May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

धान खेतमा माछापालन फस्टाउँदै

बर्दिया– बर्दियाको बढैयाताल गाउँपालिका–५, जगतपुरका किसान राम्रो आम्दानी हुन थालेपछि माछापालनमा आकर्षित भएका छन् । थोरै लगानी, मिहिनेत कम र धानखेतीबाट भन्दा दोब्बर आम्दानी हुन थालेपछि बढैयाताल गाउँपालिकाका माछा पालनको हब बन्दै गएको हो । बढैयाताल–५ का किसान तोयानाथ भुसालले माछा खेतीमा थोरै लगानी, कम मिहेनत र राम्रो आम्दानी भएको बताउँछन् । यसै कारण माछा खेतीप्रति किसानहरु आकर्षित हुन थालेको उनले बताए ।

Advertisement

बढैयातालमा वार्षिक १ हजार ३ सय २० मेट्रिक टन माछा उत्पादन हुन्छ । धान खेतीबाट भन्दा माछाबाट मनग्ये आम्दानी हुन थालेका कारण यहाँका घरैपिच्छे माछा पोखरी छन् । बढैयाताल गापा–३ का पुष्प भुसालले परम्परागत खेतीबाट घर चलाउन धौ–धौ भएपछि ब्यवसायिक माछा पालन सुरु गरेको बताउँछन् । ‘०४१ सालदेखि बुबाले माछा खेती शुरु गर्नुभएको हो र अहिले पनि गर्दे हुनुहुन्छ,’ उनले भने ‘समयमा माछा पालन ब्यवसाय गरेर राम्रो आम्दानी गर्न सफल भएका छौं ।’ उनले लगानीको अुनुपातमा आम्दानी राम्रै हुने जनाए ।

Advertisement

बजारको समस्या पनि नहुनुु र माछा उत्पादन पनि राम्रो भएकोले यस क्षेत्रमा धमाधम धान खेत मास्दै माछा पाल्ने कृषकको संख्या बढ्दो छ । स्थानीय किसान सीताराम चौधरीले माछामा रोग लाग्दा ल्याब र प्राविधिक नहुँदा भने अन्दाजको भरमा औषधि उपचार गर्नु परेकोे दुखेसो पोखे । कम्तिमा यहाँ सरकारले ल्यावको व्यवस्थासहित विज्ञ मत्स्य प्राविधिकको व्यवस्था गर्नुपर्ने उनले जनाए । माछाका भुराको माग धेरै छ । यसै कारण ब्यवसायीको माग अनुसार भुरा उत्पादन गर्ने उद्देश्यले मत्स्य ह्याचरी संचालन गरिएको छ ।

स्थानीय किसान गणेश शर्मा लम्सालले बजारको समस्या नभए पनि भारतबाट आउने माछाले प्रभावित पारेको बताउँछन् । प्रतिबन्धित भारतीय माछा बर्दियामा आएर सस्तोमा बेच्दा यहाँ उत्पादन गरेका किसानलाई मर्का परेको उनले गुनासो पोखे । उत्पादित माछा जिल्लाका स्थानीय वजारका साथै नेपालगंज, कोहलपुर, चिसापानी, कैलाली, दाङ्ग, सुर्खेत लगायतका क्षेत्रहरुमा समेत विक्री हुने गरेको छ । वेलावेलामा भारतबाट आउने सस्तो माछाले यहाँका किसान प्रभावित हुने गरेको गुनासो पोखे ।

साविकको कृषि विकास कार्यालय बर्दियाले आर्थिक वर्ष ०६४–०६५ देखि अभियानमुखी मत्स्य उत्पादन कार्यक्रम लागू गरेको थियो । उक्त कार्यक्रमले बढैयातालमा व्यवसायिक माछापालक किसान बढ्दै गएका छन् । बढैयाताल–३ का किसान शोभानाथ भुसालले किसानहरूले धानखेत मासेर माछा पोखरी खनिरहँदा स्थानीय सरकारले माछापालनसम्बन्धी सीप र तालिम दिएर किसानको क्षमता अभिवृद्धि गर्नुपर्ने खाँचो देखिएको बताउँछन् ।

त्यसका साथै व्यावसायिक माछापालन सम्बन्धी ज्ञान भएको कृषि प्राविधिकसम्म किसानको पहुँच सहज भएमा किसानको मिहिनेत र लगानी सुरक्षित हुनसक्ने उनको भनाई छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यालय, बर्दियाका प्रमुख कृष्ण धितालले अघिल्लो वर्षमा माछाजोन विस्तार जोन कार्यक्रम अन्तर्गत माछाको भुरामा ५० प्रतिशत अनुदान दिएको बताए ।

‘यस क्षेत्रमा २ सय ८८ हेक्टरमा माछा पोखरी छन् । जिउँदा माछा बिक्री केन्द्र निर्माणका लागि ५ लाख लगानी गरिएको छ,’ उनले भने, ‘माछामा लाग्ने रोग निवारणका लागि ३ लाख २५ हजार र माछा खेतीका लागि उपयुक्त ठाउँमा पोखरी निर्माणका लागि १० लाख २४ हजार लगानी गरिएको छ ।’ आर्थिक वर्ष ०७८–०७९ देखि माछा पोखरीमा अक्सिजनको कमी नहोस् भनेर एरिएटर वितरण, बोरिङ जडान, माछाका भुरा वितरण लगायतका काम भइसकेको छ ।