December 12, 2024, Thursday
२०८१ मंसिर २७

मतदाताको दैलोमा उम्मेदवार

भैरहवा– स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका दलहरुले घरदैलो सुरु गरेका छन् । घर–घर पुगेर मतदातालाई उम्मेदवारहरुले मत मागिरहेका छन् । पूराना अनुहार दोहोरिएकाले आफूले पाँच वर्षमा गरेका कामको फेहरिस्त सुनाउँदै बाँकी काम गर्न मत दिन आग्रह गरिरहेका छन् ।

अन्य उम्मेदवार आफ्ना एजेन्डा प्रस्तुत गर्दै मतदातालाई आफूतिर तान्ने कोसिस गरिरहेका छन् । ‘मेरो कार्यकालमा गाउँपालिकाले हरेक क्षेत्रमा समानुपातिक विकास गर्यो, केही कामको जग बसाल्यौं, केही अधुरा काम पूरा गर्न पनि फेरि मत दिन आग्रह गरेको छु’, मायादेवी गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं काँग्रेसबाट पालिका अध्यक्षका उम्मेदवार धुव्रनारायण चौधरीले भने, ‘फेरि एकपल्ट गाउँबासीले मलाई विश्वास गर्नुहुन्छ भन्ने मलाई लागेको छ ।’

Advertisement

उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार, लक्षित समुदायका क्षेत्रमा आफूले गरेका कामकाबारे स्थानीयलाई बुझाउँदै र अब गर्ने कामकाबारे जानकारी दिँदै मत मागिरहेका छन् । सिद्धार्थनगर नगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार डा.रामप्रसाद बश्यालले एमालेले नगरको नेतृत्व गर्दा पाँच वर्षमा प्रतिबद्धता गरेका ९० प्रतिशत काम पूरा गरेकाले अब पनि नगरबासीले नेतृत्व दिनेमा आफू विश्वस्त रहेको बताए । २०७४ को निर्वाचनमा यहाँ एमालेले जितेको थियो ।

‘अघिल्लोपल्ट ६५ बुँदे प्रतिबद्धतासहित हामी चुनावी मैदानमा होमिएका थियौं’, उनले भने, ‘यसमध्ये ५५ बुँदा पूरा गरेका छौं, यो भनेको एमाले जे बोल्छ, त्यो गर्छ भन्ने नै हो ।’ उनले विकासले मात्रै नहुने भन्दै आमनागरिकको असल चरित्र निर्माणमा पनि आफूले भूमिका खेल्ने बताए । ‘जीवनको उतराद्र्धसम्म मैले यही नगरमा रहेर समाज सेवा गरेँ’, उनले भने, ‘मेरो व्यक्तिगत जीवनमा केही गर्नुछैन । जति समय रहन्छु, नगरको विकास गर्छु, सुशासन कायम गर्छु र नागरिकलाई असल बनाउने प्रयास गर्छु ।’

रुपन्देहीका १६ वटै पालिकाका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यका उम्मेदवारहरु अहिले घरदैलोमा छन् । स्वतन्त्ररुपमा उम्मेदवारी दिएकाहरु पनि मतदाताको दैलोमा मत माग्दै पुगिरहेका छन् । रुपन्देहीका पालिकामा मुख्यगरी राष्ट्रिय दलहरुबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । अहिले दलहरु मतदाता रिझाउन व्यस्त छन् ।

प्रत्येक वडामा पार्टीपिच्छे प्रचार तथा सम्पर्क कार्यालय खोलिसकेका छन् । केही साना दलले यसअघि नै घरदैलो सुरु गरे पनि ठूला दलले भने उम्मेदवारी दर्ता पछि मात्रै सुरु गरेका हुन् । गल्लीपिच्छे पार्टीका गीतहरु घन्किरहेका छन् । दलका उम्मेदवार र कार्यकर्ताहरु नाच्दै गाउँदै मत प्रभावित पार्ने कोसिस गरिरहेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार रुपन्देहीमा सबै पदमा गरी ५ हजार ७४ जनाको उम्मेदवारी परेको छ । यीमध्येबाट सबै पदमा गरी ८ सय ७ जना निर्वाचित हुने छन् । बैशाख ३० गते हुने निर्वाचनबाट जिल्लाका १६ पालिकामा एक/एक जना प्रमुख/अध्यक्ष, एक/एक जना उपप्रमुख/उपाध्यक्ष र १ सय ५५ जना वडाध्यक्ष चयन हुनेछन् । यस्तै, १ सय ५५ वडामा ६ सय २० जना वडा सदस्य निर्वाचित हुनेछन् ।

निर्वाचन कार्यालयकाअनुसार १६ पालिकाको प्रमुख÷अध्यक्षमा २ सय १६ जनाको उम्मेदवारी परेको छ । यस्तै, उपप्रमुख÷उपाध्यक्षमा १ सय ७२ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी फिर्ताको समय अझै बाँकी रहेकाले उम्मेदवारको संख्या भने घट्न सक्ने बताइएको छ । जिल्लामा ६ लाख ३२ हजार ३६० मतदाता छन् । यसमा पुरुष ३ लाख २३ हजार ७७८, महिला ८ लाख ८ हजार ५७४ र अन्य ८ जना मतदाता छन् । जिल्लामा २०८ मतदान स्थल छन् भने ७०० सय मतदान केन्द्र छन् ।