April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

बीमाले रोक्यो बालविवाह

बेटी पढाउ, बेटी बचाऔं कार्यक्रम अन्तर्गत बिहीबार गैडहवा गाउँपालिकाले उपलब्ध गराएका साइकलसँगै छात्राहरु । तस्बिर : पब्लिक कुरा

भैरहवा– तीन वर्ष अघिसम्म गैडहवा गाउँपालिकामा बालबिबाह दर २५ प्रतिशत बढी थियो । कतिपयको १० वर्षकै उमेरमा विवाह हुन्थ्यो । अहिले त्यो रोकिएको छ । स्वास्थ्य संस्थामा गएर सुत्केरी हुनेको संख्या ४० प्रतिशत थियो । ६० प्रतिशत गर्भवति महिलाले घरमै बच्चा जन्माउँथे । अहिले गाउँपालिकाको अवस्था फेरिएको छ ।

Advertisement

स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउनेको संख्या ८१ प्रतिशत छ । गाउँपालिकाले २० वर्षे बालिका बीमा सुरु गरे पछि बालबिवाह, भ्रुणहत्या र मातृशिशु मृत्युदर घटेको छ । ‘जन्मदर्ता तथा व्यक्तिगत घटना दर्ता गर्ने बढेका छन्’, गाउँपालिका अध्यक्ष बछु केवट (बच्चुलाल) ले भने, ‘बालबिबाह शून्यमा झरेको छ भने स्वास्थ्य संस्थामा पुगेर बच्चा जन्माउने धेरै छन् ।’

Advertisement

गैडहवा गाउँपालिकाले कार्यविधि बनाएर आर्थिक वर्ष २०७५–०७६ बाट ४० लाख रुपैयाँ बजेट छुट्याएर बालिका बीमा कार्यक्रम सुरु गरेको थियो । ‘बेटी बचाउ, बेटी पढाऔं’ अभियान अन्तर्गत शिक्षामा छोरीको पहुँच बढाउन, बालबिबाह र मातृशिशु मृत्युदर रोक्न भन्दै बालिका बीमा कार्यक्रम सुरु गरेको हो । गाउँपालिकाले सुरु गरेको कार्यक्रम सुरुमा त्यती प्रभावकारी भएन । बीमा बारे गाउँबासीले बुझ्दै गएपछि अहिले कार्यक्रम सफल बन्दै गएको केवटले बताए ।

बालिका बीमा अन्तर्गत गाउँपालिकाले बच्चा जन्मिएको तीन महिनाभित्र २० हजार रुपैयाँ बालिकाको खातामा जम्मा गरिदिन्छ । त्यसमा अभिभावकले ५ हजार रुपैयाँ थप गर्नुपर्ने, बालिका २० वर्ष पुगेपछि मात्रै रकम निकाल्न पाइने र स्वास्थ्य संस्थामा सुत्केरी हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिष्णुप्रसाद उपाध्यायले बताए ।

‘बालिका २० वर्ष पुग्नु अगावै विबाह भएमा बीमा रकम पाइँदैन’, उनले भने, ‘यस्तो अवस्थामा उक्त रकम स्वतः पालिकाको खातामा जम्मा हुन्छ । यस्तो नियमले बालबिबाह रोक्न र छोरी पढाउनुपर्छ भन्ने बढेका छन् ।’

अहिलेसम्म १५ लाख रुपैयाँ खर्चेर ७५ जना बालिकाको बीमा गरिसकेको गाउँपालिकाले जनाएको छ । बालिका बीमाका लागि चालु आर्थिक वर्ष २५ लाख रुपैयाँ छुट्याएको छ । यसबाट गाउँपालिकामा नयाँ जन्मिने बालिकाको बीमा हुने छ ।

स्वास्थ्य शाखाका अनुसार स्वास्थ्य चौकीमा जन्मिएका बालिकाको मात्रै बीमा गरिन्छ । त्यसले गर्दा आमा र बच्चाको मृत्युदर घटेको हो । ‘हाम्रो गाउँमा छोरीको बिबाह गर्नै हतार हुन्थ्यो,’ गैडहवा–५, कि अभिभावक पुनम जैसवालले भनिन, ‘बीमा गर्न थालेपछि छोरीलाई राम्रोसित हुर्काउनु पर्छ, पढाउनु पर्छ भन्ने धारणा बिकास भएको छ ।’ पुनमकी छोरी रियन्सीको ०७७ पुसमा बीमा गरिएको थियो ।

सामान्यतः बालिका २० हुँदा बीमावापतको रकम करिब ४ लाख रुपैयाँ हुन्छ । यसले उच्च शिक्षा अध्ययनमा थप टेवा पुग्ने विश्वास गाउँपालिकाको छ । पालिका उपाध्यक्ष शुभावति यादव भन्छिन्, ‘पहिला छोरीलाई पाल्नै दुःख मान्थे, चाँडै विवाह गरेर पठाउने चलन थियो । बीमाले गर्दा उच्च शिक्षा पढाएर विवाह गर्नुपर्छ भन्ने गाउँलेले बुझेका छन् ।’ उनकाअनुसार गाउँभरी सबै नागरिकलाई बीमाबारे जानकारी छ । अहिले छोरी जन्मिने वित्तिकै पालिकामा बीमा गर्न आउने गरेका छन् ।