April 18, 2025, Friday
२०८२ बैशाख ५

पानी पर्दा भुइँमा उपचाररत संक्रमितको बिचल्ली

बुधबार बिहान हावाहुरीसहित पानी परेपछि ढलेको टेन्ट र भुइँमा उपचाररत संक्रमित । तस्विरः प्रकाश न्यौपाने/पब्लिक कुरा

भैरहवा, वैशाख २९ । रातिदेखि हावाहुरी चलिरहेको थियो । पानीका छिटाविटा पर्दैथियो । तर, भीम अस्पतालको गल्ली, टेन्ट, पाल र बरण्डामा संक्रमित छट्पटिरहेका थिए । आफन्त पानी नपरोस् भनेर दश औँला जोड्दै थिए ।

यी कुरा सुनाउँदै भीम अस्पतालका स्वास्थ्यकर्मी गोपाल उपाध्यायले भने, ‘यहाँ भएका सबै संक्रमित अक्सिजनसहितको उपचारमा हुनुहुन्छ । २०/२५ जनाको टेन्टमुनी, गल्ली, बरन्डाको भुइँमा राखेर उपचार जारी थियो, विहान एक्कासी पानी परेपछि उहाँहरुको केही समय विचल्ली नै भयो ।’

Advertisement

बुधबार बिहान एक्कासी ठूलो पानी र हावाहुरी आएपछि धेरै संक्रमित निर्थुक्क भिजे । विछ्याउनाहरु रुझे, धेरै रोए कराए । स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारी, विरामीका आफन्तहरुले मिलेर केही संक्रमितलाई अस्पतालको गल्लीतिर र केहीलाई त्रिपाल टाँगेर राखियो ।

हावाहुरीले टेन्ट नै ढालिदिएपछि विरामीले सास्ती खेपे, आफन्त कतिले सरकारलाई गाली गरे, कतिले बचाउन भन्दै हारगुहार गरे । ‘सिलिन्डरसहित संक्रमितलाई ठाउँसारी गर्दा समस्यासँगै समय पनि लाग्यो, त्यतिन्जेलसम्म सबै भिजीसकेका थिए’, अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.शकुन्तला गुप्ताले भनिन्, ‘तै पनि हामी सबै लागिमिली गरेर ठाउँसारी गर्न सक्यौं ।’

अस्पतालमा संक्रमितको चाप अत्यधिक भए पछि भुइँमै राखेर उपचार जारी छ । अहिले ८६ संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ४ जना आईसीयूमा छन् भने बाँकी सबैलाई अक्सिजनको सहायताले केहीको बेडमा राखेर त केहीको भूइँमै उपचार जारी छ ।

संक्रमित पानीले भिजेपछि स्वास्थ्यकर्मीहरुलाई उनीहरुलाई इन्फेक्सन हुन्छ की भन्ने चिन्ता बढेको छ । अस्पतालका कोरोना फोकल पर्सन डा.आरिफ हुसेन भन्छन्, ‘भुइँमा उपचार गराइरहेका धेरैजना पानीले पूर्णरुपमा भिज्नुभयो, एक त संक्रमणले उहाँहरुको स्वास्थ्य अवस्था जटिल छ, अर्कातर्फ पानीले भिजायो, इन्फेक्सन हुन्छ र झनै समस्यामा पर्नुहुन्छ की भन्ने हामीलाई चिन्ता छ ।’