November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

जसले देवदह बनाउने अठोट बोकेका छन्

देवदह– यतिबेला दलहरु उम्मेदवारसहित जनताका घरदैलोमा भोट माग्न व्यस्त छन् । स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा दल र उम्मेदवारहरुले प्रचारात्मक काम र मतदाता भेटघाटलाई तीव्रता दिएका हुन् । यही चुनावी माहोलमा देवदह नगरपालिका–४ निवासी ३० वर्षका युवा छवी मेयरका उम्मेदवार छन् । भट्टराई देवदह नगरपालिकाको मेयर पदका लागि घरदैलोमा व्यस्त छन् ।

Advertisement

उनले घरदैलो अभियानमा जनताको साथ र सहयोग प्राप्त गरेको बताएका छन् । हरेक वडाहरुमा जाँदा मतदाताहरुले नयाँ पुस्ता राजनीतिमा आउनु र राजनीति भन्दा पनि सक्षम व्यक्तिलाई जिताउनु पर्ने अभिमत पाएको उनले सुनाए । घरदैलोमा पुग्दा पाँच वर्षसम्म स्थानीय सरकारले आफ्ना टोलका समस्याहरु हल गर्न नसकेको र विकास निर्माणका गति अगाडि नबढेकाले अब नयाँ पुस्तालाई मत दिन आफूहरु आतुर रहेको प्रतिक्रिया पाएको उनको भनाई छ ।

Advertisement

घरदैलोमा व्यस्त रहेका भट्टराईले देवदहको विकासका लागि सधैं प्रतिवद्ध रहेको बताए । उनले गौतमबुद्धको ऐतिहासिक मावली गाउँ देवदह भएकाले यसको पर्यटकीय विकास र प्रवद्धर्नका लागि प्रयत्नशील रहने बताए । त्यसो त सोमबार नेकपा (एकीकृत समाजवादी) देवदहका नगर प्रमुख पदका उम्मेदवार भट्टराईले ६८ बँुदे घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

घोषणा पत्रमा तत्कालीन, मध्यकालीन र दीर्घकालिन गरी तीन चरणको योजना प्रस्तुत गर्दै भट्टराईले देवदहलाई पार्कहरूको शहर बनाउनेदेखि आफ्नो टोल आफै बनाउनेसम्मका योजना अघि सारेका छन् । मतदाताहरुको अमूल्य मतले आफू विजयी भएमा शिक्षा, कृषि, स्वास्थ्य, खेलकुद, उद्योग, पूर्वाधार, पर्यटन र शान्ति सु–व्यवस्थालगायतका जनतामुखी महत्वपूर्ण कार्यहरु गर्ने योजना उल्लेख गर्दै सार्वजनीक गरेका छन् ।

घोषणा पत्रमा पर्यटनतर्फ थिम पार्कको अवधारणा अनुसार देवदहलाई पार्कको शहर बनाउने, पार्कहरूमा रोजगारी सिर्जना गर्ने लगायतका बुँदाहरू समावेश भएका छन् । देवदहमा २ हजार जना अट्ने कोलिय सभागृह बनाउने, प्राकृतिक स्रोतसाधनको अनियन्त्रित दोहनलाई रोक्ने लगायतका योजना घोषणा पत्रमा छन् ।

त्यसैगरी शिक्षातर्फ १ सय ५० बढी विद्यार्थी रहेका विद्यालयहरुमा नर्स राख्ने, देवदह आदर्श बहुमुखी क्याम्पसमा स्नातकोत्तर सुरु गर्ने, सामुदायिक र निजी शिक्षण संस्थामा कार्यरत शिक्षकको न्यूनतम पारिश्रमिक तोक्नेलगायतका महत्वपूर्ण कार्यक्रम छन् ।

त्यस्तैगरी कृषितर्फ, सिंचाइको व्यवस्था, गाईभैंसी सुत्केरी भत्ता लगायतका योजना अगाडि सारेको समाजवादीले स्वास्थ्य तर्फ ६–६ महिनामा ६० वर्षमाथिका जेष्ठ नागरिकको सम्बन्धित टोलमै पुगेर स्वास्थ्य जाँचलगायतका कार्यक्रमहरु अघि बढाउने उल्लेख गरेको छ ।

देवदहको उपमेयरका लागि नेकपा (एकीकृत समाजवादी)बाट सरस्वती पोखरेल उम्मेदवार रहेकी छिन् । छवी भट्टराईका प्रतिस्पर्धीहरु नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार हिरा बहादुर केसी र एमालेबाट धु्रब खरेल मैदानमा उत्रिएका छन् ।

को हुन् भट्टराई ?
नेकपा एकीकृत समाजवादीकातर्फबाट यही बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि देवदह नगरपालिकाका वडा नं. ४ निवासी ३० वर्षे युवा छवी भट्टराईले देवदहको मेयर पदका लागि चुनावी मैदानमा उत्रिएका छन् ।

देवदहमा रहेर ८ वर्षदेखि राजनीति गरी स्थानीय जनताको सेवा गर्दै आएका भट्टराई एक शालिन र इमान्दार युवा नेताका रुपमा सुपरिचित मानिन्छन् । उनी त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक गरेका भट्टराई कानुन व्यवसायी समेत हुन् । पार्टीको देवदह नगर सचिव, अनेरास्ववियु लुम्बिनी प्रदेश उपाध्यक्ष भई रुपन्देही जिल्ला कमिटीको अध्यक्षमा जिम्मेवारी सम्हाल्दै आएका छन् ।

उनी एमालेले गरेको संसद विघटनपछि एमाले परित्याग गरी समानान्तर कमिटी निर्माण गरी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका थिए । उनले देवदहको सुशासन अन्तर्गत २ सय शब्दको केश स्टडी गरी देवदह नगरपालिका र त्रिभुवन विश्वविद्यालयमा पठाइसकेका छन् ।