November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

यस्तालाई कसले सिकाउने ‘अनुशासन’ ?

भैरहवा– अनुशासन मानिसले मात्रै होइन्, प्रकृतिलेसमेत पालन गरेको पाइन्छ । त्यसैलेत मानिसलाई भन्ने गरिन्छ– अनुशासन पालना गर, अनुशासनमा बस । हावा, बादल, पहाड, आगो, रुख आदि सबै आ–आफ्ना नियमअनुसार चलेका हुन्छन् ।

Advertisement

विशाल समुन्द्र पनि आफ्नो निश्चित सीमामा अडेको हुन्छ । गर्मी र जाडो मौसम पनि नियमअनुसार नै आउँछन् । पृथ्वीले एक निश्चित गतिमा सूर्यको परिक्रमा गरिरहेको हुन्छ र यसै आधारमा दिन र रातको प्रक्रिया चल्छ । प्रकृतिकै एउटा सिर्जना मानिसमा भने एउटै गुण पाइँदैन ।

Advertisement

हामीकहाँ एउटा सामान्य अनुशासन पालना गर्न पनि कठिन मानिन्छ । उदाहरणस्वरुप यहाँ हामीले एउटा तस्बीरलाई अनुशासनसँग जोडेका छौं । तस्बीरमा देखिएका व्यक्तिप्रति लक्षितभन्दा पनि यसले सम्रग नागरिकमा एउटा सन्देश जाओस् भन्ने चाहना हो ।

दृश्यमा देखिएको तस्बीर सिद्धार्थनगर–७ नयाँसडक (भाटभटेनी र जनकपथको बीचभाग)को हो । सर्वसाधरणलाई सडक वारपार गर्न सहज होस् भनेर राजमार्गमा ‘जेब्रा क्रस’ बनाइएको छ ।

राजमार्गमा बाक्लो गाडी चल्छन् । जसकारण यहाँबाट सानाठुला सवारीलाई बाटो काट्न रोक लगाइएको छ । पैदलयात्रीलाई दिइन्छ । तर, धेरै साना सवारी छिर्न नसक्ने ठाउँमासमेत उचालेर भए पनि बाटो कटाउने गरेका छन् । खासगरी बढी मात्रामा मोटरसाइकल चालकले यस्तो काम गर्ने गरेको देखिन्छ ।

यसले उनीहरुमा अनुशासन छैन भन्ने पुष्टि गर्छ नै, सामान्य ट्राफिक नियमको जानकारीसमेत नरहेको प्रष्ट हुन्छ । हरेक ठाउँमा प्रहरी नै खटिएको देखेपछि मात्र अनुशासन र ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने हुँदैन । त्यसैले सवारीसाधन वारपार गर्न नमिल्ने ठाउँमा केही न केही संकेत राखिएको हुन्छ, त्यो नभए सानो भए नी अवरोध गर्न खोजिएको हुन्छ । तर, शिक्षित वर्ग होस् वा जुनसुकै यसको पूर्ण बेवास्ता हुन्छ । यस्तालाई अनुशासन कसले सिकाउने ?