March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

विकसित रूपन्देही

  • अस्मिता केसी

ऐतिहासिक, पुरातात्विक, साँस्कृतिक, धार्मिक र प्राकृतिक सौन्दर्यताका क्षेत्रहरु लुम्बिनी, देवदह, जीतगढी, सैनामैना, मणिमुकुन्द सेन उद्यान विभिन्न मन्दिरहरुले मात्रै होइन्, रुपन्देही विकासले पनि अग्रणी छ । फराकिला सडक, विमानस्थल र भारतसँग सीमा जोडिएकाले पनि यहाँ विकास र समृद्धिका ढोका खुलेका छन् ।

Advertisement

सुगम क्षेत्र भएकाले यहाँ विकासको ठूलो सम्भावना छ । सहज अवस्थामा लुम्बिनीमा मात्रै प्रत्येक वर्ष आन्तरिक र बाह्य गरी करिब १६ लाख पर्यटक भ्रमणका लागि आउँछन् । त्यसैगरी यातायात र संचारको क्षेत्रमा जिल्ला सुगम तथा विकसित मानिन्छ । यसैगरी दूरसंचार, हुलाक सेवा, बैकिङ्ग सुविधा र विद्युत् सेवा तुलनात्मक रुपले राम्रो देखिन्छ । जिल्लामा सात टेलिभिजनसहित दर्जन भन्दा बढी एफएम र दुई दर्जन बढी दैनिक र साप्ताहिक पत्रपत्रिकाहरु छन् । अनलाइन संचारमाध्यमहरुले पनि जिल्लामा आफ्नो प्रभाव जमाउँदै गएका छन् ।

Advertisement

जातीय विविधताको कारणले यस जिल्लाको सामाजिक जनजीवनमा पनि जाती–धर्म र भाषाभाषीको प्रभाव परेको पाइन्छ । यहाँको सामाजिक जनजीवनमा नेपालको पश्चिमाञ्चल क्षेत्रीय रिवाजको अलावा सिमावर्ती जिल्ला भएकाले भारतीय संस्कृतिले पनि ठूलो प्रभाव पारेको देखिन्छ । जिल्लाको दक्षिणी भेग तुलनात्मक रुपमा उत्तरी खण्ड भन्दा कम बिकसित छ । उत्तरी भेग पूर्वपश्चिम राजमार्गसँग जोडिएको छ भने दक्षिणी भेगमा हुलाकी मार्ग छ । हुलाकी मार्ग आसपासमा रैथाने मधेसी समुदायको बाक्लो बस्ती छ ।

उत्तरमा खासगरी छिमेकी पहाडी जिल्लाहरुको साथै मुलुकका अरु जिल्लाहरुबाट बसाई सराई गरी आउने दरमा वृद्धि हुँदै गइरहेकोे छ । दक्षिणको मर्चवार देसकै खाद्य भण्डारको रुपमा चिनिन्छ । बिकासको हिसावले यो क्षेत्र पछाडी परेको छ । पश्चिम क्षेत्र छपिया मत्स्य पर्यटनका रुपमा विकसित हुँदै गएको छ । यहाँका सयौं घरपरिवार मत्स्य पालनमा लागेर मनग्य आम्दानी गर्दै आएका छन् । हाल यस जिल्लाको जनसंख्याको वृद्धिदर ३.२ प्रतिशत बताइन्छ ।

जिल्लामा १६ स्थानीय तह छन् भने पाँच संसदीय र १० प्रदेश सभा निर्वाचन क्षेत्रहरु छन् । यहाँ नेपालकै दोस्रो ठुलो भन्सार नाका छ । यही भन्सार नाकामा एकीकृत भन्सार चेक पोष्ट पनि निमार्णको प्रक्रियामा छ । त्यस्तै बेलहिया–बुटवल ६ लेन व्यापारिक मार्ग, भैरहवा–लुम्बिनी ४ लेन सडक, लुम्बिनी परिपथ, बेलबास–बेथरी सडक खण्ड, बुद्ध परिपथ, विशेष आर्थिक क्षेत्र (सेज), गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बृहत्र लुम्बिनी गुरुयोजना गरी थुप्रै राष्ट्रिय महत्वका आयोजनाहरु संचालित छन् । केही पूरा भए भने केही निर्माणको चरणमा छन् । यी सबै आयोजनाहरु सकिए भने जिल्ला थप सुन्दरीकरण त हुन्छ नै आर्थिक तथा पर्यटकीय विकासमा समेत फड्को मार्छ ।

तीव्र आर्थिक विकाससँगै यहाँ ठुला–ठुला होटल, उद्योग तथा कलकारखाना खुलेका छन् । केही खुल्ने क्रममा छन् । रुपन्देही स्थलमार्ग हुँदै सबै भन्दा बढी पर्यटक भित्रने नाका पनि हो । बेलहिया नाकाबाट मात्रै सहज अवस्थामा वर्सेनि लाखौं पर्यटक भित्रिन्छन् । यहाँ स्तरीय ठुला होटल सँचालनमा छन् भने केही ५ तारे होटलहरु निमार्णाधिन अवस्थामा छन् । त्यसको अलवा यो जिल्लाले सिमेन्ट उद्योगको रुपमा पनि परिचय बोकेको छ ।

जिल्लामा एक दर्जन भन्दा बढी सिमेन्ट उद्योग छन् । सिमेन्ट बजारमा मुलुकको करिब दुई तिहाई हिस्सा यहाँका उद्योगहरुले ओगटेका छन् । सिमेन्टमा मात्रै २० अर्ब बराबराको लगानी भएको उद्योगीको दावी छ । सिमेन्टसँगै खाद्यान्न, स्टिल उद्योग, खानेतेल, गार्मेन्ट लगायतका उद्योगको बजार पनि उस्तै छ । यहाँका उद्योगहरुमा हजारौले रोजगारी पाएका छन् । जिल्लाका मात्रै नभई नेपालका कुनाकुनाबाट यहाँका उद्योगहरुमा रोजगारीका लागि मानिसहरु आउने गरेका छन् ।

नेपालीहरु रोजगाररत भइरहँदा अधिकांश ठुला उद्योगहरुमा आवश्यक दक्ष प्राविधिक भने बाह्य मुलुकबाट ल्याउनु पर्ने बाध्यता छ । खासगरी प्राविधिकहरु भारतीय बजारबाट यहाँ आउने गरेका छन् । शिक्षाको हिसावमा पनि रुपन्देही अब्बल मानिन्छ । बुटवल र भैरहवामा सरकारी तथा निजी स्तरीय विद्यालयहरु छन् । यहाँका विद्यालयहरुले राष्ट्रिय नतिजामा समेत उत्कृष्ट अंक ल्याएका छन् । यहाँ बुटवल बहुमुखी र भैरहवा बहुमुखी जस्ता त्रिविका आंगीक क्याम्पसहरु छन् ।

यी क्याम्पसहरुमा विद्यार्थीहरु भरिभराउ हुने गर्छन् । स्वास्थ्यका हिसावले भैरहवामा रहेको रण अम्बिका शाहा आँखा अस्पताल स्वास्थ्य क्षेत्र मार्फत् मुलुकमै धेरै पर्यटक भित्र्याउले मध्येको एक हो । जहाँ आँखा उपचारका लागि स्वदेसी भन्दा छिमेकी मित्र राष्ट्र भारतका बिरामीहरु धेरै आउने गर्छन् ।

जिल्लामा देवदह र युसिएमएस गरी दुईवटा मेडिकल कलेज संचालनमा छन् । तिलोत्तमा नगरपालिकामा सरकारी मेडिकल कलेज स्थापनाका लागि प्रक्रिया अगाडि बढेको छ । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल पश्चिम क्षेत्रमै सबै भन्दा बढी बिरामीले उपचार गर्ने अस्पतालको रुपमा स्थापित छ । समुदायको लागानीमा बुटवलमा गौतमबुद्ध मुटु अस्पताल स्थापना भएपछि बुटवल एक हिसावले स्वास्थ्य हवको रुपमा बिकसित भएको छ । त्यही रहेको आम्दा अस्पताल बाल तथा महिला उपचारका लागि अब्बल मानिन्छ ।

खेलकुदको क्षेत्रमा पनि रुपन्देहीले विशिष्ट पहिचान स्थापित गरेको छ । क्रिकेटमा मात्रै जिल्लाका ९० बढी खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । अहिले पनि केही राष्ट्रिय खेलाडी यहीकै छन् । भैरहवामा रहेको सिद्धार्थ रंगशालालाई स्तरोन्नती गरी अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निमार्ण जारी छ । यो निमार्ण भएसँगै जिल्लाले खेलकुदको क्षेत्रमा थप फड्को मार्ने नै छ भने खेल पर्यटनको पनि विकास हुने विश्वास छ ।

यस्तै ब्याडमिन्टनका लागि जिल्लाको बुटवल र भैरहवामा दुई ठूला र पूर्वाधार सम्पन्न कवर्ड हल छन् । फुटवल, तेक्वान्दो, कराँतेलगायतका क्षेत्रमा पनि यहाँका खेलाडीहरुले राष्ट्रियस्तरमा ठुलो योगदान दिएका छन् । स्थानीय तहहरुले प्रदेश र केन्द्रसँग समन्वय गरी थप योजना बनाउँदै आआफ्नो तहलाई सबल र सक्षम बनाए भने अबको केही वर्षमै जिल्ला मुलुकको मिनी राजधानी बन्नेमा कुनै दुविधा छैन । पछिल्लो समय प्रदेश मुकाम भएसँगै यहाँ झनपछि झन चहलपहल बढ्दै गएको छ । आर्थिक तथा पर्यटकीय क्षेत्रहरु थप चलायमान भएका छन् । यद्यपि कोरोनाका कारण पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको छ ।

संघीय संरचनाअनु्सार लुम्बिनी प्रदेश अन्तर्गत साविक लुम्बिनी अञ्चलका ६ जिल्लाहरू मध्ये तराईमा पर्ने एक जिल्ला हो, रुपन्देही । यहाँ प्रदेहको मुकाम छ । रुपन्देही त्यस्तो जिल्ला पनि हो, जुन पश्चिम क्षेत्रको बिबिध क्षेत्रमा हवको रुपमा बिकसित छ । यस जिल्लाको नामाकरणको सम्बन्ध भगवान गौतमबुद्धसँग जोडिएको छ । गौतमबुद्धको आमा मायादेवी यसै जिल्लाको देवदहको भवानीपुरमा जन्मिएकी थिइन् । उनी अत्यन्त सुन्दरी भएकोले उनलाई रूपिदेवी भनिन्थ्यो र त्यही शब्द रूपिदेवीबाट रूपिन्देही हुँदै रूपन्देही भएको हो भन्ने इतिहासमा उल्लेख छ ।

यहाँको हावापानी उष्ण प्रदेशीय छ भने तापक्रम न्यूनतम ८–७५ डिग्री सेल्सियस र अधिकतम ४२–४ डिग्री सेल्सियस छ । यहाँ औषतमा १३९१ मीमी वर्षा हुने गरेको पाइन्छ । तिनाउ, रोहिणी, दानव, कोठी, महाव, कञ्चन, बधेला रुपन्देहीका मुख्य नदीहरु हुन् भने गैडहवा, बिष्णुपुरा, नन्दभाउजु, चिल्हिया प्रमुख तालहरु हुन् । यहाँ विशेष गरेर ब्राह्मण, क्षेत्री, थारु, मुसलमान, यादव, लोध, गुरुङ्ग, पासी, तेली, मल्लाह, धोवी आदि जातजातिको मिश्रित बसोबास छ । राष्ट्रिय भाषा नेपाली भए पनि यस जिल्लामा अवधी, नेपाली, थारु र विभिन्न भाषाहरु बोल्ने गरेके पाइन्छ ।

यस जिल्लाको मुख्य पेशा कृषि नै हो । यहाँ कुल क्षेत्रफलमध्ये ८२ हजार हेक्टर जमिन खेतीपातीको लागि उपयुक्त छ । जसमध्ये १३ प्रतिशत जमिनमा बाह्रै महिना सिंचाईको व्यवस्था छ । यस जिल्लामा सतह सिंचाई, भूमिगत सिंचाई र लिफ्ट सिंचाईको माध्यमबाट खेतीयोग्य जमिनमा सिंचाई सुविधा उपलब्ध छ । सिंचाईको मूख्य श्रोत नदीनाला भए पनि वर्षायाममा अत्यधिक पानीका बहावले गर्दा भू–क्षय, तथा नदी कटान जस्ता गम्भीर समस्याहरु उत्पन्न हुने गर्छन् ।

समतल भू–भाग, यातायातको सुविधा (सिद्धार्थ र महेन्द्र राजमार्गको मुख्य योगदान), कच्चा पदार्थ उपलब्धता, मेशिनरी औजारहरुको पैठारीमा सुगमता र उपलब्ध बजारको कारणले गर्दा जिल्लामा ठूला, मझौला र स–साना विविध उद्योगहरु स्थापना भएका छन् । बुटवल, तिलोत्तमा र सिद्धार्थनगर जिल्लाका महत्वपूर्ण औद्यौगिक एवं व्यापारिक केन्द्र हुन् । चिल्ला र फराकिला सडकले यहाँको स्वरुप परिवर्तन भएको छ । उद्योग, पर्यटन यहाँको विकासको आधार हो । सुगमता र विकासका कारण यहाँ विदेशी लगानीसमेत भित्रिएको छ । गौतमबुद्ध विमानस्थल बनिसक्दा यहाँ पर्यटन क्षेत्रमा कार्यापलट हुने विश्वास गरिन्छ ।