April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

बुद्ध जयन्तीमा कोरोना महामारी अन्त्यको प्रार्थना

भैरहवा- कोरोना महामारीका कारण यस वर्ष बुद्ध जयन्ती पुजापाठमै सीमित भएको छ । सीमित बौद्ध भिक्षु, भिक्षुणी, लामा गुरुमाहरु, विकास कोषका कर्मचारीहरु लगायत सीमित पाहुनाको उपस्थितिमा बुद्ध जयन्ती मनाइएको हो । महामारीले गर्दा पुजापाठमै सीमित बुद्ध जयन्तीको कार्यक्रममा विश्व शान्ति र महामारी अन्त्यको कामना गरिएको छ ।

Advertisement

लुम्बिनीमा विगतका वर्षहरुमा धुमधामका साथ बुद्ध जयन्ती मनाइन्थ्यो । देशविदेशका विशिष्ट पाहुनहरुको सहभागितामा मनाइने बुद्ध जयन्ती यसपल्ट भने सामान्य औपचारिक कार्यक्रममै सीमित भएको हो ।

Advertisement

बुधबार २५६५औं बुद्ध जयन्तीमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा लुम्बिनीमा उपलव्ध महायानी, बज्रयानी र थेरवादी गुरु/गुरुमा, भिक्षु/भिक्षुण, लामा गुरुहरुले धार्मिक पूजापाठ तथा मन्त्रोचारण गरे । सुरुमा थेरबादी बौद्ध परम्परा मान्ने भिक्षु भिक्षुणीले रतनसुत्र पाठ गरेका थिए । महायानी र बज्रयानीले संप्रदायले पनि माहामारी समाप्ती र मानव हित कल्याणका लागि सूत्र पाठ गरे । उनीहरुले विश्वबाटै छिटो महामारी अन्त्य होस् भन्दै प्रार्थना गरे ।

बिहान ७ देखि ९ बजेसम्म नेपालीसहित विभिन्न बौद्ध गुरुहरुले बौद्धपाठ गरे । त्यसपछि गौतम बुद्ध फलफूल बाटीका क्षेत्रमा २५ हजार फलफूलको विरुवा रोपनीको थालनी गरिएको थियो । आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बाटिकामा गएर फलफूलका विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरेका थिए । आज २६५ वटा विरुवा रोपिएको छ । यो वर्खामा २५ हजार विरुवा रोपिने छ ।

साँझ विश्व शान्ति र कोरोना महामारीबाट मृत्यु भएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिने छ । लुम्बिनीसँगै देवदह, रामग्राम र तिलौराकोटमा पनि दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले जानकारी दिए ।

ईशा पूर्व छैठौं शताब्दीमा भगवान गौतम बुद्धले लिच्छिबीहरुको राजधानी बैशालीमा रतन सुत्र पाठ गरेर माहामारी अन्त्य भएको थियो । पानी नपरेर अनिकाल भई महामारी फैलिएर हजारौं मान्छे मरेका थिए । रातभरि सुत्र पाठ गरेपछि अर्को दिन विहान बादल फाट्यो । त्यसकारण यसपल्टको बुद्ध जयन्तीमा लुम्बिनीमा पनि विश्वभरिबाटै कोरोना माहामारी अन्त्यको कामना गर्दै त्यही सूत्र पाठ गरिएको हो ।

बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री र पर्यटनमन्त्रीले पठाएको शुभकामना सन्देश सुनाइएको थियो । कार्यक्रममा उपस्थित भिक्षु भिक्षुणी, लामा गुरुमालाई संघ दान गरिएको थियो । संघदानमा भिक्षुलाई चाहिने अष्टपरिष्कारदेखि खाद्यान्न दिने प्रचलन रहे पनि संक्रमणका कारण यसपल्ट नगद दिइएको हो ।

यस वर्ष भब्य रुपमा बुद्ध जयन्ती मनाउने कार्यक्रम भए पनि बन्दाबन्दीले पूजापाठमा सीमित गरिएको हो । गौतम बुद्धको जन्म बैशाख पूर्णिमाकै दिन भएको थियो । बुद्धले बुद्धत्व प्राप्त गरेको दिन पनि पूर्णिमाकै दिन हो भने बुद्ध ८० वर्षको उमेरमा महापरीनिर्वाण भएको दिन पनि पूर्णिमाकै दिन हो । त्यसैले प्रत्येक वर्ष वैशाख पूर्णिमाका दिन लुम्बिनी बुद्ध जयन्ती बनाउँदै आइएको छ ।

मायादेवी परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले बुद्धका शिक्षा विश्व शान्ति र मानव कल्याणका लागि अत्यन्तै महत्वपूर्ण भएको बताए ।