October 1, 2023, Sunday
१४ आश्विन २०८०, आईतवार

भीम अस्पतालः जीर्ण भवनमा विरामीको उपचार, बजेट बिनियोजनमा सरकारको बेवास्ता

भैरहवा– भर्ना भएका बिरामी भीम अस्पतालको इण्डोर शाखामा लहरै शय्यामा हुन्छन् । बिरामीको आसपासमा हुन्छन्, कुरुवा, चिकित्सक र अन्य स्वास्थ्यकर्मी । उनीहरुमाथिको भवनको छत भने धराप जस्तै बनेको छ । जीर्ण भएर भत्किन थालेकोले । सवैको नजर वारम्बार भत्किन थालेको छतमा जाने गर्छ । खस्न लागेको छतको उप्कोरो आफ्नो टाउकोमाथि खस्छ की ? भनेर ।

Advertisement

भवनको छत कतै भत्किसकेको छ । कतै चर्केर खस्न ठिक्क परेको सिमेन्ट सहितको ठूला–ठूला उप्केरा छन् । ‘कतिवेला छतको चोइलो भत्केर खस्ने हो ? कुनै ठेगान छैन’, भीम अस्पतालका नाक, कान, घाँटीरोग विशेषज्ञ मिलन सेंढाइले भने, ‘सुरक्षाका दृष्टिले निकै जोखिमपूर्ण छ ।’

Advertisement

अहिलेसम्म भत्केर खसेको छतको उप्केरो कसैलाइ लागेको घटना नभए पनि झण्डै झण्डै लाग्नबाट बचेका घटना भने धेरै छन् । ‘भर्ना भएका बिरामीलाई हेर्ने की छतबाट खस्न लागेको उप्केरालाई ?’, भर्ना भएकी सुत्केरी श्रीमतीको हेरचाह गर्दै गरेका पाल्पा तिनाउ गाउँपालिका–३ का ओमप्रकाश पाण्डेले भने, ‘उपचार गर्न अस्पतालमा आएका विरामी उल्टै अर्को समस्यामा पर्ने हो की ? भन्ने अर्को चिन्ता ।’ भर्ना भएका विरामी स्वयंले पनि आफ्नो बेडमाथि खस्न लागेको छतका टुक्रादेखेर झन मानसिक पीडामा पर्ने गरेको उनले सुनाए ।

अस्पताल प्रशासनले इण्डोर शाखा अन्यत्र स्थानान्तरण नगर्दासम्मका लागि सुरक्षित बनाउन खस्न लागेका छतका उप्केरा भूइँमा खसालिदिने गर्छ । तर, पनि भत्किर खस्न लागेका उप्केरा जताततै देखिन्छन् । भीम अस्पतालमा उपचारका लागि दैनिक ८ सय भन्दा धेरै विरामी आउने गर्छन् । यति धेरै विरामीलाई व्यवस्थापन गर्नु पर्ने भौतिक पूर्वाधार भने अधिकांश जीर्ण छन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद भण्डारीले आधुनिक भौतिक पूर्वाधारको अभावले यस खालको जोखिम मोलेर सेवा दिनु पर्ने बाध्यता रहेको बताए । पछिल्ला बर्षमा अस्पतालमा बढ्दै जान थालेको विरामीको चापलाई व्यवस्थित गर्न सकिने गरि भौतिक पूर्वाधार बनाउनका लागि आवश्यक पर्ने बजेट अस्पताललाई उपलब्ध हुन नसकेको उनको भनाइ छ ।

बिरामीको बढ्दो चापलाई पुरानो भौतिक संरचना र पहिलाकै जनशक्तिले धान्न नसक्ने अवस्थामा छ । अस्पतालको आवश्यकतालाई क्रमिक रुपमा पुरा गर्न २०७७ सालमा तत्कालीन लुम्बिनी प्रदेस मन्त्रिपरिषदले अस्पतालको योजनाबद्ध बिकासका लागि बहुबर्षीय बजेटमा समावेश गर्दै ४४ करोड रुपैयाँ लागतको गुरुयोजना स्वीकृत गर्यो ।

योजना अन्तर्गत तत्काल १४ करोड रुपैयाँ छुट्याएर निर्माण थालिएको आधुनिक प्रसुति गृहसहितको तीन तल्ले भवन अन्तिम चरणमा पुगेको छ । उक्त भवनमा गर्भवती, प्रसुति गृह, नवजात शिशु र आमाको स्याहार केन्द्र, शल्यक्रिया कक्ष, नियमित शिशुको खोप केन्द्र, ओपीडी, टिकट घर सेवा संचालन गर्ने योजना अस्पतालको थियो । बिरामीको सहजताका लागि लिफ्ट संचालन गर्ने भवनको डिजाइन रहेकाले र्यामवाला सिंढी (गुडाएर तल माथि गर्न सकिने) नबनाएर खण्डवाला सिंढी बनाइयो ।

गुरुयोजना अन्तर्गत बाँकी ३० करोड रुपैयाँ लागतमा अर्को जनरल भवन निर्माण, कम्पाउण्ड, पार्किङ, हरियाली तथा सुन्दरीकरण लगायतका निर्माण योजना अघि सारिएका थिए । ‘गुरुयोजना संघ र प्रदेश सरकार मिलेर सम्पन्न गर्ने र पुरा नहोउञ्जेल बजेट हरेक बर्ष थप्दै जाने योजना हो’, अध्यक्ष भण्डारीले भने, ‘तर, यस पटक गुरुयोजना अन्तर्गत कतैबाट पनि बजेट उपलब्ध नगराइएपछि अस्पताल सुधारका लागि थप भौतिक पूर्वाधार निर्माण सुरु गर्ने त परै जाओस् तयारी अवस्थामा रहेको पूर्वाधार संचालन समेत गर्न नसक्ने अवस्थामा छौं ।’

उनका अनुसार, गुरुयोजना अन्तर्गत अर्को जनरल भवन निर्माण भएपछि अहिले संचालनमा रहेको इण्डोर शाखासहितको कक्ष भत्काएर स्थानान्तरण गर्ने योजना हो । गुरुयोजना बाहेक अस्पताल सुधार कार्यक्रम र निर्माण सम्पन्न अवस्थामा पुगेको आधुनिक प्रसुती गृह संचालनका लागि साढे २ करोड रुपैयाँ बजेट अस्पतालले माग गरेकोमा कतैबाट पनि बजेट परेन ।

माग गरिएको साढे २ करोड रुपैयाँ बजेटबाट अस्पताल सुधार कार्यक्रम अन्तर्गत प्रसुती गृहमा लिफ्ट, अक्सिजन पाइपको बिस्तार, एमआरआइ मेशिन, फोहोर व्यवस्थापन उपकरण, एम्बुलेन्स, सववाहन, फर्निचर लगायतका उपकरण तथा सामानको व्यवस्थापन गर्ने योजना थियो ।

स्थानीय तह, प्रदेश र केन्द्र सरकारले आवश्यकता अनुरुप अस्पतालमा साधन श्रोत र जनशक्ति उपलब्ध नगराउँदा सर्वसाधारण विरामी समस्यामा पर्ने गरेका छन् । साधनश्रोत आफैले जुटाउन सक्ने आर्थिक सामथ्र्य अस्पतालसँग छैन । विभिन्न सहयोगी संस्था र दाताको सहयोगमा अस्पतालमा केही उपकरण र भौतिक पूर्वाधार त जुटेको छ । तर, त्यसले अस्पतालको बढ्दो आवश्यकतालाई पुरा गर्न सकेको छैन ।

‘बजेट अभावले अस्पतालमा विरामीका लागि उपलब्ध गराउन खोजिएका सवै सेवा र थप योजना अवरुद्ध हुने अवस्थामा पुगेको छ’, भण्डारीले भने, ‘प्रदेश सरकारले यस बर्षको बजेट बिनियोजन आवश्यकताको आधारमा र विवेकपूर्ण ढंगबाट नहुँदाको परिणाम यो अस्पतालले भोग्नु पर्ने स्थिति आएको छ ।’

अस्पतालको अवस्था र बिरामीलाई उपलब्ध गराउन खोजिएका सवै थप कार्यक्रमका वारेमा मुख्यमन्त्री, सरोकारवाला सवै मन्त्री र सचिवलाई वारम्बार अवगत गराउँदा पनि भीम अस्पताल उपेक्षामा परेको गुनासो उनले गरे । ‘आफ्ना अनुकुलका क्षेत्रमा र पहुँचको आधारमा बजेट छुट्याएर यो अस्पतालप्रति भेदभाव गरियो’, भण्डारीको आरोप छ ।

अस्पताल प्रशासनका अनु्सार, यस बर्षका लागि माग गरिएको साढे २ करोड रुपैयाँकै बजेटबाट अस्पतालमा हाल उपलब्ध रहेको एउटामात्र अप्रेशन थिएटर प्रसुति कक्षमामात्र प्रयोग भएकाले अन्य विरामीको शल्यक्रियाका लागि अर्को अप्रेशन थिएटर, सिटी स्क्यान र अल्ट्रासाउण्डका लागि दुई जना रेडियोलोजिष्ट थप गर्ने योजना थियो ।

अर्को अप्रेसन थिएटर संचालनमा ल्याएर पित्तथैली, हर्निया, एपेन्डिक्स, हाड भाँचिएका बिरामीको शल्यक्रिया गर्ने कार्यक्रम तय गरिएको थियो । यसका लागि अर्थोपेडिक्स, जनरल सर्जन र रेडियोलोजिष्टको माग प्रदेश मन्त्रालयमा गरिएको थियो । अहिले अस्पतालमा एकजनामात्रै रेडियोलोजिष्ट हुँदा अस्पतालमा बिरामीको चाप अनुसार अल्ट्रासाउण्ड सेवा उपलब्ध गराउन समस्या भएको अस्पतालका प्रशासन प्रमुख खिमबहादुर पाण्डेले बताए ।

उनका अनुसार, अस्पतालमा दैनिक बिरामीको संख्या ८ सय भन्दा धेरै हुने गर्छ । एकजना रेडियोलोजिष्टले दैनिक सरदर ४५ जनालाई मात्र सेवा दिन सम्भव हुन्छ । रेडियोलोजिष्टको सेवा लिन आउने बिरामीको संख्या नै दैनिक १ सय भन्दा धेरै छ । यस अस्पताललाई सरकारी स्तरबाट ५० वेडको स्वीकृत दरबन्दी हो । बिरामीको चाप थेग्न गाह्रो भएपछि अस्पताल व्यवस्थापन समितिले आफ्नै श्रोत र सहयोग जुटाएर १ सय २० बेड क्षमतामा संचालन गर्दै आएको छ ।

स्वीकृत ५० बेडका लागि विभिन्न विषयका विशेषज्ञ चिकित्सकसहित ७१ जना जनशक्ति उपलब्ध गराइने भनेर प्रदेश मन्त्रालयबाट अस्पतालमा पत्र पठाइएको भए पनि ९ जना उपलब्ध हुन सकेको छैन । अस्पतालमा उपचारका लागि भैरहवा र रुपन्देहीकामात्र नभएर पाल्पा, कपिलबस्तु, नवलपरासी र छिमेकी राष्ट्र भारतका सीमावर्ती क्षेत्रका विरामी समेत आउने गर्छन् ।

अस्पताल व्यवस्थापन समितिले २ जना चिकित्सक, ल्याव, स्टाफनर्स, फार्मेसी, हेल्थ असिस्टेन्ट, सिएमए, सरसफाइ कर्मचारी र कार्यालय सहयोगी गरि अतिरिक्त ४० जना जनशक्ति आफ्नै आर्थिक श्रोतमा व्यवस्थापन गर्दै आएको छ । बजेट बिनियोजन गरिएको प्रदेश सरकारको रातो कितावमा उल्लेख गरिए अनुसार अस्पतालको प्रशासनिक खर्च बाहेक बुटवलको लुम्बिनी प्रदेश अस्पताललाई २३ करोडदेखि अन्य अस्पताललाई न्युनतम १ करोड भन्दा धेरै रुपैयाँ उपलब्ध गराइएको छ । भीम अस्पताललाई भने नवजात शिशु सघन उपचार, शव राख्ने फ्रिज, प्रसुती गृहमा उपकरण र मरम्मतका लागि ३२ लाख रुपैयाँमात्र बिनियोजन भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) नुरुल होदाले एपेण्डिक्स र हर्नियाको शल्यक्रिया सुरु गरिसकिएको जनाउँदै यसका लागि आवश्यक पर्ने उपकरण र पूर्वाधार थप हुन जरुरी भएको बताए । ‘अस्पतालमा जुन किसिमबाट बिरामीको चाप बढेको छ, त्यसलाई व्यवस्थापन गर्न पहिलाकै पूर्वाधार र जनशक्तिबाट सम्भव छैन’, होदाले भने, ‘यस अस्पताललाई संघ तथा प्रदेश सरकारबाट रकमानान्तर गरेर भए पनि थप बजेट उपलब्ध गराउन अति आवश्यक छ ।’