May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

हरियाली बन्दैछ सिद्धार्थनगर (फोटो फिचर)

भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा नगरभित्र पाँच हजार वृक्षारोपण गर्यो । त्यतिकै हाराहारीमा सामाजिक संघसंस्थाले पनि नगर क्षेत्रमा वृक्षा रोपण गरेका थिए ।

Advertisement

वृक्षारोपण गरिएकामध्ये ६५ प्रतिशत बढी विरुवा हुर्किएका छन् । यसले नगरको सौन्दर्यता थपेको छ । हरियालीले सहरको मुहार बदलेको छ, शितलता दिएको छ । नगरमा फराकिला गरिएका भित्री सडक र ६ लेन सडकका दायाँबायाँ विरुवा हुर्किएका छन् । पिपहरिया प्रहरी चौकीदेखि एअरपोर्टको क्षेत्र उस्तै हरियाली बनेको छ ।

मुख्य ६ लेन सडकको दायाँवायाँ अधिकांश ठाउँमा विरुवा हुर्किएका छन् । अन्य भित्री सडकहरु पनि हरियाली बन्दै गएका छन् । छाडा चौपाया व्यवस्थापन नहुँदा कतिपय ठाउँमा हुर्किंदै गरेका विरुवा खाइदिने, भाँच्ने पनि गरेका छन् ।

यद्यपि नगरपालिकासँगै संघसंस्था, उद्योगी–व्यवसायी, विद्यालयहरु, स्थानीय नागरिक हरियाली सहर बनाउन लागेका छन् । उनीहरुले आफैले कयौं ठाउँमा वृक्षारोपण गरेका छन् । तारबार गरी विरुवा हुर्काइरहेका छन् । विरुवा छेउमा गोडमेल गर्ने गर्छन् ।

धेरै स्थानीयले घर अगाडिको विरुवामा पानी नपर्दाको समस्या पानी, मल हाल्ने गर्छन् । यसले नगरपालिकाले सहरलाई हरियाली बनाउन लिएको उद्देश्यमा थप बल मिलेको नगर प्रमुख हरिप्रसाद अधिकारी बताउँछन् ।

अलि पहिल्यै लगाइएका विरुवाहरु हुर्किएर छहारी दिने भएका छन् । रंगशाला रोडमा बढ्दै गरेका विरुवाले यहाँको शोभा थप बढेको वडानम्बर तीनका अध्यक्ष थानेश्वर पौडेल बताउँछन् ।

‘सिद्धार्थनगर बुद्धनगरी भएकाले यहाँबाट ओहोरदोहोर गर्ने आन्तरिक तथा बाह्य पर्यटक र नगरवासीलाई हरियालीले थप आनन्दित गराउनेछ भने पर्याप्त अक्सिजन आपूर्तिसमेत हुन्छ’, उपप्रमुख उमा काफ्ले भन्छिन् । नगरको अधिकांक ठाउँमा स्वामी, स्टोनिया र गुलमहरका विरुवा लगाइएको छ ।

विरुवा छिट्टै हुर्किउन भनेर नगरपालिकाले १ मिटर भन्दा अग्ला विभिन्न जातका विरुवा लगाएको थियो । नगरपालिकाले ६ लेन सडकसँगै मैत्रीपथ, दरखसवा, काँटागाउँ, पक्लिहवा रोड, वडा नम्बर ३ मा बनिरहेको पार्क, सार्वजनिक जमिनमा वृक्षारोपण गरेको छ । सडक बनाउँदा वृक्षारोपणका लागि ठाउँ बनाइएकाले विरुवा हुर्किएपछि सडक झनै सौन्दर्य देखिएका छन् ।