February 7, 2023, Tuesday
२४ माघ २०७९, मंगलवार

भैरहवाः पहिला धान झुल्थ्यो, अहिले घरैघरले भरियो

भैरहवा– ठाउँ–ठाउँमा स–साना टिन र खरले छाएका घर थिए । दुई–चार घर मिलेर छरिएर बनेका ५–७ वटा वस्ती थिए । अहिले भैरहवा बहुमुखी क्याम्पस भएको ठाउँमा एअरपोर्ट थियो । त्यसवरीपरि र अहिलेको बेलहिया–बुटवल सडकखण्ड छेउछाउ धान फल्थ्यो, २००९ सालसम्म । यीबाहेक भैरहवाको अधिकांश क्षेत्रमा धानका बाला झुलेका हुन्थे । २००९ सालपछि भैरहवा–बुटवल आउजाउ गर्ने सडक बन्यो । ‘सडक बनेपछि भैरहवामा धमाधम सरकारी कार्यालय खुल्न थाले । घरहरु बने । व्यवसाय सुरु भयो’, भैरहवाका पुराना व्यापारी नारायणप्रसाद अग्रवालले भने, ‘२०११ सालपछि भैरहवाको विकासले फड्को मार्न थाल्यो । उसबेला खेती हुने जमिनमा घरहरु ठडिए ।’

Advertisement

पाकापुस्ताका अनुसार भैरहवा २०१० सालतिर भैरहवा गाउँ, मेउडिहवा, पक्लिहवा, शान्तिनगर, बसडिला, नारायणस्थान, गल्लामण्डी लगायतका क्षेत्रमा मात्रै पातलो बस्ती थियो । अहिलेको हाटबजार भएको ठाउँमा भन्सार कार्यालय थियो । जनकपथ, शान्तिनगर, भिमकालीपथ, अन्नपूर्णटोल, सुगरमिल, श्रद्धापथ, विपीपथ, बैंकोलोनी लगायतका ठाउँका बस्ती थिएन । यी ठाउँमा राम्रो धान, गहुँ फल्थ्यो । तरकारी लगाइन्थ्यो । यहाँ उत्पादित धान, गहुँ र तरकारीले खान पुग्थ्यो । धान भारत निकासी समेत हुन्थ्यो । तरकारी उत्पादन पनि राम्रो थियो । वरीपरि हरियाली जंगल थियो । स्वच्छ हावा बहन्थ्यो । त्यसबेला भैरहवाको ९९ प्रतिशत जनिमा धान, गहुँ र तरकारी खेती गरिन्थ्यो ।

विस्तारै भैरहवालगायत रुपन्देहीमै तीव्र सहरीकरण सुरु भयो । धान, गहुँ झुल्ने खेतीयोग्य जमिन घर तथा उद्योगधन्दा बनेपछि मासिँदै गयो । ‘उतिबेला रुपन्देहीमा फलेको धान भारतको केरलासम्म निकासी हुने गरेको अहिलेजस्तै लाग्छ’, अग्रवालले भने, ‘अहिले जताततै घर बनेका छन् । सबैवस्तु भारतबाट आयात गर्नुपरेको छ ।’ रुपन्देहीमा मात्रै पछिल्लो डेढदशकमा साढेसात हजार जति खेतीयोग्य जमिन मासिएको बताइन्छ । नगरले निकालेकोे तथ्यांकअनुसार सिद्धार्थनगरको खेतीयोग्य जमिन मासिएर दुई हजार ९ सय हेक्टर क्षेत्रफलमा खुम्चिएको छ । २००९–२०१० सालतिर २५० को हाराहारीमा घरधुरी रहेको सिद्धार्थनगरमा अहिले घरधुरी बढेर १२ हजार ३२९ पुगेको छ ।

वि.सं. १९९१ साल अघि रुपन्देही जिल्लाको सदरमुकाम बेथरीमा थियो । त्यसपछि भैरहवामा सारिएको हो । भैरहवामा सदरमुकाम सारेपछि यहाँ अचाक्ली बस्ती विकास भएको हो । धान फल्ने खेत मासिएको छ । पछिल्लो समय प्लटिङ गरेर खेतीयोग्य जमिनमा घर तथा कलकारखान बनाइएको छ । खासगरी पछिल्लो डेढ दशकमा भैरहवा क्षेत्रमा घर निर्माण तीव्र बढेको छ । बसाइँसराई गरेर आउने उत्तिकै धेरै छन् । पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, पर्वत, प्यूठान, लम्जुङ, तनहुँ, गोरखा, बाग्लुङका धेरै नागरिकको रोजाई भैरहवा क्षेत्र पर्ने गरेको छ ।

३६.०३ वर्गकिमी क्षेत्रफलमा फैलिएको नगरमा १३ वटा वडा छन् । २०७८ को जनगणना अनुसार ७६ हजार ३०७ जनसंख्या छ । रोजगारी, व्यापार व्यवसाय र अन्य विविध कारणले यहाँ बस्नेहरुको संस्था जनसंख्या भन्दा बढी छ । घरधुरी बढेको बढ्यै छन् । ‘पछिल्लो पाँच वर्षको आँकाडा मात्रै हेर्ने हो भने पनि वस्ती विकास असाध्यै बढेको देखिन्छ’, सिद्धार्थनगर नगरपालिका महाशाखा प्रमुख इन्जिनियर जीवन अर्यालले भने, ‘धेरै सुविधाहरु भैरहवा सहरमा पाइने भएकाले पनि घर बनाई यतै बसोबास गर्नेको संख्या बढ्दै गएको हो ।’ नगरपालिकाको तथ्यांक हेर्ने हो भने प्रत्येक वर्ष ६–७ सयको हाराहारीमा घर बनिरहेका छन् । प्लटिङले केही मात्रामा भएको खेतीयोग्य जमिन पनि मासिएको मासियै छ ।

नग इस्तियाक अहमद खाँनले कृषियोग्य जमिनमा घर भरिएकाले अब यहाँको विकास पर्यटनबाट गरिने बताउँछन् । ‘हामी निर्वाचित भएर आउनु अघि नै प्लटिङ र बसाइँसराईले नगर भरिभराउ भएको छ । खेतीयोग्य जमिन खुम्चिएको छ । यस क्षेत्रलाई पर्यटकीय हब बनाएर विकास गर्ने गरी हामीले काम अघि बढाएका छौं’, उनले भने । सिंचाई अभावमा पनि कृषकहरुले खेतीयोग्य जमिन जग्गा कारोबारीलाई विक्री गरी प्लटिङ गरिँदा धान फल्ने पहिलोको भैरहवामा घरैघरले भरिभराउ भएको छ । यद्यपि अहिले कित्ताकाट रोएिका कारण घरजग्गा कारोबार केही रोकिएको छ ।

‘विगतका ती दिन अब आउँदैनन् । भैरहवामा धान उत्पादन असम्भव भइसक्यो । भैरहवामा पनि धान फल्थ्यो र भन्ने दिन आएको छ । सिंचाई पनि छैन । यसलाई अब अन्य माध्यमबाट विकास गर्नुपर्छ’, पूराना व्यापारी अग्रवालले भने, ‘सहरीकरणलाई व्यवस्थित गरी नगरको विकास गर्नुको विकल्प छैन ।’ उनकाअनुसार २०१०–२०११ सालबाट विकासले गति पाएको भैरहवामा २०३५ सालतिरसम्म तीव्र गतिमा विकास भयो । त्यसपछि करिब साढेदुई दशक सुस्तायो । त्यसयता भने पुनः तीव्र विकास भएको छ । प्लटिङ गरेरै यहाँको खेतीयोग्य जमिन मासिएको छ ।

‘नीती नहुँदा मनलाग्दी प्लटिङले धान फल्ने खेत मासिएको हो । अब सरकारले कडाई गरी कृषियोग्य जमिनमा बस्ती बसाल्न र प्लटिङमा रोक लगाउनुपर्छ’, उनले भने, ‘अहिले केही रोकिएको छ, प्लटिङलाई अझै कडाई गर्नुपर्छ । आयातलाई प्रतिस्थापन गर्न पनि कृषियोग्य जमिन मास्नु हुँदैन ।’ पछिल्लो समय भैरहवामा निर्माण सम्पन्न भई संचालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारणले पनि लगानीकर्ताहरु यहाँ बढी लालायित छन् । यसले गर्दा खेतीयोग्य जमिन झनपछि झन साँगुरिँदै जाने चिन्ता बढीरहेको छ । खरिदकर्ता र प्लटिङ गर्नेहरुले खेती नगरी जमिन बाँझै राख्ने गरेका छन् ।

‘भैरहवामा १५ सय हेक्टर क्षेत्रफलमा पनि धानखेती हुँदैन’, महाशाखा प्रमुख अर्यालले भने । फराकिला सडक, यातायातको सहज पहुँच, शैक्षिक हब, स्वास्थ्य हब, भारतसँगको सीमानाका, मुलुककै दोस्रो ठूलो भन्सार नाका, एअरपोर्ट, बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार, स्थलमार्गी पर्यटक आउने मुलुककै ठूलो नाका, रोजगारीका सम्भावना, उद्योगधन्दा स्थापना जस्ता कारणले पनि भैरहवामा वस्ती विकास तिव्र छ । ‘आर्थिक विकास, पर्यटन, पूर्वाधारको धेरै सम्भावना भएकाले पनि खेतीयोग्य जमिन जोगाउन समस्या परेको छ’, अर्यालले भने ।