December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

दसैं मान्न घर फर्कने परदेशीको लर्को

भैरहवा– रोजगारीका लागि भारतका विभिन्न ठाउँमा पुगेका नेपालीहरु दसैं मनाउन घर फर्कन थालेका छन् । अहिले नेपाल–भारत दुबै देशमा कोरोना भाइरस संक्रमण केही घटेको छ । कोरोना संक्रमणको जोखिमको बाबजुत भारतमा रोजगारी गरी नेपालीहरु घर फर्किरहेका छन् । रुपन्देहीको बेलहिया नाकामा पर्व मान्न फर्किने नेपालीहरुको चहलपहल हप्ता दिनयतादेखि नै सुरु भइसकेको छ ।

Advertisement

‘दैनिक दुई सय भन्दा बढी नेपालीहरु स्वदेश फर्किरहनुभएको छ । यो संख्या दसैं झन बढ्दो छ’, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भने, ‘लामो समय रोजगारी गरेपछि चाडपर्व आफन्तसँग मनाउन कोरोना संक्रमणबीच पनि घर फर्कने नेपालीहरु बढेका छन् ।’

नजिकिँदै गरेका दसैं, तिहार लगायत चाडबाड मान्न भारतका विभिन्न सहरमा रोजगारी गरी नेपालीहरु स्वदेश फर्किएका हुन् । कोरोना त्रासबीच पनि चाडबाड मान्न बेलहिया नाकाबाट नेपाल भित्रिने नेपालीको संख्या उल्लेख्य मात्रामा छ । भारतको कानपुरमा रहेको होटलमा चौकीदारी काम गरेर फर्किएका गुल्मी नयाँगाउँका खगबहादुर नेपालीले एक वर्षपछि बल्ल दसैं मान्न घर फर्किएको बताए ।

‘कोरोनामा पनि रातदिन खटेर काम गरेँ, अहिले अली कम भएको छ’, उनले भने, ‘दसैं आयो भएको दुईचार हजार रुपैयाँ जम्मा गरेर फर्किएको छु । अघिल्लो वर्ष दसैं लगायत चाड संक्रमणका डरले अली खल्लो भयो । यसपल्ट महामारी घटेको छ । अली रमाइलो होला ।’ उनले भारतबाट बेलहियासम्म सहजरुपमा आए पनि नेपाल आएपछि यातायात लगायतको सुविधा राम्रो नभएको र भौतिक दूरीको बेवास्ता गरिएको गुनासो गरे । ‘नाकामा सवारी चढाउन यात्रुलाई खोसाखोस गर्ने गरेको पाइयो, यसो गर्नु हुँदैन, स्वेच्छाले सवारी चढ्ने व्यवस्था मिलाउनुपर्छ’, उनले भने ।

भारतको जम्मु काश्मिरबाट फर्किएका लम्जुङ सुन्दर बजारका भरतबहादुर थापाले नेपालमा भौतिक दूरी लगायत स्वास्थ्यका मापदण्ड पालन नगरिएको गुनासो गरे । एक वर्ष रोजगारी गरी दसैं मान्नका लागि घर फर्किएको उनले बताए ।

उनीहरुजस्तै भारतमा रोजगारी गरी फर्कने नेपालीले सीमा क्षेत्रमा सास्ती खेप्ने गरेको गुनासो गरेका छन् । कतिपयले फर्कने क्रममा भारतीय भूमिमा समेत समस्या भएको बताएका छन् । सीमा क्षेत्रमा भौतिक दूरी, यातायातको राम्रो व्यवस्था नहुँदा र भीडभाड हुँदा कोरोना झन फैलने त्रास बढेको घर फर्कन नेपालीको भनाई छ । प्रशासनले भने नेपाल भित्रिनेको तथ्यांक राखिएको, सामान्य स्वास्थ्य चेकजाँच गर्ने गरिएको र सरकारले तोकेका स्वास्थ्यका मापदण्ड अपनाएर स्वयं व्यक्तिले नै यातायातको व्यवस्था गरी गन्तव्यमा जाने व्यवस्था मिलाएको जनाएको छ ।

सधैंजसो यसपल्ट पनि चाडपर्व नजिकिँदै गर्दा सीमा क्षेत्रको भारतीय बजार सुनौलीमा खरिदारीका लागि जाने नेपालीहरु बाक्लो भीड लाग्ने गरेको छ । खरिदका लागि भारतीय बजार जानेहरुलाई प्रहरी प्रशासनले रोकेको छैन । सीमाका भारतीय बजार भरिभराउ छन् । यसरी बजार गर्न जानेहरुले स्वास्थ्यका मापदण्ड समेत पालना नगरिँदा पर्वका बेला गाउँगाउँमा कोरोना संक्रमण फैलन खतरा भने बढेको छ ।