May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

अबको साहित्य तथा कला कता ?

हजारौँ वर्षको अन्तरालपछि देशमा ठूलै परिवर्तन आएको छ । विगतको राजनीतिक द्वन्द्वको परिस्थितिमा बसेर यस क्षेत्रमा जे गर्नुपर्थ्यो, जसरी हुनुपर्थ्यो, सत्ताको डंकनको कारणले गाह्रो थियो ।

Advertisement

अबको खुलेको परिवेशमा लेखनका विषयहरूले कायापलट गरिसकेको अवस्था छ । जस्तै : हिजो जुन विषयलाई साम्प्रदायिक मानिन्थ्यो वा उग्रवादी वा अराजक मानिन्थ्यो, आज त्यो विषय साहित्यकारहरूका लागि समावेशी वा लोकतान्त्रिक वा क्रान्तिकारी अभिष्ट बन्न पुगेको छ ।

Advertisement

यो नयाँ परिस्थितिमा बहुधा साहित्यकर्मीहरूलाई अगाडि बढ्न हिजोको त्यो मानसमा भएको कुसंस्कारलाई आफैँभित्र अस्वीकारेर नयाँ विषयमा आफूलाई ढाल्नु चुनौती बनेको छ ।

वास्तवमा सहित्यकारहरू क्रान्तिको अग्रदूत हुनुपर्दथ्यो । तर, हिजो हाम्रा बहुधा साहित्यकारहरू पूर्ववत् मान्यताका भाटगिरीमै मस्त भई जनताभन्दा धेरै पछि परेका थिए ।

अबको परिस्थितिमा त्यो पूर्ववत् साधनाले काम गर्दै छैन । त्यसैले त्यस्ता पछौटे साहित्यकारहरूलाई या त त्यसैमा ढालिनपर्यो या त लेखनधर्म नै छाड्नपर्यो ।

जो लेख्छु नै भन्दै छन्, ती सबै यसैतर्फ साधनारत हुनैपर्ने अवस्था छ । उनीहरूका लागि निक्कै गाह्रो स्थिति छ । अर्काखाले क्रान्तिकारी साहित्यकर्मीहरूमा भने परिवर्तनका आभास प्रचुर छन् ।

तर, उनीहरूको पखेटा पनि युगौँको पिँजडामा बन्दी रहेका कारणले कुँजिएका छन् । मुक्त आकाश भेट्दा पनि र आफूमा जोस, रौस र शक्ति हुँदाहुँदै पनि उन्मुक्त भएर उड्न कुँज्याइको कारणबाट अशक्त भइरहेको स्थिति छ ।

गणतन्त्र आउँदैमा लोकतन्त्र बहाली भइसकेको छ भन्न कदाचित मिल्दैन । कैयौँ गणतान्त्रिक देशमा प्रजातन्त्र कुँजिएर रहेका उदाहरणहरू हाम्रासामु छन् ।

समाजमा लोकतन्त्र तब बहाली भएको हुन्छ, जब बौद्धिक, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, जैविक, लैंगिक र भौगोलिक सुगमताले पुष्ट वर्गबाट शोषितशासित दलित र अस्वीकृत वर्गले सही मानेमा समान रूपले बाँच्ने मौकाहरू प्राप्त गर्दछन् ।

त्यो त्यति बेला सम्भव हुन्छ, जुन बेला क्रान्तिबाट सफल भएका वर्गले तँछाड मछाड त्यागेर समानताको आधारमा अगाडि बढ्न सुरु गर्दछ ।

तर, मान्छे भन्ने जात अति नै स्वार्थी हुन्छ । ऊ सत्तामा पुग्नेबित्तिकै उसका सबै आदर्शहरूले हावा खान्छन् । यस्तै अवस्थामा साहित्यले अग्रगामी भएर अहम् भूमिका खेल्नुपर्ने हो ।

हाम्रो साहित्यमा भएको विडम्बना नै यही हो कि त्यो जीविकोपार्जनको लागि समयसापेक्ष हुन संघर्षरत हुन्छ । सामयसापेक्षता नै हाम्रो साहित्यको अभीष्ट रहिआएको छ र अब हुने पनि त्यही देख्दछु ।

समयसापेक्षता मात्र भाटगिरी हो । त्यो यथास्थितिवादिता हो । अप्रगतिशीलता हो । हिजो हाम्रो देशमा साहित्य मात्र होइन, राजनीति पनि जनताभन्दा पछि थिए ।

जनताभन्दा पछि पर्ने राजनीतिले अब हावा खाइसकेको स्थिति छ । हाम्रो साहित्य जनता त के राजनीतिभन्दा पनि पछि परेकाले त्यसको हालत अझ निकृष्टतम थियो । र, अझै त्यही हुने देख्दछु ।

साहित्य अग्रगामी हुनुपर्छ । समयसापेक्ष होइन । साहित्यले समयलाई आफ्ना अग्रगामी प्रगतिशीलतासापेक्ष बनाउनुपर्छ । सत्तामा विराजमान राजनीतिक शक्तिलाई तत्काल छाडेर राजनीतिलाई नै पथ निर्देशन दिन लाग्नुपर्दछ ।

प्रतिगमन शक्तिलाई नामेट गर्ने काममा सघाउँदै बाँकी कार्यहरूमा प्रतिपक्षीको भूमिकामा होमिनुपर्छ । हरेक समय सकारात्मक खबरदारी गरिरहेको हुनुपर्छ । यो भुल्नु हुन्न कि सत्ता सदा दमनकारी नै हुन्छ ।

मैले भन्न खोजेको हो, उनै क्रान्तिकारी शक्ति नै सत्ताको मोहमा पछि गएर व्यवधान हुन जान्छन् । निरंकुश बन्न सक्छन् । बुद्धिको खेती गर्नेहरू जबसम्म सत्ताको मोहमा हुन्नन् र प्रतिपक्षमा रहेर खबरदारी गर्दै रहन्छन्, तबसम्म हरेक क्रान्तिले बढीमा बढी लोकतन्त्रको उचाइ हासिल गरिरहेको हुन्छ ।

प्रगतिशीलकर्मीहरूको लागि क्रान्ति कहिल्यै टुंगिँदैन । कहीँँ कुनै पनि जीव निर्जीव प्रघटनामा प्रगतिको लागि सीमा हुन्न । यही कुरा रंगकर्मीहरूलाई पनि लागु हुन्छ । तर, दायित्वकै कुरा गर्ने हो भने रंगकर्मी वा चलचित्रकर्मीहरू समेतको संस्कृतिकर्मीमा त्यो दायित्व बढी घनीभूत छ ।

साहित्य भनेको बौद्धिक समुदायमा जाने एउटा विधा हो । तर, चलचित्र वा रंगमञ्च भनेको सबै तहका, सबै उमेरका, सबै लिंगका जनसमुदायमा प्रत्यक्ष जाने कुरा हुन् ।

साहित्यमा भएका सानातिना गल्तीहरू बौद्धिक समुदायले यसै पचाउँछन् । तर, रंगमञ्च वा चलचित्रमा भएका ससाना गल्तीले विषकै काम गर्न सक्छ । त्यसैले यस क्षेत्रका कर्मीहरूका संवेदनशीलता र दायित्वबोध निकै गम्भीर हुनुपर्छ ।

साहित्यकर्मी, रंगकर्मी एवम् चलचित्रकर्मीहरूले अहिलेको आवश्यकतालाई प्राथमितकता दिई जनतालाई सुसूचित गर्ने र अग्रगमनको बाटो निर्देश गर्नुपर्छ ।

यी विधाहरूमा अग्रगमनको शत्रुको मित्रको परिवर्तित स्थिति के र अबका दिशा के, बाटोहरू के र गन्तव्य के ? यी सबैको स्पष्ट निर्देशन हुनु जरुरी छ ।

समाजमा मैले आर्थिक हिसाबको वर्गीकरणलाई मात्र होइन, राजनीतिक हिसाबको वर्गीकरणको पनि धेरै पहिलेदेखि कुरा गर्दै आएको छु, ती हुन् शासक र शासित वर्ग ।

हामी सबैले देखेका छौँ, आर्थिक वर्गनाश भएको देश चीन र सोभियत रुसमा शासक र शासित वर्गको उदय भयो र त्यहाँ अर्कोखाले शासक र शासित वर्गबीच संघर्ष भयो ।

त्यसकारण मैले अस्वीकृत विचार साहित्यिक आन्दोलनमार्फत जसरी शोषित वर्गको वकालत गर्दै आएको छु, सँगै उत्तिकै जोडले शासित वर्गको पनि गर्दै आएको छु ।

यस वैचारिक लडाइँमा मैले धेरैबाट अराजकतावादी भन्ने गाली पनि खाँदै आएको छु । तर, आज आएर मेरै देशमा मेरो त्यो उठानको अर्थ लाग्दै गरेको पाएको छु ।

यो हिमवतखण्डका सम्पूर्ण जनजाति आदिवासी अनि दलितहरू हजारौँ वर्षदेखि आफ्नै भूमिमा शासित हुँदै आएका थिए र आज भर्खर एउटा क्रान्तिपछि उनै शासितहरूलाई स्थापना गर्न समावेशी अवधारणाहरू आइरहेका छन् ।

यहाँ आएर जुन हदमा आर्थिक समानताका लागि संग्राम भइरहेछ, त्योभन्दा माथि आएर शासित वर्गको स्थापनामा बढी यो संक्रमणकाल संघर्षशील भइरहेको यथार्थ छ ।

वर्तमान परिवर्तित परिस्थितिमा सिंगो समाजलाई साहित्य–कलामार्फत कसरी अग्रगामी बनाउन सकिन्छ भन्ने एउटा प्रश्न उब्जिन्छ । यो स्पष्ट छ, नेपाली विश्वविद्यालयहरूले अहिलेसम्म उत्पादन गरेका संस्कृतमुखी साहित्यकार र उनैद्वारा उत्पादित साहित्यिक अध्यापकहरूले त्यो गर्दैनन् ।

हजारौँ वर्ष पुराना जीर्ण मान्यतामुखी पाठ्यपुस्तकका यी उत्पादनबाट त्यो कदाचित हुनेवाला छैन । सत्तामा बस्ने दलहरूलाई सन्देश यो दिन सकिन्छ कि अहिलेको परिवर्तित मूल्यअनुरूपका अग्रगामी पाठ्यपुस्तकहरूका निर्माण र त्यसै साथ नयाँ पिँढीलाई यसतर्फ अग्रसर बनाउनुपर्छ ।

साथै, नयाँ नेपालका प्रगतिशील क्रान्तिकारी कलाकर्मीहरू तथा साहित्यिकारहरूमा अरूको पनि सुन्ने धैर्यता र खुलापन हुनुपर्ने मैले देखेको छु ।

अबको साहित्य तथा कला शोषितमुुखी मात्रै होइन, शासितमुखी पनि बनेको हुनुपर्छ । आजको भाषामा भन्ने हो भने शासितहरू समेतको समावेशी साहित्य हुनुपर्छ । शोषितका साथै शासितहरूको मुक्ति पनि साहित्यको अभीष्ट रहनुपर्छ ।

छोटोमा भन्नु यही छ कि कुनै पनि प्रगतिशील संघर्षको अन्त्य कदाचित हुन्न । समाजमा प्रगतिशील संघर्ष सकारात्मक परिवर्तनको लागि एक नभई नहुने माध्यम हो । त्यसैले समाजमा संघर्ष एउटा शाश्वत परिघटना हो । त्यो थियो छ र सदा रहनेछ ।

जब समाजमा संघर्ष सिद्धियो भनिन्छ, त्यहाँ नै प्रगतिको क्रम अवरुद्ध भयो भन्ने जाने हुन्छ । हरेक समाजमा घट्ने यही हो कि हर राजनीतिकर्मीहरू आफ्नो दुनो सोझिनासाथ थप संघर्षप्रति निरुत्साहित हुन्छन् ।

अझ भन्ने नै हो भने उसको दुनो गुम्ने डरमा प्रगतिशील संघर्षलाई निरुत्साहित गर्न लाग्दछ । या त उनीहरू संघर्षशीलतालाई किनेर भाटगिरीमा परिणत गराउन लाग्छन् या असामाजिक तत्वको रूपमा अस्वीकार गर्दै त्यसैमाथि दमन सुरु गर्दछन् ।

सही साहित्यकर्मी तथा कलाकर्मी कदाचित भाट रहन सक्दैन । हरेक विसंगतिविरुद्ध उनको चेत जागरुक रहेको हुन्छ । कतै ऊ रोकिन्न । कतै ऊ बिक्दैन । कतै ऊ भुल्दैन । रोकिनु, बिकिनु वा भुल्नु उसको मृत्यु हो भन्ने ऊ बुझ्दछ ।

ऊ सदा संघर्षशील खबरदारी र विद्रोहमा जीवन्त भइरहन्छ । आकाश खस्छ भने पनि ऊ विचलित हुन्न । ऊ भाट रहन सक्दैन । अबको खुलापनको बिमा उसैको हतमा छ । स्वतन्त्र समाज निर्माणको लागि निर्देशको जिम्मा उसैमा छ ।

(समकालीन साहित्य डटकम/जुलाई ९, २००८) baahrakhari