April 18, 2025, Friday
२०८२ बैशाख ५

ढकमक्क फूलले घेरिएको मायादेवी

लुम्बिनी– हिजोबाट बसन्त ऋतु सकिएको छ । आजबाट ग्रिष्म ऋतु सुरु छ । वसन्त ऋतुमा प्रकृतिको बहार आउँछ । प्रकृतिले नौलो काँचुली बदल्छ ।

चैत्र र बैशाख महिनामा पर्ने बसन्त ऋतु सबैभन्दा राम्रो, रमाइलो र मनमोहक ऋतु हो । किनकी बसन्त ऋतुमा सबै बोटबिरुवाहरुको पुरानो पात झर्छ र नयाँ पात पलाउँछ । बसन्तमा न गर्मी न चिसो मध्ययम मौसम हुन्छ ।

Advertisement

यसले प्रकृतिलाई सुन्दर र मनोरम बनाउँछ । फूलहरु फुल्छन्, जतात्यतै हरियाली हुन्छ । त्यसैले त यो ऋतुलाई सबैले मन पराउँछन् । यही कारण होला– पौराणिक तथा आधुनिक कविहरुले बसन्त ऋतुमाथि सयौँ कविताहरु कोरेका छन् । यस्ता कविताहरु औधी रुचाइएका छन् ।

वसन्त ऋतुमा बुद्ध जन्मस्थल लुम्बिनी पनि हरियाली बन्यो, ढकमक्क फूल फूलेका छन् । हुनत लुम्बिनीमा बाह्रै महिनाजसो फूल फुलिरहेका हुन्छन् तर बसन्त ऋतुमा फूलले लुम्बिनीको सुन्दरता झन थपेको छ । आजबाट ग्रीष्म ऋतु अर्थात् गर्मी ऋतु सुरु भएसँगै वसन्त ऋतुमा फूलेका फूललाई स्वागत गरिरहेको छ । जेठ र असार महिनामा पर्ने यो ऋतुमा अत्यधिक गर्मी हुन्छ ।

लुम्बिनीमा अहिले थरिथरिका फूल फूलेका छन् । लुम्बिनी ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल हो । विश्वका करोडौं–करोड बौद्धमार्गीको आस्थाको केन्द्र हो । शान्ति र अहिंसाका प्रतीक मानिने गौतम बुद्ध लुम्बिनी प्रदेशकको रुपन्देहीको लुम्बिनीमा जन्मिएका हुन् ।

लुम्बिनी फराकिलो भू–भागमा फैलिएको छ । यहाँ नेपालसँगै धेरै मुलुकका आआफ्ना कला, शैली र कलाकृत झल्किने मन्दिरहरु छन् । मन्दिर परिसरमा पनि फूलको सुगन्ध मग्न छ ।

लुम्बिनीको सबैभन्दा राम्रो र आकर्षण बिन्दु भनेको मायादेवी मन्दिर हो । त्यहाँ उत्खनन गरेर राखिएका बस्तुहरु पनि छन् । त्यो वरपरको वातावरण आनन्दित मात्रै होइन्, सुन्दर पनि छ । मायादेवी परिसरमा फूलेका राताम्मे, सेताम्मे र थरिथरिका फूलले साँच्चिकै यसको आकर्षक थपिएको छ । अझ भन्नु पर्दा मायादेवीलाई फुलैफूलले घेरेको छ ।

प्रत्येक वर्ष यहाँ विश्का एक–सवासय मुलुकका पर्यटक आउँछन् । कोरोना भाइरसको संक्रमण पछि लुम्बिनीमा विदेशी पर्यटक आउन सकेका छैनन् । आन्तरिक पर्यटक अहिले छप्प छ । बैशाख १५ अघि भने आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको थियो ।

खासमा लुम्बिनी एउटा सानो आध्यात्मिक र शान्तिप्रेमीको संसार हो । यहाँ जो कोहीलाई एकपल्ट पुग्ने इच्छा हुन्छ । ढकमक्क फुलेका फूल, कलाकृतिमा बनेका विभिन्न मुलुकका मन्दिर, सफासुग्गर, शान्त वातावरण लुम्बिनीका विशेषता हुन् ।

यतिमात्रै होइन, धपक्क बलिरहने शान्ति दीप, केन्द्रिय नहर र त्यसमा चल्ने बोटिङले धेरैको मन लोभ्याउँछ । रात्रिकालीन समयमा धपक्क बल्ने लाइटले लुम्बिनीको सौन्दर्यता झनै थपेको छ । लुम्बिनी ध्यान गर्नेहरुका लागि पनि निकै महत्वपूर्ण मानिन्छ । लुम्बिनी पुग्न सहज सडकमार्ग छ । त्यहाँ पुगेर दृश्यावलोकन पछि बास बस्न सुविधा सम्पन्न होटलहरु छन् ।

यही लुम्बिनीमा अहिले प्रकृतिको सौन्दर्यता थप भएको छ । लुम्बिनी बगैँचामा फुलेका फूलले सुगन्ध छरिरहेका छन् तर कोरोना संक्रमणले गर्दा लुम्बिनी बन्द छ । यसैले पर्यटकले यहाँको आनन्द लिन पाएका छैनन् ।

सबै तस्बिर सौजन्य : पत्रकार चेतन पन्त