November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

भैरहवाको अध्यागमन र सिमानाकामा पर्यटकलाई सास्ती

Advertisement

भैरहवा– आफ्नो होटलमा खान बस्नका लागि अग्रिम बुकिङ गरेका बिदेशी पर्यटक पाहुनाले भिसाका लागि अध्यागमन कार्यालय, बेलहियामा धेरैबेर पर्खनु परेमा भैरहवाको पर्यटकीय होटल ल्याण्डमार्कका संचालक आशा गुरुङ चियानास्ता लिएर अध्यागमन कार्यालय नै पुग्ने गर्छन् ।

Advertisement

गत सेप्टेम्बर महिनापछि उनको यो क्रम निरन्तर चलिरहेको छ । आफ्नो होटलमा आउने पाहुना नेपालको भिसाका लागि अध्यागमन कार्यालयमा पाँच–छ घण्टासम्म भोकभोकै लाइनमा बस्नु परेपछि उनी आफ्ना कर्मचारीसहित चियानास्ता लिएर त्यहाँ जाने गरेका हुन् ।

खानाका लागि अर्डर गरेका बिदेशी पर्यटक अध्यागमन कार्यालयमा हुने गरेको ढिलाइले समयमैं होटलमा आउन नपाएर खाना फ्याँकिने गरेको घटनाको अनुभव उनीसँग धेरै पटकको छ । यस खालको परिस्थितिले भविष्यमा नेपालकै पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने चिन्ता उनीमा छ ।

‘साँझ ६ बजेका लागि खानाको अग्रिम अर्डर गरेका पर्यटक अध्यागमन कार्यालयमा हुने ढिलाइका कारण राति दश बजेतिर आएर भोकै सुत्ने गर्छन्’, गुरुङले भने, ‘आफ्नो होटलमा आउने पर्यटक भोकभोकै अध्यागमन कार्यालयमा घण्टौंसम्म लाइनमा उभिनु परेपछि चियानास्ता बोकेर लाइनमैं खुवाइदिने गरेका छौं ।’

नेपाल भ्रमणमा आउने पर्यटकका निम्ति भिसा लगाउन र नेपालबाट बाहिरिने पर्यटकलाई डिपार्चलको प्रमाणिकरण गरिदिन अध्यागमन कार्यालय बेलहियामा कर्मचारीको अभावले केही महिना यता अत्यधिक ढिलाइ हुँदै आएको छ । सेप्टेम्बरपछि लुम्बिनी आउने पर्यटकको सिजन सुरु हुने भएकाले अत्यधिक पर्यटकको आगमन हुने र बेलहिया नाका हुँदै प्रस्थान गर्ने पर्यटकको संख्या पनि उत्तिकै हुने भएकाले अध्यायमगन कार्यालयमा लगभग दिनहुँ पर्यटकको भीड लाग्ने गरेको छ । पर्यटनको संख्याको तुलनामा काम गर्ने जनशक्तिको कमी हुँदा पर्यटक सेवा लिनका लागि घण्टौं लाइनमा बस्नु पर्ने बाध्यता भएको हो ।

गुरुङका अनुसार, यस नाकाबाट बिशेषगरि लुम्बिनीका लागि बुद्धिष्ट मुलुकका पर्यटक भारत हुँदै नेपाल आउने गर्छन् । सामान्यतया सेप्टेम्बरपछि पर्यटक आउने सिजन सुरु हुन्छ । भारतमा रहेको बोधगया, कुशिनगर, सारनाथ, सराबस्ती लगायतका बौद्ध पर्यटन स्थलको भ्रमणपछि लुम्बिनी र आसपासको बुद्ध स्थलका लागि भारतीय बस लिएर उनीहरु आउने गर्छन् ।

उनीहरुले अध्यागमनमा पर्ने कामका लागि सामान्यतया १ घण्टाको समय छुट्याएर समय तालिका बनाएर भ्रमणमा निस्किन्छन् । अध्यागमनमा हुने ढिलाइले समयतालिका बिग्रेपछि जतिसक्दो चाँडो लुम्बिनीको दर्शन गरेर फर्किन हतार गर्ने गर्छन् । जसका कारण कपिलबस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम, देवदह लगायतका बुद्धसँग सम्बन्धित पर्यटकिय स्थल घुम्ने योजनालाई उनीहरुले समय अभावका कारण स्थगित गर्ने गरेका छन् । बुद्धिष्ट तिर्थयात्रीले निश्चित समयभित्रै खाना खाने गरेको र साँझ घाम अस्ताएपछि खाना खाँदैनन् ।

‘सेप्टेम्बर लागेपछि यहाँका होटल ७५ प्रतिशत बुद्धिष्ट पर्यटकका कारण बुक हुने गर्छ’, अउँदो एक महिनासम्मका लागि आफ्नो होटल बुद्धिष्ट पर्यटकका लागि अग्रिम बुक भएको जनाउँदै गुरुङले भने, ‘अध्यागमनमा हुने ढिलाइले पर्यटकका लागि बनाएको खाना दिनहुँ खेर जाने तर पर्यटक भने भोकभोकै सुत्नु पर्ने अवस्थाले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने त होइन ? भन्ने चिन्ता थपिएको छ ।’

अध्यागमन र सीमा क्षेत्रमा हुने गरेको सास्तीले कतिपय पर्यटक सिमानाबाटै फर्किन खाजेको तर बुद्धको जन्मस्थलको दर्शन गर्ने अभिलाशाले गर्दा जसरीतसरी भए पनि आउने गरेको गुरुङले सुनाए । यो अध्यागमन कार्यालय पर्यटक आवागमनको हिसावले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिको मुलुककै दोस्रो ठूलो हो । कोभिड संक्रमणकाल अघि यस कार्यालय हुँदै सुनौली–भैरहवा नाकाबाट आवागमन हुने पर्यटकको संख्या बार्षिक ३ लाख नाघेको थियो । कोभिड संक्रमणको वेला पर्यटकको अवागमन शुन्य अवस्थामा रहेको यस नाकाबाट कोभिडपछि पर्यटकको आवागमन बढ्दै जान थालेको छ ।

पर्यटकको आगमन बढाउने नीति तीनवटै तहका सरकारले अवलम्बन गरिरहँदा आवश्यकता अनुरुपको कर्मचारी अभावले अध्यागमन कार्यालयमा पर्यटकले पाउने सास्तीले यहाँका पर्यटन व्यवसायी भने चिन्तित छन् । अध्यागमन कार्यालय बेलहियाका प्रमुख नारायणप्रसाद पाण्डे सेवा लिन आउने पर्यटकको तुलनामा कार्यालयमा उपलब्ध जनशक्ति कमी रहेको र एकै पटक धेरैजना पर्यटक आइपुग्दा यस खालको समस्या हुने गरेको बताउँछन् ।

‘कार्यालयमा जनशक्तिको कमी छ । एकैपटक धेरैजना पर्यटक आउँदा पर्यटकलाई धेरै समयसम्म लाइनमा बस्नु पर्ने बाध्यता भएको हो’, पाण्डेले भने, ‘सुनौली–बेलहिया नाका हुँदै नेपाल आउने पर्यटकको बढ्दै जान थालेको छ तर त्यस अनुरुपको जनशक्ति कार्यालयमा छैन ।’ उनका अनुसार, कहिलेकाही १५ सय भन्दा धेरै पर्यटक एकैदिन आइपुग्छन् । कार्यालयमा प्रमुखसहित पाँच जनामात्र कर्मचारी छन् । एकजना कर्मचारीले दैनिक १४ घण्टासम्म सेवा दिनु परेको छ । चारवटा डेस्कबाट सेवा उपलब्ध गराइएको छ । सवै प्रक्रिया पुगेको पर्र्यटकलाई भिसा दिँदा एकजनालाई सरदर १ मिनेट र डिपार्चलका लागि करिव आधा मिनेटमा सेवा उपलब्ध हुने गर्छ ।

‘थप तीनजना कर्मचारी उपलब्ध भएमा यो समस्या तत्कालका लागि समाधान हुने थियो’, पाण्डेले भने, ‘यसका लागि विभाग र मन्त्रालयसँग बारम्बार माग गर्दै आइएको छ । यहाँको बस्तुस्थिति सबै अवगत गराइएको छ ।’ पर्यटकको आगमन बढाउन भन्दै स्थानीय, प्रदेश र संघीय सरकारले पर्यटन विकास एवम् प्रबद्र्धनका नाममा विभिन्न योजना संचालन गर्दै करोडौं रुपैयाँ खर्च गर्ने गरेका छन् । पर्यटन मन्त्रालय, पर्यटन बोर्ड लगायत् सरकारको तर्फबाट राष्ट्रिय स्तरमैं पर्यटन अभियानका कार्यक्रम पनि संचालन हुने गरेको छ । पर्यटन प्रबद्र्धनका नाममा करोडौं रुपैयाँ खर्चेर गरिने यस्ता अभियान र योजनाका कार्यक्रमको सार्थकतामाथि यहाँको अध्यागमन कार्यालयको अवस्थाले प्रश्न उठाएको छ ।

पर्यटकलाई समस्या अध्यागमन कार्यालयमामात्र नभएर सीमा क्षेत्र आसपास जताततै छ । निर्माण बिस्तारको क्रममा भत्काइएका सडक बर्षौंदेखि नबनेर धुलाम्मे र अलपत्र छन् । खाल्टाखुल्टी र धुलो प्रकोपबाट पर्यटक आक्रान्त हुने गरेका छन् । अध्यागमनमा लागेको पर्यटकको लाइन कहिलेकाही दशगजा सिमानासम्म र भन्सारको बेरियर नजिकसम्म पुग्ने गर्छ । भिसा नपाउँदै भन्सार बेरियर कटेमा पर्यटक जरिवानामा पर्ने गर्छन् ।

भीसा लिन र डिपार्चलका लागि कम्तिमा पनि चार–पाँच घण्टासम्म लाइनमा उभिनु परेपछि पर्यटक समस्यामा पर्ने गरेका छन् । सेवा छिटोछरितो नभएको भन्दै टुरगाइड, बसवाला, पर्यटक लिन आएका होटेल तथा ट्याक्सी व्यवसायी कार्यालय परिसरमा चिच्याउने र कराउने गर्छन् । होहल्ला दिनहु नै हुने गर्छ । अध्यागमन कार्यालयको सानो परिसर भित्रै हजार–पन्ध्रसय जना पर्यटक छ–सात घण्टासम्म उभिएर बिताउनु पर्दा निसासिने अवस्था छ । उनीहरुलाइ समय कटाउनका लागि फ्रि वाइफाइ, अडियो भिडियो लगायतका मनोरञ्जनात्मक सामाग्री केही पनि उपलब्ध छैनन् । चिया कफी पिउने स्तरीय पसल वा क्याफे पनि छैनन् । सिमा क्षेत्रमा जताततै फोहरको डंगुर छ । भारत र नेपाल दुवैतर्फ सडकमैं तेस्र्याइएका मालवाहक गाडी र साना सवारी साधनको लाम र जामको हैरानी छ । पर्यटकलाई तानातान गर्न खोज्ने बिचौलियाको बिगबिगी उत्तिकै ।

‘सीमा नाकामा पर्यटकले भोग्नु परेको बिकराल अवस्थाले नेपालकै बेइज्जत भएको अनुभूति हुन्छ’, नेपाल टुर एण्ड ट्राभल्स एशोसियशन लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष तथा स्थानीय पर्यटन व्यवसायी सागर अधिकारी भन्छन्, ‘नेपाल प्रवेश गर्नासाथ पर्यटकलाई सहज बातावरण बनाउनेतर्फ कसैको ध्यान जान सकेको छैन ।’ अध्यागमन कार्यालयमा कर्मचारी अभावका कारण लगायत् सीमा क्षेत्रमा पर्यटकले भोग्नु परेको समस्याका वारेमा स्थानीय प्रशासन र जनप्रतिनिधिदेखि केन्द्रका मन्त्री, सचिव, मुख्यमन्त्री, प्रदेशका मन्त्री लगायतका जिम्मेवार व्यक्तिलाई वारम्बार स्थलगत अवलोकन गराउँदा पनि समस्या समाधान हुन नसकेको उनले बताए ।

‘अध्यागमनमा ढिलाइ हुँदा पर्यटकलाई सहज रुपमा समय बिताउने र अट्न सक्ने स्थानको समेतको व्यवस्था हुन सकेन’, अधिकारीले भने, ‘सिमानाबाट नेपाल प्रवेश गर्नासाथ सडकको दुरावास्था र अध्यागमनको अवस्थाले पर्यटकलाइ सिमा क्षेत्रमा सास्ती हुने गरेको छ ।’ गत कात्तिक १८ गते हातमा पासपोर्ट र अन्य डकुमेन्ट लिएर दिनभरि लाइनमा उभिएका पर्यटकलाई सेवा दिन अध्यागमनका कर्मचारी बिहानैदेखि अशिनपशिन थिए । एराइभल र डिपार्चलका गरि १५ सय भन्दा बढि संख्यामा लाइनमा रहेका पर्यटकको लाइन ठेलमठेल र धकालाधकल हुन थाल्यो । पर्यटकको लाइन अनियन्त्रित भएर पेलिँदा अध्यागमन कार्यालयको मूलद्वारको ढोका नै फुट्यो । अन्य झ्यालका सिसा पनि फुटेका छन् ।