March 18, 2025, Tuesday
२०८१ चैत्र ५

महामारीले बुद्ध जयन्ती रौनकबिहीन

महामारी अन्त्यको कामना गरेर मनाइँदै

लुम्बिनी- यतिबेला बुद्ध जन्मस्थल लुम्बिनी झकिझकाउ भइसक्थ्यो । पूजाआजा र भ्रमणका लागि स्वदेशी र विदेशी पाहुना आइसक्थे । स्थानीय, प्रदेश र संघीय सरकारका उच्च पदस्थको जमघट हुन्थ्यो । गर्मीको मौसम भए पनि लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटकको भीड लाग्थ्यो ।

Advertisement

यहाँका पर्यटन व्यवसायीको व्यस्तता बढ्थ्यो । होटल भरिभराउ हुन्थे । कोरोना महामारी सुरु भएपछि मुलुकको प्रमुख पर्यटकीय र धार्मिकस्थल एक वर्षदेखि सुनसान छ । बुद्ध जन्मस्थलमा अहिले बौद्धभिक्षु, विक्षुणीका बन्दना बिरलै सुनिन्छ । नित्य पूजामा पनि स्वास्थ्य मापदण्ड पालना अनिवार्य छ ।

विश्व सम्पदा सूचिमा सूचिकृत मायादेवी मन्दिर एक्लै छ । परिसरमा घाँस मौलाएको छ । यहाँ रौनक फर्किने प्रतीक्षामा धेरै छन् । लुम्बिनीमा प्रत्येक वर्ष ठुलो पर्वका रुपमा बुद्ध जयन्ती मनाउने गरिएको छ । यसपाली बुधबार बुद्धजयन्ती परेको छ । बिगतमा जस्तो धुमधाम तयारी छैन ।

सरकार र राष्ट्र प्रमुख आउने छैनन् । यसपाली यहाँ रहेका भिक्षु, भिक्षुणी र उपासकले महामारी अन्त्यको कामना गरेर बुद्ध जयन्ती मनाउने तय भएको छ । रुपन्देहीमा निषेधाज्ञाको प्रभाव छ । बुद्धस्थलमा पनि त्यसको असर छ । सरकारले कोरोना नियन्त्रणका लागि अध्यादेश जारी गरेर निषेधाज्ञामा थप कडाइ गरेको छ । त्यसले गर्दा बुद्ध जयन्तीमा स्थानीयको उलेख्य सहभागिता सम्भव छैन । त्यसैले २५६५औं बुद्ध जयन्ती विगतमा जस्तो भब्य हुने छैन ।

‘गत वर्ष पनि पूजापाठ गरेर मनाइयो, यसटक पनि महामारी अन्त्यको कामना गरेर मनाइँदैछ’, लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्यले भने, ‘यस वर्ष २५६५ वटा दीप प्रज्वलन, परित्राण पाठ र विश्व शान्तिको कामना गरेर सामन्य रुपमा मनाइने छ ।’

शाक्यका अनुसार बुधबार बिहान लुम्बिनीमा रहेका गुम्बा, बिहारको प्रतिनिधित्व हुनेगरी मायादेवी मन्दिर परिसरमा पुजाआजा र शान्तिपाठ गरिने छ । उक्त अवसरमा राष्ट्रपति, प्रधानमन्त्री र पर्यटनमन्त्रीको सन्देश सुनाइने छ । त्यसपछि पुजापाठ, परित्राण पाठ गरिने छ ।

बुधबार साँझ कोरोना संक्रमणबाट मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन गरिने छ । ‘विश्व शान्तिको कामनासँगै महामारी अन्त्यका लागि प्राथना गरिनेछ’, कोषका सदस्य सचिव शाक्यले भने ।’ बुद्ध जयन्तीका दिन बुधबार २५ हजार फलफूलका विरुवा रोप्ने कार्यक्रम तय भएको छ ।

कोषका योजना प्रमुख सरोज भट्टराईले सिसौंका बोटविरुवा विस्थापन गर्ने उद्देश्यले फलफूलकका विरुवा रोपिने बताए । ‘अहिले पनि परिसरमा फलफूलका विरुवा धेरै छन्, तर, अब लुम्बिनीलाई फलफूलको बगैँचा बनाउने गरि अघि बढेका छौं’, उनले भने, ‘धेरै हुर्किसकेका छन् ।’ भट्टराईका अनुसार आँप, लिची लगायत बुद्ध जीवनीसँग मेलखाने फलफूलका विरुवा रोपिने भएको छ ।

यसवर्ष बुद्ध जयन्ती भव्यरुपमा मनाउने योजना अनुसार तयारी थियो । दोस्रो लहरमा कोरोना झन संक्रामक भएपछि बुद्ध जयन्ती समारोह आयोजना गर्न सकिएन । बुद्ध धर्मावलम्बीका लागि बैशाख पूर्णिमाको महत्व धेरै छ । यसमा त्रिसंयोग परेको मानिन्छ ।

गौतम बुद्धको जन्म बैशाख पूर्णिमाकै दिन भएको थियो । बुद्धले बुद्धत्व प्राप्त गरेको दिन पनि पूर्णिमाकै दिन हो भने बुद्ध ८० वर्षको उमेरमा महापरीनिर्वाण भएको दिन पनि पूर्णिमाकै दिन हो । बुद्ध जयन्ती मुलुक बाहेक बुद्ध धर्मावलम्बी थाइल्याण्ड, म्यानमार, भुटान, मंगोलिया, कम्बोडिया, श्रीलङ्का, लाओस, कोरिया, जापन, चीनलगायतका देशमा मनाइन्छ ।

यस्तो छ तयारी
बुधबार मायादेवी परिसरमा पूजापाठका लागि उपस्थित हुने सबैलाई ग्लोब्स, मास्क र फेससिल्ड अनिवार्य गरिएको छ । सुरुमा थेरबादी बौद्ध परम्परा मान्ने भिक्षु भिक्षुणीले रतनसुत्र पाठ गर्नेछन् । ईशा पूर्व छैठौं शताब्दीमा भगवान गौतम बुद्धले लिच्छिबीहरुको राजधानी बैशालीमा रतन सुत्र पाठ गरेर माहामारी अन्त्य भएको थियो ।

पानी नपरेर अनिकाल भई महामारी फैलिएर हजारौं मान्छे मरेका थिए । रातभरि सुत्र पाठ गरेपछि अर्को दिन विहान बादल फाट्यो । ‘वर्षा भएर राहत पुग्यो’, भिक्षु महासंघ अध्यक्ष भिक्षु मैंत्री महाअस्थवीरले भने, ‘सहज अवस्था बन्यो । त्यसकारण हामी पनि यहा“ विश्वभरिबाटै कोरोना माहामारी अन्त्यको कामना गर्दै त्यही सूत्र पाठ गछौं ।’

महायानी र बज्रयानीले संप्रदायले पनि माहामारी समाप्ती र मानव हित कल्याणका लागि सूत्र पाठ गर्नेछन् । बुद्ध जयन्तीका उपलक्ष्यमा राष्ट्रपति, प्रधानमन्त्री र पर्यटनमन्त्रीका शुभकामना पढेर सुनाइने छ । कार्यक्रममा उपस्थित भिक्षु भिक्षुणी, लामा गुरुमालाई संघ दान गरिनेछ ।

संघदानमा भिक्षुलाई चाहिने अष्टपरिष्कारदेखि खाद्यान्न दिने प्रचलन रहे पनि संक्रमणका कारण दान (नगद) दिइनेछ । त्यसपछि विहान ११ बजे गौतम बुद्ध फलफूल बाटिकामा बृक्षारोपण कार्यक्रमको शुभारम्भ गरिने छ । २५ हजार फलफूलका विरुवा रोप्ने लक्ष्य रहेको छ ।

‘बेलुका कोरोना संक्रमणबाट मृत्यु भएकाको निर्वाण प्राप्तिका लागि पुष्करणी पोखरीमा २५६५ वटा द्वीप प्रज्वलन गरिन्छ’, विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले भने, ‘संक्रमणले उपचार गराइरहेकाको शीघ्र स्वास्थ्य लाभका लागि प्रार्थना गछौं ।’ मायादेवी मन्दिरमा ३ दिनसम्म बत्ती बालेर दीपावली गरिने छ । सार्वजनिक रूपमा नेपालमा बुद्ध जयन्ती मनाउन सुरु भएको सात दशकपछि दोस्रो पटक बुद्धजयन्तीलाई फरक ढंगले मनाउन लागिएको हो । यस वर्ष भब्य रुपमा बुद्ध जयन्ती मनाउने कार्यक्रम भए पनि बन्दाबन्दीले पूजापाठमा सीमित गरिएको छ ।