April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

कोरा आदर्श

खचाखच भीडले भरिएको सभाहलमा लव्धप्रतिष्ठित साहित्यकार र राजनीतिक कर्मीहरुको भव्यजमघट थियो। छलफलको विषय संस्कार र संस्कृतिमाथि विदेशी हस्क्षेपलाई कसरी रोक्ने भन्ने थियो । मुर्धन्य विद्धानको “हाम्रो संस्कृतिमाथि विदेशी प्रहार” भन्ने पुस्तक विमोचन पनि गरियो ।

Advertisement

पश्चिमा शैलीले जन्मदिन मनाउने चलन बढेको र पश्चिमी सभ्यताको थेगिनसक्नुको प्रहारलाई सबैले मिलेर निस्तेज पार्नुपर्ने कुरामा सभा एकमत थियो । हस्तक्षेपको बिरुद्धमा सामाजिक जागरण ल्याउने उद्घोषगर्दै सभा समापन गरियो ।

Advertisement

संयोग मिलेछ, पुस्तकका लेखक र सभामा आमन्त्रित प्रमुख अतिथि बरिस्ठ राजनीतिज्ञको जन्मदिन आजै परेको रहेछ । कार्यक्रम आयोजकले जन्मदिन मनाउने व्यवस्थापनको जिम्मेवारी लिए।

जन्मदिनको पार्टीमा गिनेचुनेका राजनीतिक कार्यकर्ता र केही साहित्यकारहरु सामेल भए । भोजमा नजिकका  पत्रकारलाई पनि निम्त्याइएको थियो ।

पार्टीहलमा पश्चिमाशैलीकै अनुसरण गर्दै केक काटेर, बलिरहेको मइनबत्ती फुकेर निभाउदै साहित्यकार र राजनीतिज्ञले एकअर्कालाई केक ख्वाउदै गरेको दृश्य क्यामरा र मोबाइलमा कैद गर्न भ्याइनभ्याइ थियो ।

आफ्नू मौलिक संस्कार र संस्कृतिको जगेर्नाको लागि मञ्चमा जोडदार  उद्घोष गर्ने अगुवानेता र वरिस्ठ साहित्यकार एक शब्द नबोली अग्रपङ्क्तिमा उभिएर प्रफुल्ल मुद्रामा निसङ्कोच फोटोसट दिइरहेका थिए।

(दमक, झापा) नेपाली साहित्य घर डटकमबाट