April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

संंघ र प्रदेश सरकारको उपेक्षामा भीम अस्पताल

भैरहवा, जेठ २ । भीम अस्पतालमा डेढ महिना अघिसम्म चिकित्सक प्रदीप पन्थी फिजिसियनका रुपमा कार्यरत थिए । स्वास्थ्य मन्त्रालयले गत चैत २२ गते सरुवा गरिदियो । कोरोना अस्पतालको फोकल पर्सन समेत रहेका अर्का चिकित्सक एमडीजीपी (जनरल प्राक्टिस) सुनिल प्रजापतीको पनि सरुवा भएपछि अहिले ती दुवै पद खाली छन् ।

Advertisement

अस्पतालमा फिजिसियन चिकित्सकबाट पाउनु पर्ने उपचार सेवा पाउनबाट सर्वसाधारण बिरामी बञ्चित भएको यतिका दिन भैसक्दा पनि पदपूर्ति हुन सकेको छैन । अस्पताल प्रशासनले वारम्बार फिजिसियन चिकित्सक उपलब्ध गराउन पत्राचार, भनसुन र अनेक अनुनय बिनय संघीय र प्रदेश मन्त्रालय समक्ष गर्दै आएको छ । तर, अहिलेसम्म कुनै मन्त्रालयले पनि यसतर्फ कुनै चासो देखाएका छैनन् ।

Advertisement

प्रदेश स्वास्थ्य मन्त्रालयले त अझ यहाँसम्म भीम अस्पतालमाथि पक्षपात गरेको छ की, दरबन्दीमा रहेका एक फिजिसियन चिकित्सकलाई बुटवलमा काज सरुवा गराएर भीम अस्पतालबाटै तलव खाने व्यवस्था गरेको छ । अर्थात्, ती चिकित्सक भीम अस्पतालबाट तलव खान्छन् तर सेवा भीममा गर्दैनन् ।

स्वास्थ्य र उपचार क्षेत्रमा काम गर्दै आएका चिकित्सक तथा जानकार भन्ने गर्छन्, कोभिड संक्रमितको उपचारका लागि फिजिसियन चिकित्सकको सेवा जरुरी हुन्छ । तर, प्रदेश सरकारले गत वर्ष कोरोना अस्पतालको रुपमा बिस्तार गरेको भीम अस्पतालमा एकजना पनि फिजिसियन छैनन् ।

कोरोना संक्रमित बिरामी धेरैको ज्यान गैसक्यो । धेरै बिरामी छटपटाउँदै मृत्यु शय्यामा छन् । तर, फिजिसियन चिकित्सक उपलब्ध गराउन संघ र प्रदेश सरकारलाई कुनै मतलव छैन । भीम अस्पताल संघ र प्रदेश सरकारको उपेक्षामा परेको छ । बिरामीको तुलनामा उपचारका लागि आवश्यक चिकित्सकसहितको स्वास्थ्यकर्मीको जनशक्ति अभावले अस्पताल आफै थलिएको छ ।

बुटवलको कोरोना विशेष अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा प्रशस्त फिजिसियन चिकित्सक कार्यरत छन् । त्यहाँका एक/दुई जना फिजिसियन चिकित्सकलाई कोभिड बिरामीको चाप धेरै होउन्जेलसम्मका लागि भीम अस्पतालमा काम गर्ने गरी व्यवस्थापन मिलाउन समेत प्रदेश सरकार असक्षम देखिएको छ ।

आवश्यकता अनुरुपको जनशक्ति उपलब्ध गराउन बारम्बार संघ र प्रदेश सरकारसँग माग गरे पनि कहिल्यै सुनुवाई भएन । वरु, उल्टै यस अस्पतालमा कार्यरत चिकित्सकलाइ सरुवा गरेर उपलब्ध जनशक्ति पनि कटौती गर्ने काम प्रदेश सरकारले गरेको छ । संघीय सरकारले पनि माथिबाट न त दरबन्दीसहितको जनशक्ति पठाउने गर्छ ।

भीमलाई गत वर्ष प्रदेश सरकारले २७ बेडसहितको कोरोना अस्पतालको रुपमा बिस्तार गर्यो । कोरोना बिरामीका लागि राखिएको ती सबै बेड भरिए । आकस्मिक कक्षमा राखिएका ६ वटा बेड पनि कोभिड बिरामीले भरिएका छन् । इण्डोर, क्याबिन जताततैका बेड भरिँदै जान थालेपछि अस्पताल प्रशासनले ओपीिड सेवा दुई हप्तादेखि बन्द गरेको छ । २७ वटा कोभिड बिरामीको उपचार गर्ने क्षमता भएको अस्पतालमा यतिबेला ८० जना कोभिडका बिरामी उपचाररत छन् ।

अस्पतालका प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीले कोरोनाका बिरामीलाई उपचार गर्न विशेषज्ञसहितको कम्तीमा २ जना फिजिसियन चिकित्सक आवश्यक पर्नेमा हाल एकजना पनि नभएपछि अन्य चिकित्सकबाट काम चलाइएको बताए । ‘फिजिसियन चिकित्सकको माग बारम्बार गर्दै आइए पनि सुनुवाइ भने हुन सकेको छैन’, ज्ञवालीले भने, ‘कि चिकित्सक देउ कि अस्पताल आपैmले करार वा अस्थायीमा राख्छौं सहमती देउ भन्दा पनि भएन ।’

अस्पताल २५ बेडको हुँदा ३ विशेषज्ञ र ३ जना मेडिकल अधिकृत गरि ६ जना चिकित्सकको स्वीकृत दरबन्दी कायम थियो । गत वर्ष प्रदेश सरकारले अस्पताललाई स्तरोन्नती गरेर २५ बेड थप गरि ५० बेड क्षमतामा पुर्यायो । क्षमता बृद्धिसँगै चिकित्सक दरबन्दी पनि ६ जना विशेषज्ञ र ३ जना मेडिकल अधिकृतको कायम गर्याे । थप गरिएको विशेषज्ञमा फिजिसियन पनि थिए । अस्पतालमा कुल १५ जना चिकित्सकको दरबन्दी कायम त भयो । तर, दरबन्दी अनुरुपको चिकित्सक उपलब्ध गराउन भने केन्द्र र प्रदेश दुबै सरकारले सकेका छैनन् ।

हाल अस्पतालमा, एकजना मेडिकल सुपरिटेन्डेन्ट (मेसु) बाहेक स्थायी दरबन्दीमा एकजना पनि बिशेषज्ञ चिकित्सक छैनन् । मेसुसहित कुल १२ जना चिकित्सक उपलब्ध छन् । जसमध्ये ४ जना चिकित्सक छात्रबृत्ति, लैंगिक हिंसा, नवजात शिशु हेरचाह लगायतका कार्यक्रमबाट र अस्पताल व्यवस्थापन समितिबाट राखिएका हुन् ।

दुबै सरकारबाट स्वीकृत, अस्पताल व्यवस्थापन समितिबाट, कोरोना अस्पतालका लागि र ‘लीलाराम कुन्तिदेवी न्यौपाने प्रतिष्ठान’ले उपलब्ध गराएको अत्याधुनिक आकस्मिक कक्षमा २१ बेडसहित कुल १ सय ४ बेड छन् ।

अस्पतालका चिकित्सक बद्री बैदवार कोभिड बिरामीमध्ये करिब ६० प्रतिशतलाई फिजिसियन विशेषज्ञको सेवा आवश्यक पर्ने बताउँछन् । गम्भिर अवस्थामा पुगेका बिरामीको उपचारका लागि कुन औषधि चलाउने, कति मात्रामा प्रयोग गर्ने ? लगायतका विषयमा फिजिसियनको परामर्श लिनु पर्ने अवस्था आउने उनले बताए ।

भीम अस्पतालमा कोरोना बिरामीलाई नवजात शिशु तथा बालरोग विशेषज्ञ आरिफ हुसेनले र इन्टनशिपमा आएका मेडिकल अधिकृतले हेर्ने गरेका छन् । अचम्मको कुरा, अस्पतालको दरबन्दीमा फिजिसियन चिकित्सक पुष्प जोशी छन् । तत्कालीन प्रदेश सामाजिक विकास मन्त्रालयले तीन/चार महिना अघि भीम अस्पतालबाट तलव खाने काम अन्तै गर्ने गरि उनको सरुवा गरिदिएको हो ।

बुटवलको कोरोना विशेष अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा प्रशस्त फिजिसियन चिकित्सक कार्यरत छन् । त्यहाँका एक/दुई जना फिजिसियन चिकित्सकलाई कोभिड बिरामीको चाप धेरै होउन्जेलसम्मका लागि भीम अस्पतालमा काम गर्ने गरी व्यवस्थापन मिलाउन समेत प्रदेश सरकार असक्षम देखिएको छ ।

भैरहवासँगै जोडिएको मायादेवी गापा–८, बसडिलवाकी सीता न्यौपाने दुई दिनदेखि अस्पताल परिसरमा राखेर उपचार गराइरहेकी कोभिड संक्रमित आफ्नो सासु आमालाई घर फर्काइन् । उनले घर फर्काउनुको पछाडी बिरामी पूर्णरुपले स्वस्थ्य भएकाले भने होइन्, अस्पतालमा बेड अभावलगायत बिरामीले पाउने गरेको दुःख र सास्तीले हो ।

‘यस्तो बिजोग ताललले यहाँ राख्नु भन्दा भनेर घरमै लगेर अक्सिजन दिएर राखेकी छु’, अस्पतालमा बेड नपाएकाले आकस्मिक कक्ष बाहिर बरण्डामा कागजको डफ्टीमाथि बिस्तारा बनाएर सासुलाइ उपचार गराउनु पर्दाको दुःखका बारेमा बताउँदै सीताले भनिन्,‘बेड नपाएपछि लामखुट्टेको प्रकोप त छँदैथियो राति हुरीबतास र पानी पर्दा बिरामीलाई कता ओत लगाउने ? भन्ने समस्या भयो ।’

आफू फिजिसियन नभए पनि फिजिसियनले दिनुपर्ने सेवा उपलब्ध गराएर बिरामी बचाउन दिनरात कोभिड संक्रमितको उपचारमा खटिएको चिकित्सक आरिफ हुसेनसहित सबै स्वास्थ्यकर्मीको प्रयाश तारिफयोग्य छ । जति प्रशंसा गरे पनि कमै हुन्छ ।

कोभिड–१९ को उपचार गर्ने रुपन्देहीका पाँचवटै ठूला अस्पताल यतिबेला बिरामीले भरिएका छन् । निजी क्षेत्रबाट संचालित भैरहवाको युनिभर्सल शिक्षण अस्पतालमा अक्सिजन नभएको र बेड भरिएको भन्दै गेटबाटै सुरक्षाकर्मीले बिरामीलाई फर्काइ दिने गर्छन् । यति बेला अक्सिजन नपाइएकाले उसले बिरामी भर्ना नै बन्द गरि भएका बिरामीको उपचारमा पनि कटौती गर्दै आएको छ ।

मणिग्रामस्थित क्रिमशन अस्पतालले पनि बेड नभएको भन्दै बिरामीलाई राख्न मान्दैन । देवदह मेडिकल कलेज र बुटवलको धागो कारखानास्थित प्रादेशिक कोरोना अस्पतालले पनि ठाउँको अभाव भन्दै बेड खाली नहोउन्जेल बिरामी राख्दैनन् ।

बेड मिलोस वा नमिलोस अनि, अन्तमा एकमात्र आशा लिएर आउने सर्वसाधारणको उपचारको गन्तब्य बन्ने गरेको छ– भीम अस्पताल । यो अस्पतालले अहिलेसम्म बिरामीलाई ठाउँ नभएको जनाउँदै उपचार नै नगरि फर्काएको छैन । बरु, भुइँमै राखेर भए पनि सक्दो उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।

आफू फिजिसियन नभए पनि फिजिसियनले दिनुपर्ने सेवा उपलब्ध गराएर बिरामी बचाउन दिनरात कोभिड संक्रमितको उपचारमा खटिएको चिकित्सक आरिफ हुसेनसहित अन्य सवै स्वास्थ्यकर्मीको प्रयाश तारिफयोग्य छ । जति प्रशंसा गरे पनि कमै हुन्छ । चिकित्सक हुसेनले हप्तामा तीनदिन बुटवलबाट फिजिसियन आए पनि त्यो पर्याप्त नभएको बताए ।

अस्पतालमा अहिले चिकित्सक १२, स्टाफ नर्स र अनमी गरेर ४६ जना, १८ कार्यालय सहयोगी र ८ जना सरसफाइ कर्मचारी कार्यरत छन । यीमध्ये पनि एक चिकित्सक र ३ स्टाफनर्स विदामा छन् । ७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमणपछि जनशक्तिको झनै अभाव भएको छ ।

अस्पतालकी मेसु शकुन्तला गुप्ताले क्षमताअनुसार संचालन गर्न र कोभिड संक्रमितको उपचारका लागि अझै मेडिकल अफिसरसहित २४ चिकित्सक, ६० बढी स्टाफ नर्स र २५ जना कार्यालय सहयोगी थप गर्नुपर्ने बताउँछिन् । संक्रमितको चापले स्वास्थ्यकर्मीलाई खानाखाने, सुत्ने र दिसापिसाव गर्नेसमेत फुर्सद छैन ।

जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा.राजेन्द्र गिरी पदेश सरकारले आफू मातहतमा रहेको कुनै पनि अस्पतालका चिकित्सकलाई आवश्यकता अनुरुप परिचालन गरेर समस्या समाधान गर्न सक्ने बताउँछन् ।