March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

सिद्धार्थ बिजनेश ग्रुपको लोभलाग्दो व्यवसायिक छलाङ

भैरहवा– व्यवसाय सुरु गरेको साढे दुई दशकमा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिले व्यवसायिकरुपमा छलाङ मारेको छ । भ्रमण वर्ष सन् १९९८ अर्थात् बि.सं. २०५४ को सन्दर्भ पारेर कैलालीको टिकापुरमा सानो ग्रामीण स्तरको खाजा पसलबाट प्रालिका संस्थापक अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपानेले व्यवसाय सुरु गरेका थिए । खाजा पसलबाट सुरु भएको व्यवसायिक यात्रामा न्यौपानेहरुको लगानी रहेको ग्रुपको मुलुकका विभिन्न ठाउँमा व्यवसाय विस्तार भएको छ ।

Advertisement

‘आफ्नो जन्मभूमीबाट केही गर्छु भन्ने दृढ अठोटका साथ मैले २४ वर्ष अघि व्यवसाय सुरु गरेको थिएँ’, अध्यक्ष न्यौपानेले भने, ‘अहिले व्यवसाय मुलुकका मुख्यमुख्य शहरहरुमा विस्तार भइसकेको छ । कतिपय ठाउँमा व्यवसायिक साझेदारी गरेर व्यवसाय संचालन गरेका छौं भने कति ठाउँमा एकल लगानी गरिएको छ ।’ ग्रुपले आफ्नो व्यवसायिक यात्रालाई यहाँसम्म ल्याइपुर्याउँदा ब्यबस्थापकीय साझेदारी तथा आफ्नै एकल लगानीमा गरी होटल, रेष्टुरेन्ट, रिसोर्ट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इष्टिच्यूट लगायत हस्पिटालिटी तथा ट्रेडिङ, कृषि उत्पादन, आइटी सेवा लगायतका बिभिन्न ब्यबसायिक बिधाहरुमा संजाल बनाएर संगठित तथा संस्थागत रुपमा अघि बढिरहेको छ ।

Advertisement

‘हामीले आफ्ना सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखेर न्युनतमदेखि अधिकतमसम्मका आतिथ्यता तथा पर्यटनसँग जोडिएका गुणस्तरीय सेवाहरु प्रदान गर्दै आएका छौं । २४ वर्षको हाम्रो व्यवसायिक यात्रमा हामीले संचालनमा ल्याएका योजनाहरु सफल भएका छन्’, अध्यक्ष न्यौपानेले भने, ‘यसले हामीलाई हौसला मिलेको छ, आगामी दिनमा लगानी विस्तार गर्दै मुलुकका ७७ वटै जिल्ला र पर्यटकीय स्थलहरुमा सेवा बढाउने तयारी गरिरहेका छौं ।’

ग्रुपले कैलालीको टिकापुरबाट सुरु गरेको सिद्धार्थको व्यवसायिक यात्रा हालसम्म आइपुग्दा आफ्नै लगानी तथा ब्यबस्थापनमा कर्णालीको चिसापानी, बाँकेको नेपालगन्ज, रुपन्देहीको बुटवल र भैरहवा, चितवनको चुम्लिङटार, काठमाडौंको सुन्धारा, तिनकुने, पुरानो वानेश्वर, बौद्ध ललितपुरको धोविघाटमा होटल तथा रेस्टुरेन्ट सेवा संचालनमा ल्याएको छ । ‘ब्यबसायिक यात्राको आजको यस ऐतिहासिक दिनसम्म आइपुग्नुमा सबैको सामूहिक मिहिनत, लगनशिलताका साथै सेवालाई विश्वास गर्नुहुने अतिथिहरु, कर्मचारीहरु, सामाजिक तथा राजनीतिक व्यक्तित्व, उद्योगी, व्यवसायी, बुद्धिजीवी, संचार जगत्, संघसंस्था लगायत सबैको महत्वपूर्ण योगदान रहेको स्मरण गर्नैपर्छ’, न्यौपानेले भने, ‘साथै यस उपलब्धीप्रति सबैमा हार्दिक आभारसहित यो खुसी बाँढ्न चाहान्छौं ।’

ग्रुपले एस क्याफे ब्राण्ड नाम रेहेका क्याफे सेवाहरु समेत संचालन गरेको छ । बाँकेको नेपालगन्ज र कोहलपुर, काठमाडौंको तिनकुने, आर्मी अफिसर क्लब जङ्गी अडा परिसर, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसर भित्र मनमोहन कार्डियो तथा सुरेश वाग्ले भवनमा क्याफे सेवाहरु संचालन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णप्रसाद न्यौपानेका अनुसार ब्यबस्थापन साझेदारी कन्चनपुरको महेन्द्रनगर, दाङको लमही, कपिलवस्तुको चन्द्रौटा, नुवाकोटको बटार, मोरङको विराटनगर, झापाको विर्तामोडमा होटल तथा रेस्टुरेन्ट संचालनमा छन् ।

सिद्धार्थ ग्रुपले हस्पिटालिटीसँगै अन्य सेवा तथा उत्पादनका क्षेत्रमा पनि लगानी गर्दै आएको छ । ट्रेडिङतर्फ सिद्धार्थ हस्पिटालिटी मार्ट र आइटीतर्फ सर्व टेक्नोलोजी, कृषि उत्पादनतर्फ वायोटिका, इन्स्टिच्युटतर्फ सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटी ब्रान्ड नाममा सेवा प्रवाह तथा वस्तु उत्पादन गर्दै आएको छ । ब्यवसायिक क्षेत्रसँगै सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यकासाथ सिद्धार्थ एशोसिएसन फर केयर एण्ड रेस्पोन्सिबिलिटी (साकार) मार्फत् सामाजिक कार्यहरु पनि गर्दै आइरहेको सीईओ न्यौपाने बताए ।

विभिन्न स्थानहरुमा गरेर सिद्धार्थले २४ वटा शाखा मार्फत् गुणस्तरिय हस्पिटालिटी सेवा प्रदान गर्दै आएको उनले जनाए । नेपालगन्जमा सन् २००८ मा औपचारिक रुपमा चारतारे होटेलको आवद्धता प्राप्त गरी सेवा प्रवाह गर्दै आइरहेको छ । हाल भैरहवामा आगामी नयाँ वर्ष बि.सं.२०८० को प्रारम्भदेखि नै पाँच तारे होटल सञ्चालनको अन्तिम तयारीमा छ । भैरहवामा निर्माणाधीन पाँचतारे सिद्धार्थ होटल करिब ४ बिघा क्षेत्रफलमा फैलिएको छ । डिलक्स, एक्ज्युकेटिभ स्विट, स्विट र प्रेसिडेन्सियल स्विट गरी चार स्तरमा होटलका कोठाहरु वर्गीकरण गरिएको । यो होटलमा ८५ वटा कोठाहरु, लबिलौउन्च, अल डे डाइनिङ, रुफ टप रेस्टुरेन्ट तथा स्विमिङ पुल फिटनेस, स्पा, साउना र ज्याकुजीसहितको हेल्थ क्लब सेवा, गार्डेन, पार्किङ स्थलसहितको १२ हजार स्क्वायर फिटको सम्भवतः नेपालकै ठूलो सभाहलदेखि ३ वटा सेमिनार हल र एउटा मिटिङ रुम यस बनिरहेको बताइएको छ ।

करिब साढे २ अर्वको लगानी रहेको यो पाँचतारे होटल पूर्ण संचालनमा आइपुग्दा करिब ३ सय कर्मचारीले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने संचालकले बताएका छन् । ‘होटल व्यवसायलाई थप गुणस्तरीय र ब्यापक बनाउने उद्देश्यका साथ ग्रुपले देशका अन्य स्थानहरुमा समेत सेवा विस्तार गर्ने तयारी गरिरहेको छ’, कम्पनीका सीईओ न्यौपानेले भने, ‘निकट भविष्यमा जुम्लाको लाम्रा, चितवनको सौराहा तथा इलामको कन्याम चिया वगानमा रिसोर्ट तथा पाल्पामा वायोटिकामार्फत् कृषि उत्पादन गर्ने लक्ष्य राखेका छौं । यस्तै, कैलालीको धनगढी, कास्कीको पोखरा, काभ्रेको धुलिखेलमा होटल तथा रिसोर्ट संचालन गर्ने आगामी योजना छन् ।’

न्यौपानेले न्यानो आतिथ्यता, संस्कारयुक्त मित्रवत ब्यबहार, परिमाणमा पनि गुणस्तरीय र परिणामयुक्त सेवा दिन सक्नु सिद्धार्थका विशेषताहरु भएको बताए । ‘यही कारण र आवद्ध सबै कर्मचारीहरुलाई सेयर सदस्यकारुपमा आवद्ध गराई अपनत्वको भाव विकास गरेर हातेमालो गर्नु नै सिद्धार्थको पृथक पहिचान हुन्’, उनले भने । २४ वर्षको यात्रामा आइपरेका ठूलाठूला प्राकृतिक विपत्ति, रोगको महामारी, संक्रमण, राजनीतिक घटनाक्रम तथा यसका कारण छाएको आर्थिक मन्दीबीचमा पनि आफूहरुले सेवालाई अविछिन्न राख्न सफल भएको अध्यक्ष न्यौपानेले बताए । ‘ब्यबसाय भनेकै चुनौतिहरुलाई चिरेर आफूलाई स्थायित्व दिनु र स्थापित हुन सक्नु हो । यो हाम्रो २४ बर्षे यात्रामा हामीले बुझेको यथार्थ पनि हो’, उनले भने ।

नेपालमा भएका अथाह प्राकृतिक स्रोतसाधन, साँस्कृतिक सम्पदाहरु, फरक भौगोलिक वनावट, रीतिरिवाज, चालचलन, साँस्कृतिक कला, शैली आदिले गर्दा नेपाल पर्यटनका लागि उत्कृष्ट गन्तव्यस्थल मानिएको र यसलाई अपनत्व ग्रहण गर्दै सिद्धार्थले व्यवसायिक यात्रा अघि बढाएको संचालक बताउँछन् । ‘यी अथाह सम्भावनाबीच एउटा गुणस्तरीय आतिथ्य सेवा प्रदायक ब्राण्डका रुपमा स्वदेश तथा विदेशमा अझ परिचित र स्थापित हुने प्रण गरेका छौं । नेपालमा पर्यटन तथा आतिथ्यसँग सम्बन्धित ब्यबसाय धरासयी बनिरहेको चर्चा चालिरहँदा ब्यबसायीहरुमा शंकाउपशंका उब्जिरहँदा सम्भावना कति छ भन्ने उदाहरण हामी नै काफी छौँ’, अध्यक्ष न्यौपाने भन्छन्, ‘हाम्रो व्यवसायिक यात्रामा आइपुग्दा बिकट पहाडी क्षेत्रदेखि नेपालका प्रायः सबै ठूला शहरहरुमा हाम्रा सेवाहरु विस्तार भएका छन् । अहिले १ सय २० जना सेयर सदस्यहरु यस ब्यबसायिक छातामा आवद्ध भएका छन् ।’

ग्रुपका अनुसार सबै शाखाबाट प्रत्यक्ष र अप्रत्यक्ष गरि १ हजार ६ सय जनाले रोजगारी पाएका छन् । ‘यी उपलब्धिहरुलाई हामीले हाम्रो सफलता मापन गर्ने आधारका रुपमा लिएका छौँ । अझ थप उर्जाका साथ यस वुद्धभूमि भैरहवामा पाँचतारे होटल संचालन जुटिरहेका छौँ । आगामी दिनहरुमा सबैको साथसहयोग लिएर सिद्धार्थलाई अन्तर्राष्ट्रिय ब्राण्डका रुपमा स्थापित गराउने लक्ष्यका साथ अगाडि बढिरहेका छौँ’, अध्यक्ष न्यौपानेले भने, ‘हामी आगामी दिनमा हामी भन्दा पहिले स्थापित भएका अग्रज कम्पनी, निकाय तथा व्यक्ति विशेषबाट थप पाठ सिक्दै सबैबाट साथसहयोग र प्रेरणा लिँदै र दिँदै अघि बढ्ने विश्वास दिलाउँछौँ ।’ ग्रुपले २५ औं वर्ष प्रवेशको अवसरमा आफ्ना शाखाहरुमा विभिन्न छुटको अफरसमेत लिएको छ । सोमबार साँझ लुम्बिनी मुख्यमन्त्री लिला गिरीले ग्रुपको २५ औं वार्षिकोत्सवमो उद्घाटन गर्ने कार्यक्रम तया भएको छ ।