सक्षम जनप्रतिनिधि, फेरिएको बुटवल

भैरहवा– ‘बटौली’ बाट ‘बुटवल’ सम्मको यात्रामा आइपुग्दा बुटवल नगरले विकासको धेरै काँचुली फेरिसकेको छ । र, निकट भविष्यमैं मुलककै अग्रणी नगरहरुको पङ्तीमा आफूलाई उभ्याएर आफ्नो परिचय दिने जमर्को गर्दै छ । नगरको नेतृत्व सम्हालेका जनप्रतिनिधि, जागरुक नगरवासी, सवल नागरिक समाज र विभिन्न राजनीतिक दलको सकारात्मक सोंच र विकास निर्माणमा हुने गरेको ऐक्यबद्धता नै बुटवलको विकासको मुख्य उर्जाको साँचो हो ।
अहिलेको तिनाउ पुलदेखि पश्चिमतर्फ तिनाउ नदी किनारामा झण्डै छ–सात दशक अघिसम्म बस्तु बिनिमय प्रथासँग व्यापारिक साइनो गाँसेको बटौलीले अहिले नाम परिवर्तन गर्दै बिशाल र विकसित नगरको रुपमा आफ्नो परिचय दिएको छ । ठूला ठूला भौतिक संरचनाको निर्माणमा मात्र होइन, बुटवलले मानवीय जनशक्तिको उत्पादन र बिकासमा पनि अब्बल दर्जामा राखेको छ ।
‘देशकै अगुवा सहर बनाउने योजना लिएर अगाडि दौडिएका छौं’, २०७९ को स्थानीय निर्बाचनबाट विकास निर्माणको बागडोर हातमा लिएर नगरको नेतृत्व सम्हाल्न आइपुगेका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय भन्छन्, ‘बुटवललाई आर्थिक केन्द्रका रूपमा मात्रै नभएर मानव संशाधनका दृष्टिबाट पनि दक्ष जनशक्ति उत्पादन र खपत गर्ने मुख्य सहरका रूपमा स्थापित गर्ने तयारीमा जुटेका छौं ।’
संविधानले दिएको अधिकार र उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्दै जनताको सेवामा समर्पित रहने उनले सुनाए । उनका अनुसार, मुलुककै अग्रणी सहरको रुपमा बुटवललाई उभ्याउन शिक्षा, स्वास्थ्य, प्रविधि, पर्यटन, रोजगार सिर्जना, उद्यमशीलतालाई प्राथमिकतामा राखेर त्यही अनुरुप योजना बनाइएको छ र काम भइरहेको छ । ‘चालु आर्थिक वर्षको बजेट कार्यान्वयन राम्रो भएको छ, योजनालाई समयमै सम्पन्न गरिएको छ र नगरवासी तथा सेवाग्राहीलाई सुशासन र विकासको अनुभूति पनि हाम्रो मुख्य दायत्वि हो’, सरल र मिठासपूर्ण शैलीमा नगर प्रमुख पाण्डेयले भने, ‘संघ, प्रदेश र आन्तरिक स्रोतको अधिकतम परिचालन र दातृ निकायहरूबाट प्राप्त सहयोगको उच्चतम उपयोग गरी बुटवलको विकासमा नयाँ उचाइ हासिल गरिरहेका छौं ।’
बुटवलको इतिहासलाई नियाल्दा घिउ, जडिबुटी, पहाडको रैथाने खाद्यान्नसँग यहाँका व्यापारीसँग नुन, मट्टितेल, लत्ता कपडा, मरमसला साटेर गाउँगाउँ र पहाड लगिन्थ्यो । अहिले पनि ‘पारी बुटवल’ भन्ने चलनचल्तीमा रहेको उतिबेलाको बटौलीमा डोकोमा घिउ बोकेर पाल्पा, अर्घाखाँची, गुल्मी, स्याङ्जा, प्युठान, बाग्लुङबाट मानिसहरु नुन साट्न बटौली झर्थे । भारतको बनारस र कानपुरबाट ल्याइएका लत्ताकपडा, भाडाकँुडा, मरमसला, मट्टीतेल साटेर पहाड पुर्याइने गरिएको बुटवलका पुराना व्यापारी बताउँछन् । पहाडको घिउलाई बटौलीमै खारेर टिनका ठुला बट्टामा भरेर भारतको बनारस, कानपुर लगायतका बजारसम्म पुग्ने गथ्र्यो । नेपालको पहाडको घिउ र जडीबुटीसँग ल्हासाको नुन र सुनको पनि व्यापार हुने गथ्र्यो ।
‘बटौलीको व्यापार नेपालको पहाडी जिल्ला र क्षेत्रसँगमात्रै सिमीत थिएन । भारतको बनारस र कानपुर तथा तिब्बतको ल्हासासँग पनि हुने गथ्र्यो’, बटौली संरक्षण संवद्र्धन समितिका अध्यक्ष रवीन्द्र गोपाल लाकौल भन्छन् । बुटवल ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सहर पनि हो । वीर सेनानी कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेजलाई परास्त गरेको जीतगढी किल्लाले बुटवलकोमात्र नभएर नेपालकै बिरताको परिचय दिन्छ । १ करोड १० लाख बर्ष पुरानो मानिएको आदिम मानव रामापिथेकसको अवशेष फेला परेको स्थान बुटवलमैं छ ।
नगरको बागडोर सम्हाले पछि नगर प्रमुख पाण्डेयले नगरवासीको आवश्यकतालाई दृष्टिगत गर्दै सेवा प्रवाहलाई जनमुखी बनाउन घरदैलो सेवा सुरु गरिरहेका छन् । ‘बा आमासँग नगरप्रमुख कार्यक्रम’ मार्फत ६० वर्षमाथिका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा औषधी वितरण, अपांगता परिचय पत्र वितरण, सुत्केरी महिलाको स्वास्थ्य जाँच, पशुचौपायाको स्वास्थ्य परीक्षण तथा औषधी वितरणलगायतका कार्यक्रम नागरिकको घरदैलोमै पुयाइएको छ ।
उपप्रमुख सावित्रादेवी अर्याल नगरका गृहिणी महिला तथा युवालाई स्वरोजगार बनाउँदै विदेश पलायन रोक्ने उद्देश्यले गृहिणी महिला स्वरोजगार कार्यक्रम, उपप्रमुख उद्यमशीलता, मेयरसग युवा उद्यमीजस्ता कार्यक्रम ल्याइएको बताउँछिन् । ‘यो वर्ष एक हजार महिलालाई विभिन्न प्रकारका तालिम प्रदान गरी उनीहरूलाई उद्यमसँग जोडिएको छ’, अर्यालले भनिन् । बुटवल नगरपालिकाले बढ्दो युवाहरूको विदेश पलायनलाई रोक्दै स्वरोजगार बनाउन मेयरसँग युवा उद्यम कार्यक्रम सञ्चालन गरिएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन र रेमिट्यान्सको सही सदुपयोग गराउन सामी परियोजनाअन्तर्गत सम्बन्धित परिवारका सदस्यहरूलाई अभिमुखीकरण कार्यक्रम संचालन भइरहेको छ ।
बुटवलको इतिहास ठूलो छ । २०१७ सालमा ‘बुटवल–खस्यौली नगर पञ्चायत’ बनाइयो । २०३५ साल माघ ८ गते बुटवल नगरपञ्चायतमा परिणत भयो । ०४६ को बहुदलीय व्यवस्था पुनःस्थापना पछि यसको नाम ‘बुटवल नगरपालिका’ रह्यो भने, मंसिर १६ मा बुटवल उप महानगरपालिका । जितगढी किल्ला, मणिमुकुन्दसेन उद्यान, हिलपार्क, कपरकट्टी ताल, सिद्धबाबा मन्दिर, नरैनापुर धाम, नीलकण्ठबाबा धाम, मुक्तिनाथ धाम, गणेश मन्दिर, बौद्ध गुम्बा, पद्य चैत्य विहार, पुरानो बटौलीको जामे मस्जिदजस्ता ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलले बुटवल सम्पदा सहर हो नै । प्राचिन मन्दिर, विभिन्न चैत्य बिहार र मस्जिदले विभिन्न समुदाय र धर्मावलम्बी बिचको आपसी सद्भाव र धार्मीक सहिष्णुताको सन्देश पनि बुटवलले दिने गरेको छ ।
अन्तर्राष्ट्रिय सभाहल तथा प्रदर्शनी केन्द्र, स्तरोन्नति हुँदै गरेको लुम्बिनी प्रादेशिक अस्पताल, महिला तथा बालबालिका अस्पताल आम्दा, व्यवस्थित अटो भिलेज, ढुवानीग्राम, खेल पूर्वाधार, शैक्षिक पूर्वाधार, पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गको संगम स्थलजस्ता भौतिक र सेवामूलक पूर्वाधारहरुले बुटवललाई अग्रणी नगरका रूपमा उभ्याउने मुख्य खम्बा मानिन्छन् । यतिमात्रै होइन, तिनाउ नदी, पूर्वमा रहेको जंगल र उत्तरतर्फ नजिकैको पहाडले बुटवलको पर्या पर्यटनको विकासको ढोका उघारिदिएको छ । प्रकृतिले पनि साथ दिएको तराइको सहरको बुटवल । अहिले बुटवलबाटै पाल्पाको बसन्तपुर केबलकारले जोडिएको छ । फूलबारीबाट पाल्पाकै नुवाकोट पुग्ने गरी अर्को केलबकार बन्दै छ ।
‘यिनै ऐतिहासिक तथा मौलिकतालाई पछ्याउँदै र विकासको मूल स्तम्भ मान्दै समृद्ध सहरको रुपमा बुटवललाई रुपान्तरण गर्न हामी लागेका छौं’, नगर प्रमुख पाण्डेयले भने, ‘भौतिक बिकासको साथसाथै नगरको सौन्दर्यीकरण, सहरी व्यवस्थापन र सेवासुविधामा सुधार ल्याउनु स्थानीय सरकारको प्रमुख दायित्व हो ।’ पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ ।
शिक्षालाई गुणस्तरीय र सबैको पहुँचमा पुर्याउन विद्यालय पूर्वाधार विकास कार्यक्रम, स्थानीय पाठ्यक्रम पुनर्निर्माण तथा संशोधन, क्याम्पस पूर्वाधार विकास कार्यक्रम लगायत विद्यालय तथा क्याम्पसहरूको भौतिक तथा शैक्षिक विकासका लागि विशेष कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल बताउँछन् ।
उनका अनुसार, प्राविधिक शिक्षामा बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन आरम्भका लागि काम अघि बढाइएको छ । बुटवल १६ मा कृषि विज्ञान (बिएससिएजी) कलेज स्थापनाका लागि प्रक्रिया अगाडि बढाइएको छ । टोलटोलमा प्राथमिक उपचार कार्यक्रम, पोषण, सुरक्षित मातृत्व, जेष्ठ नागरिक तथा किशोरकिशोरी लक्षित कार्यक्रम, स्वास्थ्य संस्थाहरूको स्तरोन्नति तथा गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको छ । नगरभित्रका सरकारी तथा सामुदायिक अस्पतालमा बच्चा जन्माउने आमाहरुलाई प्रोत्साहनस्वरूप २ हजार र एचआइभी संक्रमित बालबालिकालाई मासिक ३ हजार पोषण खर्च प्रदान गर्ने गरिएको छ ।
‘पारा मेडिकल र नर्सिङ विषयको अध्ययन संचालन गरिएको छ । दक्ष जनशक्ति तयार गर्न पिपिपी मोडेलमा एक सय शय्याको अस्पताल स्थापना गर्ने योजना छ । ठुला व्यवसायलाई व्यवस्थित गर्दै साना तथा मझौला व्यवसायलाई प्रोत्साहन गरी बजारलाई थप चलायमान बनाउने योजना नगरपालिकाको छ’, उनले भने । बुटवलका ऐतिहासिक, धार्मिक, पर्यटकीय सम्पदाहरुको प्रचारप्रसार गर्दै अन्य पर्यटकीय स्थलसँग जोडेर पर्यटकीय विश्रामस्थलका रुपमा बुटवललाई विकास गर्ने योजना बनाइएको छ ।
लुम्बिनीदेखि बुटवलको जितगढी किल्ला, मणिमुकुन्दसेनको दरबार, आदिम मानव रामापिथेकसको अवशेष फेला परेको स्थल, सिद्धबाबा मन्दिर हुँदै बुटवललाई मुक्तिनाथसम्म जोड्ने पर्यटकीय रुट निर्माणको योजना बनाउन पहल भइरहेको पाण्डेयले जनाए । नगरको अव्यवस्थित बसोबास तथा सुकुम्वासी समस्या समाधानका लागि उपमहानगरपालिकाको संयोजनमा भूमि आयोगले वडा नं. ११, १४ र २ मा जग्गाको नापजाँच गरेको छ । लालपुर्जा दिन मिल्ने क्षेत्रमा चाँडै दिलाउने अवस्थामा पुर्याउन आवश्यक जनशक्ति र उपकरण नगरबाट व्यवस्थापन भएको छ । अत्याधुनिक फोहोर प्रशोधन केन्द्र निर्माणका लागि बुटवल १२ मा जग्गा प्राप्ति भएको छ । सरसफाइ र खानेपानी आयोजनाका लागि विश्व बैंकलगायतका ठुला लगानीकर्ताहरू लगानी गर्न इच्छुक देखिएकाले छिट्टै ति आयोजना अगाडि बढ्ने पनि पाण्डेयले बताए ।
छाडा चौपायाको समस्या समाधानका लागि बुटवलको शिवनगर सामुदायिक वनमा गौचरणसहितको नन्दनी गौशाला सञ्चालनमा ल्याइएको छ । जसले गर्दा अहिले बुटवलमा छाडा चौपाया देखिनै छाडेका छन् । बुटवल–१५ मा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापनाको तयारी गरिएको छ । जसबाट लुम्बिनी प्रदेशका तराई र पहाडी जिल्लाका किसानका उत्पादनले बजार पाउने र कृषिजन्य उत्पादन निर्यात गर्न सकिने छ । ‘यहाँ उत्पादन भएका र संकलित वस्तु भैरहवाको विमानस्थलबाट विदेश निर्यात गर्नेगरी काम गर्नुपर्छ भन्ने योजना हो’, नगर प्रमुख पाण्डेयले भने । पार्किङ समस्या समाधानका लागि उपमहानगरपालिका, नगरविकास कोष र मल्टी डेफोर्ट हार्मोनिक जेभीसँंगको सहकार्यमा नगरले बहुतले पार्किङ भवन निर्माणका लागि परामर्शदातासँग सम्झौता गरेर काम गरिरहेको छ । प्रदेशस्तरको हरियाली बसपार्क बनाउने योजना पनि छ ।उपमहानगरपालिकाले नमूना पशु बधशाला समेत संचालनमा ल्याएको छ । ‘यी सबै कामले पनि अब बुटवल मुलुककै अग्रणी पालिका भइसकेको पुष्टि गर्छ’, उनले भने । बुटवल प्रथम उपमहानगर राष्ट्रिय सम्मेलन समेत गरिसकेको छ । बुटवलले यो उपलब्धी हासिल गर्नमा विगतदेखि अहिलेसम्मका जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहेको स्थानीय बताउँछन् ।
लेखकको सम्वन्धमा