July 15, 2024, Monday
३१ असार २०८१, सोमबार

बाङ्गो औंला

Advertisement

खुवापुरको खुवा पहिलेदेखि नै निक्कै लोकप्रिय थियो । यहाँको खुवा कोसेलीको रूपमा जहाँ लगिन्थ्यो । भनौं, मान्छेहरू पनि खुवाकै लागि खुवापुर आउँथे र खुवा किन्थे ।

Advertisement

खुवाको व्यापार बढेपछि खुवापुरका किसानहरूको जीवनस्तर अलि उच्चो भएको थियो । पहिले यहाँका किसानहरू गरिब थिए, अब यिनलाई खान पुग्न थालेको थियो । पहिले यीसँग उपचार गर्ने रकमधरि हुँदैनथ्यो, अब यी थोरबहुत बचत गर्न थालेका थिए; पहिले यिनीहरूमध्ये धेरैजसो पैदल आवतजावत गर्थे, अब धेरैजसोको घरमा साइकिल थियो ।

खुवापुरको खुवाको लोकप्रियताबाट प्रभावित भएछ— भक्तलाल पनि । उसले पनि खुवापुरमा थोरै घडेरी किन्यो र सानो झुप्रो ठड्यायो । यहाँ बसोबास गर्न थालेको अठारौं दिनमा भक्तलालले पनि घरमा दुई मुखे चुलो बनायो र यामानका दुइटा ताउलो बसायो । गाउँमा दूधको कमी थिएन । भक्तलालले पनि केही किसानबाट महिनावारीमा दूध लिने बन्दोबस्त गर्‍यो । खुवापुरमा खुवाका लागि आउने ग्राहकहरू सबैजसो पसलमा पुग्ने गरेकै थिए । भक्तलालको नयाँ पसलमा पनि आउन थाले ।

भक्तलालको परिवारले खुवा बिक्री गर्न थाल्यो । सामान्य जीविकोपार्जनका लागि अब भक्तलालको परिवारलाई पनि सहज भयो । तर भक्तलाललाई लाग्यो— ‘यस्तो आम्दानीले कहिले तिरिन्छ रिन, कसरी किनिन्छ शहरमा घडेरी, कसरी बनाइन्छ घर !’

भक्तलालले सोझो औलाले घिउ नआउने ठहर गर्‍यो ।

खुवा बेच्न थालेको त्रिचालिसौं दिनदेखि भक्तलालले दूधको कोटा बढायो । अब ऊ खुवा तयार हुनेहुने बेलामा ‘खुवा सेलाउनु सजिलो हुन्छ’ भनेर आफै ताउलो उचालेर भित्र लैजान्थ्यो र खुवा सेलाएपछि आफै बाहिर ल्याएर बेच्थ्यो । यो काम चैँ भक्तलाल सधैँ आफै भ्याउँथ्यो । आफै गर्थ्यो । खुवा विक्रीको कुनै समस्या थिएन । बिस्तारै के चर्चा हुन थाल्यो भने, खुवापुरमा सबैभन्दा मिठो खुवा भक्तलालकै पसलमा हुन्छ ।

भक्तलालको पसलमा खुवाको बिक्री बढ्यो । उसले अब छरछिमेकलाई आवश्यक पर्दा ऐँचोपैँचो चलाउन सक्ने हैसियत बनाइसकेको थियो ।

खुवा सेलाउन ताउलो भित्र लैजान थालेको सठसठ्ठिऔं दिनमा भक्तलालले भटभटे किन्यो । भक्तलालले भटभटे चलाउँदा छरछिमेकहरू रमाइलो मानेर हेर्थे, केटाकेटीहरू भटभटे पछिपछि दुगुर्थे । छरछिमेकका कसैलाई कतै जानुपर्ने भए भक्तलाल भन्थ्यो— ‘बस्नोस् काका, म पुर्‍याइदिन्छु ।’

काका मुसुमुसु हाँस्दै भक्तलालको पछाडि भटभटेमा बस्थ्यो । यसपछि भक्तलालको मिलनसारको पहिचान पनि बन्यो ।

भक्तलालले खुवा सेलाउन भित्र लैजान थालेको २५५५ औं दिनमा आएर हिसाब गर्दा खुवापुरको खुवा पहिलेको  दाँजोमा बयालिस प्रतिशत कम बिक्री हुने गरेको देखियो । कतिपयले ‘दैव लागेर खुवा बिक्री घटेको हो’ भने । कतिपयले पुर्पुरो ठोके । कसैकसैले मान्छेले धर्म छाडेकाले विपत्ति आएको बताए । भक्तलालले मात्र कसैलाई दोष दिएन ।

भक्तलालले परारदेखि नै खुवा बेच्न छाडिसकेको थियो । त्यही सालदेखि उसको परिवार शहरमा बस्न थालेको हो । -sahityapost