June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

छैन रात्रिकालीन बजार, सम्साँझै सुनसान भैरहवा

भैरहवा– पोखरा घुम्न गएका भारतको गोरखपुरका राजेन्द्र यादवको परिवार आइतबार स्वदेश फर्किने क्रममा राति १० बजे भैरहवा आइपुगे । आफ्नै सवारीबाट पोखरा घुमेर फर्किएका उनीहरु नाका बन्द भए पछि उक्त रातको समय भैरहवामा रमाउन चाहेका थिए । तर, उनीहरु भैरहवा आइपुग्दा बजार सुनसान थियो । ‘पोखरामा रातिसम्म बजारमा चहलपहल, खानपान र रमाइलो गर्न पाइएको थियो तर भैरहवा आउँदा सुनसान रहेछ’, उनले भने ।

Advertisement

भैरहवाको देवकोटोचोकमा भेटिएका उनको परिवार भन्दै थिए– रमाउने ठाउँ रहेनछ, अब कतै होटलमा कोठा लिएर बस्नुपर्ला । उनीजस्ता धेरै भारतीय पर्यटन भैरहवा आएर रमाउन चाहन्छन् । तर, सम्साँझै भैरहवा बजार सुनसान हुन्छ । भारतीय पर्यटकले मात्रै होइन्, स्वदेशी घुमन्तेहरु पनि भैरहवामा आएर रातभरी रमाउन पाउँदैनन् । अघिल्लो वर्ष गृहमन्त्रालयले निर्णय गरेर रात्रिकालीन बजार संचालनको अवधारणा ल्याएको थियो ।

Advertisement

कार्यान्वयन पक्ष फितलो हुँदा र सीमा क्षेत्र भएकाले सुरक्षा चुनौती हुने भन्दै भैरहवामा रात्रिकालीन बजार संचालन हुन सकेको छैन । यसले यावब जस्ता धेरै पर्यटक चाहेर पनि रमाउन पाएका छैनन् । एकआध खुल्ने रात्रिकालीन होटल तथा रेष्टुराँ भैरहवा आउने पर्यटकले देख्न र भेट्न सक्दैनन् । ‘मुख्य बजार नै सुनसान भएपछि पर्यटक गल्लीगल्ली हिँड्ने कुरै भएन’, पर्यटन व्यवसायी किशोर जोशीले भने, ‘भैरहवामा रात्रिकालीन बजार जरुरी भइसक्यो ।’

कोरोना महामारी पछि मुलुकको पर्यटन क्षेत्र विस्तारै तंग्रिँदै छ । कोरोनाबाट करोडौं क्षति व्यहोरेका व्यवसायीले पर्यटन प्रबद्र्धन र पर्यटकको सुविधाका लागि अनेक उपाय अपनाइरहेका छन् । पछिल्लो समय रुपन्देहीका पर्यटन व्यवसायीले भने यस क्षेत्रको पर्यटन बजार चलायमान बनाउन रात्रिकालीन पर्यटन बजार संचालनको माग गरिरहेका छन् । तर, यसले सार्थकता पाउन सकेको छैन ।

अहिले भैरहवालगायत यसआसपासका पर्यटन गन्तव्यमा पूर्वाधारसँगै पाहुना आकर्षित गर्न विभिन्न सुविधामा लगानी भइरहेका छन् । होटल र रेष्टुराँ सजाउन लाखौं खर्च गर्ने गरिएको छ । पर्यटकको बसाइँ लम्ब्याउन र खर्च बढाउन विभिन्न कार्यक्रम थप गरिएको छ । यसले पर्यटन सेवामा विविधिकरण देखिएको छ । तर, मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनी रहेकै जिल्ला रुपन्देहीमा आउने पाहुनाले रातिसम्म रमाइलो गर्न भने पाउँदैनन् ।

रातिको १० नबज्दै होटल र रेष्टुराँ बन्द गर्नुपर्ने प्रशासनको नियमले व्यवसायी मर्कामा छन् । होटल र रेष्टुराँमा पाहुनाको घुइँचो भए पनि नियमले ढोका बन्द गर्नुपर्ने बाध्यता छ । जसले गर्दा पाहुना रात नछिप्पिँदै घर फर्किनुपर्छ । ‘त्यसैले हामीले वर्षौंदेखि निश्चित ठाउँ तोकेर रात्रिकालीन पर्यटन बजार संचालनको माग गरिरहेका छौं, तर कहाँ के मिलेको छैन, सार्थकता पाउन सकेको छैन’, सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले भने, ‘भैरहवाको पर्यटन बजार चलायमान बनाउन र फस्टाउन रात्रिकालीन बजार जरुरी छ ।’ उनले निश्चित ठाउँ तोकेर र सुरक्षा मापदण्ड पूरा गरेर बजार संचालन गर्नुपर्नेमा जोड दिए ।

फराकिला सडक संजाल, सुविधा सम्पन्न होटल तथा रेष्टुरेन्ट, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, स्थलमार्गबाट मुलुकमा सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका, नजिकका बुद्धस्थल लगायत पूर्वाधारले रुपन्देही रात्रिकालीन पर्यटन बजारका लागि सम्भाव्यता बोकेको ठाउँ हो । भारतीय पर्यटकले अहिले यहाँका होटल तथा रेष्टुरेन्टमा चहलपहल छ । कोरोना कहर हटेपछि तेस्रो मुलुकका पर्यटक आगमन पनि राम्रो छ । बेलहियाबाट नेपाल प्रवेश गर्ने आधिकांश भारतीय भैरहवा आएर रमाउन चाहन्छन् । तर, रात्रिकालीन बजार नहुँदा उनीहरु लामो समय भुल्न सकेका छैनन् ।

खासगरी पछिल्लो समय यस क्षेत्रमा संचालित आधा दर्जन क्यासिनोमा आउने भारतीयहरु अत्यधिक छन् । परिवारसहित आउने उनीहरु रात्रिकालीन बजार नहुँदा लामो समय यहाँ बस्दैनन् । लामो समयदेखि निजी क्षेत्रबाट रात्रिकालीन बजार संचालनको माग भइरहँदा स्थानीय सरकारले यसको खाका ल्याउन सकेको छैन । ‘व्यवसायीले हामी तयार छौं, रात्रिकालीन बजार चलाउँछौं भनेर आए समन्वय गर्छौं’, सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले भनिन्, ‘सुरक्षा मापदण्ड पूरा गर्ने व्यवसायीलाई हामी सधैं साथ र सहयोग दिन्छौं ।’

रात्रिकालीन पर्यटन बजार सुरु भए यसले भैरहवामा पर्यटकको बसाइँ अवधि लम्ब्याउन, विदेशी मुद्रा आर्जन र आर्थिक चलायमान बनाउन तथा धरासायी बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न सहयोग पुग्ने छ । तर, रात्रिकालीन बजार संचालनको माग गरिरहँदा सीमा क्षेत्रको बजार भएकाले भोलिका दिनमा हुनसक्ने विभिन्न अवान्छनीय गतिविधिबारे भने पहिल्यै सोचेर त्यही अनुसारको सुरक्षा रणनीति भने बनाउनुपर्ने सरोकारवालाको धारणा छ ।