April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

गौतम बुद्ध विमानस्थल आसपासमा चरा आकर्षित हुने अनुकुल बातावरणले जोखिम

भैरहवा- गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आसपासका क्षेत्रमा चरालाई आकर्षित हुने बातावरण र सामाग्री भएकाले विमानमा चरा ठोक्किने खतरा बढेको छ । विमानस्थलमा पछिल्लो पटक आइतवार राती जजिरा एयरलाइन्सको विमानमा चरा ठोक्किएको आंशका गरिएको छ ।

Advertisement

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन गर्दै आएको जजिरा एयरलाइन्सको एउटा विमान चरा ठोक्किएको आंशकामा आइतवार रातिदेखि नै भैरहवामा रोकिएको छ ।

Advertisement

विमान अवतरण गर्ने क्रममा चरा ठोक्किएको पाइलटले बताउनु र विमानको अगाडिको भाग नोजमा र इन्जिन बाहिरको कभरमा रगतको टाटा देखिनुले विमानमा चरा ठोक्किएको हुन सक्ने सम्भावना धेरै छ । तथापी ठेक्किएको चराको अवशेष फेला नपर्नुले अहिल्यै नै चरा ठोक्किएको भने प्रमाणित भैसकेको छैन ।

विमानस्थलका निमित्त महाप्रबन्धक तथा प्रबक्ता श्याम किशोर साहले कतारबाट नियमित उडान तालिका अनुरुप उडान भरेर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा बिमानमा चरा ठोक्किएको विमानका चालकले बताएको जनाए ।

तत्काल विमानको चेकजाच गर्दा जहाजको अगाडि नोजमा र इन्जिन बाहिरको कभरमा रगतको टाटा देखिनाले विमानमा चरा ठोक्किएको हुन सक्ने सम्भावना रहेको उनले बताए । तर, ठोक्किएको चराको अवशेष भने कतै पनि फेला नपरेकाले चरा बिमानको इञ्जिन भित्र पसेको हुन सक्ने शंका उत्पन्न भएको छ । बिमानको प्राविधिक चेकजांच गर्नका लागि बिमान रोकिएको उनले बताए ।

बिमानको चेकजाचकाललागि काठमाडौंबाट प्राबिधिक आउने र सवै चेकजांच गरेर बिमान सुरक्षित रहेको प्रमाणित भएपछि मात्र बल्ल उडान हुने छ । जजिरा एयरलाइन्सको एयरवस ३२० उक्त बिमान १ सय २१ जना यात्रु लिएर आइतवार राती २ बजे भैरहवामा अवतरण गरेको थियो । साढे २ बजे राती नै फिर्ता उडान समय थियो । ३८ जना यात्रु कतार जाने थिए ।

साहका अनुसार, विमानस्थलको क्षेत्र धेरै ठूलो हुने भएकाले चराचुरुङ्गी र बन्यजन्तुको खतरा जहाँ पनि हुने गर्छ । तथापी भैरहवामा बिमानस्थलको पश्चिमतर्फ तिनाउ नदी, उत्तरतर्फ घाघरा र दक्षिणतर्फ केही तालहरु रहेकाले चराहरुलाई आकर्षित हुने अनुकुल बातावरण छन् ।

‘बिमानस्थल आसपास सिमसार क्षेत्र बनेकाले चरालाई आकर्षित गराएको छ’, साहले भने, ‘कतिपय संरक्षित चरा पनि बिमानस्थल आसपासमा चर्नका लागि आउने गर्छन् ।’ बन्यजन्तु र चराचुरुंगीको जोखिम बिमानस्थलमा कम गर्नका लागि विमानस्थलमा बेलाबेलामा साइरन बजाउने, पटका जस्तो आवाज आउने यन्त्रको प्रयोग गर्ने, विमानस्थल परिसरमा पेट्रोलिङ गस्ती गर्ने र तारवार गर्ने नै उपाय भएको उनले जनाए ।

चराचुरुंगी धपाउने उपकरण विमानस्थलमा केही परिमाणमा भए पनि थपिने क्रममा रहेको उनले बताए । नदीनाला र ताल बाहेक विमानस्थलको नजिकका बस्तीहरुमा पशु बधशाला र मासु पसल संचालनमा छन् । जसका कारण चराको आगमन बिमानस्थल क्षेत्रमा हुने गर्छ । पशु बधसाला र मासु पसललाई व्यवस्थित गर्न जरुरी देखिएको छ । विमानस्थलमा यसअघि बुद्ध यएरको जहाजमा पनि चरा ठोक्किएको थियो ।