सिमेन्ट र क्लिंकर निर्यात उत्साहपूर्ण


भैरहवा– डेढ दशक अघिसम्म सिमेन्ट र क्लिंकरमा नेपाल परनिर्भर थियो । १० प्रतिशत स्वदेशी उत्पादन हुन्थ्यो भने बाँकी भारतको भर पर्नु पथ्र्यो । तर, अहिले भने अवस्था फेरिएको छ । नेपालबाट भारततर्फ सिमेन्ट, क्लिंकर र फलामे डण्डी निर्यात भइरहेको छ । चालु आर्थिक वर्षको बजेटमा सरकारले ५० करोड माथि स्वदेशी उत्पादन बाह्य मुलुक निर्यात गर्दा ८ प्रतिशत सहुलियत (इन्सेन्टिभ) दिने नीति लिएपछि रुपन्देही, नवलपरासी र कपिलवस्तुमा रहेका उद्योगले धमाधम भारततर्फ सिमेन्ट, क्लिंकर र छड निर्यात सुरु गरेका हुन् ।
चालु आवको सुरुवातबाटै पश्चिम नवलपरासीमा रहेको पाल्पा सिमेन्ट इण्डष्ट्रिज र रुपन्देहीमा रहेको अर्घाखाँची सिमेन्ट लिमिटेड तथा श्री स्टील उद्योगले आफ्ना उत्पादन भारत निर्यात सुरु गरेका थिए । ‘सरकारले ८ प्रतिशत निर्यात सहुलियत दिन सुरु गरेपछि उद्योगी स्वदेशी सिमेन्ट, क्लिंकर र छड निर्यातमा अग्रसर भएका हुन् । यसले हामीलाई उत्साहित बनाएको छ’, कपिलवस्तुको बालाजी सिमेन्ट इण्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक रौनक अग्रवालले भने ।
अहिले अर्घाखाँची र पाल्पा सिमेन्टले क्लिंकर र सिमेन्ट तथा श्री स्टील्सले भारततर्फ रुपन्देहीको बेलहिया नाका हुँदै छड निर्यात गरिरहेका छन् । सोमबारदेखि कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको बालाजी सिमेन्ट इण्डष्ट्रिज प्रालिले पनि कृष्णनगर नाका हुँदै भारततर्फ सिमेन्ट निर्यात सुरु गरेको छ । बालाजीले ४२ टन सिमेन्ट भारतको सिद्धार्थनगरस्थित एक सप्लायर्सलाई निर्यात गरेको हो । योसँगै लुम्बिनी प्रदेशबाट सिमेन्ट निर्यात गर्ने उद्योग तीन पुगेका छन् ।
मुलुक अहिले सिमेन्ट र क्लिंकर उत्पादनमा आत्मनिर्भर छ । पछिल्लो दशकमा दर्जनौं ठूला उद्योग खुलेका छन् । चुरे पहाडबाट क्लिंकरका लागि कच्चा पदार्थ चुनढुंगा उत्खनन्ले सहजता दिलाएको छ । यहाँका एकपछि अर्को उद्योगले निर्यात सुरु गर्दा भारतमा नेपाली उत्पादनको बजार विस्तार भइरहेको छ भने मुलुकको अर्थतन्त्रमा थप टेवा पुगिरहेको छ ।
सिमेन्ट, क्लिंकर र छड निर्यात गर्दा भारत सरकारको ब्यूरो अफ इण्डियन स्ट्यान्डर्ड्स (बिआईएस)ले गुणस्तर सम्बन्धी इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट (आइएसआई) मार्क दिनुपर्छ । नेपालको गुणस्तर विभागले पनि गुणस्तर प्रमाण दिनुपर्छ । उद्योगीले यी सबै प्रक्रिया पूरा गरेका छन् । भारतबाट गुणस्तर प्रमाण चिन्ह लिन पछिल्लो समय धेरै उद्योगीले अनुरोध गरिसकेका छन् । यसले पनि थप उद्योगी निर्यातका लागि प्रोसाहित भएको देखिन्छ ।
नेपालको चुरे पहाडमा उपलब्ध चुन ढुंगाबाट उत्पादित सिमेन्टको गुणस्तर भारतबाट आयातित क्लिंकरको भन्दा धेरै राम्रो छ । अर्कातर्फ भारतको उत्तर प्रदेशका अधिकांश जिल्लामा त्यहाँका अन्य स्थानबाट भन्दा नेपालबाट सिमेन्ट, क्लिंकर आयात गर्दा सस्तो पर्न जान्छ । यसले गर्दा पनि नेपाली उत्पादनले भारतमा राम्रो बजार पाउने सम्भावना बढी छ । पछिल्लो समय नेपालबाट भइरहेको निकासीको सफलताले व्यवसायी उत्साहित छन् । आर्थिक मन्दी र निर्माण कार्यमा कमी आइ स्वदेशमा खपत घटिरहेको बेला आफ्ना उत्पादनले भारतमा बजार बिस्तार गरिरहँदा निर्यातकर्ता खुशी भएका हुन् ।
‘अनुदानमा सहजता ल्याउने र भैरहवा नाकामा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आईसीपी) लाई रेल्वेसँग जोड्ने हो भने निर्यात अझै बढ्छ । बढ्दो ब्यापार घाटा र परनिर्भरतालाई रोक्न पनि यसका लागि सरकारले पहल गर्नुपर्ने देखिन्छ’, चन्द्रौटा उद्योग बाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पाण्डेले भने, ‘यसका साथै नेपाल–भारत दुबैतिर ल्याव परीक्षण पनि सहज हुनुपर्छ ।’
व्यवसायीले सहुलियत दिने र ल्याब परीक्षण प्रक्रियालाई सरल र छिटोछरितो बनाउन आग्रह समेत गरेका छन् । यस्तो भएमा दीर्घकालसम्म निर्यातलाई सहज हुने उनीहरुको भनाई छ । ‘केही समय निर्यात गरेर रोकियो भने राम्रो हुँदैन, त्यसैले निजी क्षेत्र र सरका दुबैले सहज वातावरण बनाउनुपर्छ’, पाण्डेले भने ।
सरकारले सिमेन्ट, छडलगायत ३० भन्दा बढी वस्तुमा निर्यात अनुदान दिने घोषणा यस अघि नै गरिसकेको छ । सरकारले ५० करोडभन्दा बढीको स्वदेशी उत्पादन विदेश निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत अनुदान दिने नीतिले पनि सिमेन्ट उद्योगीहरुलाई धेरै राहत भएको बालाजी सिमेन्टका संस्थापक सन्दिप काडियाको भनाइ छ ।
भैरहवा भन्सारको तथ्यांकअनुसार बेलहिया नाका हुँदै चालु आर्थिक वर्षको बैशाखसम्म सिमेन्ट २३ करोड ३ लाख ६२ हजार रुपैयाँको ३० हजार ८७४ टन, क्लिंकर २९ करोड १८ लाख ४१ हजार रुपैयाँको ४५ हजार ३६४ टन र छड ५८ लाख ५ हजार रुपैयाँको ६८ टन निर्यात भएको छ । ‘निर्यातका लागि सरकारी नीतिका कारण यो सम्भव भएको हो’, भैरहवा भन्सार कार्यालय, रुपन्देहीका सूचना अधिकृत युवराज भट्टराई भने, ‘मुलुकमा निर्यातजन्य वातावरण राम्रो बन्दै गएको छ ।’
उद्योगले निर्यात सुरु गरेसँगै ब्यापार घाटामा थोरै भए पनि कमि आउने विश्वास गरिएको छ । ‘जति बढी सामान भारत लगायत अन्यत्र निर्यात गर्न सक्छौं, त्यति धेरै व्यापार घाटामा कमी आउँछ । त्यसैले निर्यातलाई दिगो बनाउने वातावरण सरकारले बनाइरहनु पर्छ’, सिमेन्ट उद्योगी ऋषिकेष अग्रवालले भने, ‘हामीले उत्तर प्रदेशका ८–१० जिल्लामा मात्रै पनि ािर्यात गर्न सक्यौं भने मुलुकको अर्थतन्त्रलाई राम्रो टेवा पुग्छ ।’ आयात मात्रै हुने गरेको नेपालमा पछिल्लो समय भइरहेको सिमेन्ट, क्लिंकर र छड निर्यातले केही सकारात्मक सन्देश दिएको छ ।
उत्तर प्रदेशका अधिकांश जिल्लामा भारतका अन्यत्र ठाउँबाट सिमेन्ट, क्लिंकर ल्याउँदा ७ सयदेखि १ हजार किलेमिटर दूरी टाढाबाट ल्याउनुपर्छ । नेपालबाट लैजाँदा यसको आधा दूरी पर्छ । ‘समय र लागत कम पर्ने भएपछि नजिकका भारतीय जिल्लाहरुका बासिन्दा नेपाली सिमेन्ट आयात गर्न अग्रसर छन्’, अग्रवालले भने, ‘त्यसैले सरकारले आवश्यक सहयोग गर्दै निर्यातलाई सहजीकरण गरे हामीले निर्यात कयौं गुणा बढाउँछौं ।’
लेखकको सम्वन्धमा