको विवाह थियो । छोरीको विवाह सकेर छोराबुहारी र नातीनातिनासहित उनी बुटवलमा रहेको घरमा फर्कँदै थिए । उनीहरुको जनकपुरसँगै बुटवल उपमहानगरपालिका–६, टाइटन टोलस्थित सुकुम्बासी बस्तीमा पनि घर छ ।
नन्देश्वर र अरविन्द्रले काठ मिस्त्रीको काम गर्ने गरेको उनीहरुका आफन्त रञ्जु शर्माले बताइन् । ‘हामी पनि बिबाहमा गएका थियौं तर छिटो फर्कियौं । उहाँहरु केही दिनपछि आउँछौं भनेर बस्नुभएको थियो’, रञ्जुले भनिन्, ‘दुर्घटनामा उहाँहरुलाई गुमायौं । अब यी साना बालबच्चा सीताले कसरी हुर्काउने हुन् भन्ने चिन्ता थपिएको छ ।’
सीताको हात–खुट्टा, टाउकोमा चोट लागेको छ । उनको शरीरका अन्य भागमा पनि असर देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । संदीपाको कानबाट रगत आएको छ । अन्य खासै समस्या नदेखिए पनि पुलमाथिबाट बससँगै नदीमा खसेका कारण शरीरमा भित्री चोटपटक हुनसक्ने आफन्त रञ्जुले बताइन् । ‘नानीबाबु दुबैजनालाई अहिले त्यस्तो समस्या छैन, कुराकानी गरिरहेका छन्, उपचार भइरहेको छ’, उनले भनिन्, ‘केही समयमा फूलबडी चेकअप गर्ने कुरा छ । त्यसपछि विस्तृत थाहा होला ।’
बालक यशको शरीरमा कुनै घाउचोट छैन । हातमा एकदुई ठाउँ निलो डाम देखिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । चिकित्सकले आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताएको रञ्जुले जनाइन् । सीताले उपचार कक्षबाटै पटक–पटक श्रीमान् र छोराछोरीको अवस्थाबारे सोधिरहेकी छन् । उनले आफ्नोभन्दा परिवारका सदस्यलाई कस्तो छ भनेर बढी चिन्ता लिने गरेको रञ्जुले बताइन् । श्रीमान् र ससुराको मृत्युबारे सीतालाई अझैसम्म जानकारी दिइएको छैन । आफन्तहरुले संदीपा र यश तथा सीतालाई सम्हालिरहेका छन् ।
आइतबार बिहान पश्चिम नेपाल प्रालिको लु २ ख ३८४१ नम्बरको बस भैरहवा–परासी सडकखण्ड अन्तर्गत रोहिणी पुलटबाट नदीमा खसेको थियो । दुर्घटनामा अरविन्द्र, नन्देश्वरसहित ९ जनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् । घाइतेहरुको भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ ।








लेखकको सम्वन्धमा