March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

लयमा फर्किंदै अष्ट्रिच व्यवसाय

भैरहवा– १५ वर्ष अघि रुपन्देहीका किसान सीपी शर्माले अष्ट्रेलियाबाट माउ चरा लिएर नेपालमै पहिलोपल्ट व्यवसायिक अष्ट्रिच पालन सुरु गरे । शर्माको लगानी रहेको अष्ट्रिच नेपाल प्रालिले जिल्लाको तिलोत्तमा–१७, मुडियारीमा अष्ट्रिच पालन गर्दै आएको छ । बीस विगाह क्षेत्रफलमा फैलिएको फार्म एकल लगानीमा २०६५ सालमा स्थापना गरिएको हो । यहाँ जमिनबाहेक डेढ अर्ब लगानी गरिएको छ । जमिनसहित तीन अर्ब लगानी भएको छ । फार्मले २०७१ चैत्र २६ देखि बजारमा अष्ट्रिचको मासु विक्री सुरु गरेको हो । फार्ममा करिब दुई सयले रोजगारी पाएका छन् ।

Advertisement

संकटपछि लयमा फर्किंदै
फार्मबाट सुरुको अवस्थामा दैनिक १५ लाखसम्मको अष्ट्रिच मासु विक्री थियो । यहीबीचमा भूकम्प, तराई–मधेश आन्दोलन, नाकाबन्दी भयो । यसले मासु विक्री घट्यो । पुनः विक्री बढीरहेकाबेला कोरोना भाइरसको महामारी आयो । यो बेला मासु विक्री नै भएन । थोरै मात्रामा विक्री भएको पनि निकै सस्तोमा बेचेको प्रालिका अध्यक्ष सीपी शर्मा बताउँछन् । महामारी घटेपछि अहिले भने अष्ट्रिच मासुको बजार सुधारिँदै गएको छ । अहिले दैनिक दुईदेखि तीन लाखसम्मको मासु विक्री हुने गरेको उनले बताए । फार्ममा अहिले तीन हजार अष्ट्रिच छन् । त्यसमध्ये एक हजार अष्ट्रिच दुई वर्षदेखि अतिरिक्त समय पाल्नु परेको शर्माले बताए ।

Advertisement

‘विक्रीदर अहिले बढीरहेको छ, फेरि कुनै विपत्ति आएन भने अबको दुई–तीन महिनामा सबै विक्री भइसक्छन्’, उनले भने । महामारीका कारण रोकिएको चल्ला उत्पादन अहिले सुरु गर्ने तयारी गरिएको उनले बताए । ‘बजार सुध्रिँदै गएको छ, अब चल्ला उत्पादन गर्छौं’, उनले भने । उनका अनुसार महामारीले खर्च धान्न नसकेपछि गर्दा ६ हजार चल्ला गाड्नु परेपछि नयाँ उत्पादन रोकिएको थियो । अहिले बुटवल, भैरहवा, लुम्बिनी, पोखरा, काठमाडौं, चितवन, धनगढी लगायत मुलुकभरका सहरमा राम्रो विक्री भइरहेको शर्माले बताए ।

‘अष्ट्रिचको मासु खान सबै उपभोक्ताको पहुँच पुगोस् भनेर हामीले न्यूनतम मूल्यमा तीन प्रकारको मासु बजारमा पठाउँदै आएका छौं’, उनले भने । प्रालिले मासु आफ्नै फर्ममा रहेको बधशालामा काटेर प्याकेजिंग गरी बजारमा पठाउने गरेको छ । देशका प्रमुख शहरमा रहेका भाटभटेनी डिपार्टमेन्टल स्टोरहरु, बिग मार्ट तथा अन्य डिपार्टमेन्टल स्टोर, सानाठुला मार्टहरु र नाम चलेका फ्रेस हाउसमा सहजै पाइने व्यवस्था मिलाइएको छ । खासगरी थोरै क्यालोरी, क्लोस्टोरको मात्रा निकै कम हुने, बोसो नहुने, भिटामिन प्रशस्त पाइने भएकाले पनि अष्ट्रिचको मासु अन्य मासुजन्य पदार्थभन्दा निकै स्वास्थ्यबद्र्धक हुने बताइन्छ ।

जटिल अवस्था

२०६५ बाट सुरु गरिएको अष्ट्रिच पालन सुरुमा राम्रो भयो । २०७१ चैत्र २६ देखि फार्मले बजारमा मासु विक्री सुरु गर्यो । मुलुकभरका सबैजसो मुख्य सहरहरुमा फार्मले मासु पठायो । दुई हप्तामै विक्रीदर उच्च भयो । त्यतिबेला फार्ममा मासुका लागि तयार अष्ट्रिच पाँच हजार बढी थिए । दुर्भाग्य २०७२ बैशाख १२ गते भूकम्प गयो । मुलुक भूकम्पको चपेटामा पर्यो, होटल व्यवसायलगायत पर्यटन क्षेत्र ठप्प भयो । यसले अष्ट्रिच मासु विक्री घट्यो । लगत्तै तराई–मधेश आन्दोलन भयो, भारतले अघोषित नाकाबन्दी गर्यो । यसबाट फार्म थप चपेटामा पर्यो ।

यी सबै व्यवधान छिचोल्दै फार्म फेरि लयमा फर्किंदै थियो । तर, तीन वर्ष अघि कोरोना महामारी आयो । यसले, भूकम्प, नाकाबन्दी र तराई–मधेश आन्दोलनले भन्दा भयानक क्षति पुर्यायो । मुलुकका सबै क्षेत्र ठप्प भए, अष्ट्रिच मासु विक्री शून्यमा झर्यो । ‘स्थिति यस्तो आयो की अष्ट्रिचका चल्लालाई खुवाउने दानासमेत भएन’, प्रालिका अध्यक्ष सीपी शर्मा भन्छन्, ‘त्यसपछि ६ हजार चल्ला खाल्डोमा गाड्यौं ।’ महामारीकै कारण २० करोड बढी क्षति व्यहोर्नु पर्यो ।

एउटा अष्ट्रिच चराको आयु ८० वर्षसम्म हुने भए पनि मासु खानका लागि १२ देखि १४ महिनामै उपयुक्त हुन्छ । उक्त अवधिमा एउटा अष्ट्रिच १५० किलोसम्म हुन्छ । यही समयमा मासु विक्री गर्न सकेमा मुनाफा हुने हो, लामो सयम पाल्न परेमा लागत बढी पर्ने र मासु खासै नबढ्ने भएकाले मुनाफा हुँदैन । त्यसैले समयमै विक्री गर्नुपर्ने बाध्यता हुने शर्मा बताउँछन् ।

‘एक त बजारको महोला राम्रो छैन, हरेक क्षेत्रमा महंगी छ, अर्कातर्फ लागत अत्यधिक भइसक्यो, बेलाबेला खर्च धान्नै समस्या हुन्छ । कोरोनाले गर्दा मासु खपत कम हुँदा मारमा पर्यौ’, प्रालि अध्यक्ष शर्माले भने । महामारीकै कारण अष्ट्रिच विक्री नहुँदा चल्ला उत्पादन र दाङको विजौरीमा रहेको फार्म बन्द गरिएको उनले बताए । तिलोत्तमाको फार्ममा मासुका लागि तयार ३ हजार अष्ट्रिच दुई वर्ष अतिरिक्त पालेको उनले बताए । ‘विक्री नहुँदा आवश्कता भन्दा लामो समय पाल्नु परेपछि । यसले करोडौं घाटा भएको थियो’, शमर्माले भने ।

खासगरी अष्ट्रिचको मासु नेपालीसहित चिनियाँ, युरोपियन र भारतीयहरुले बढी रुचाएर खान्छन् । कोरोना महामारीले पर्यटन क्षेत्र ठप्प हुँदा पर्यटक आगमन शून्य रह्यो । जसको प्रभाव अष्ट्रिच मासु विक्रीमा पनि पर्यो । यस्तो अवस्थामा पनि हरेस नखाएर आफूले अष्ट्रिच पालनलाई नछाडेको बताए । ‘म जत्तिको अर्बौं लगानी गरेको किसान हरेस खाए भने भोलिका दिनमा कुनै पनि मानिस कृषिमा आबद्ध हुँदैन भन्ने लाग्यो’, उनले भने, ‘त्यसैले पेसालाई निरन्तरता दिए, सबै असहज अवस्थाबीच सफल हुन्छु भन्ने विश्वास छ ।’

बजारीकरण भएन
एउटा अष्ट्रिच मासुका लागि योग्य बनाउन दैनिक १८०–२०० रुपैयाँ खर्च लाग्छ । लागत महंगो भएकाले पनि यसको मासु अन्यको भन्दा महंगो पर्छ । ‘अष्ट्रिच विदेशबाट ल्याएर पाल्न सुरु गरिएको चरा हो । यो ठूलो हुन्छ । पाल्न खर्च बढी छ तर यसको मासु खाँदा हुने फाइदा, बजारीकरण, नयाँ जातको अनुसन्धान सरकारी तबरबाट हुन सकेको छैन’, शर्माले भने, ‘सरकारले कुखुरा, बाख्राजस्तै प्रबद्र्धनात्मक कार्यक्रम नगर्दा हामीले समस्या झेल्नु परेको छ ।’

उनले आफू एक्लैको प्रयासले नहुने भन्दै यसको प्रबद्र्धनमा राज्यले सहयोग गर्नुपर्ने बताए । ‘लगानी हामी गर्छौं, तर राज्यले प्रबद्र्धनमा सहयोग त गर्न पर्यो’, शर्माले भने । रुपन्देहीबाट थालिएको अष्ट्रिच पालन विस्तार हुँदै जाँदा व्यवसायिक रुपमा पाल्ने किसानहरु १३ जना पुगेका थिए । सोकका लागि एकदुईवटा पाल्नेहरु एक सय भन्दा बढी थिए । तर, अहिले सबैले पाल्न छाडिसकेका छन् । मासुको राम्रो उत्पादन राम्रो र स्वास्थ्यका हिसाबले पनि निकै लाभदायक मानिने भएकाले अष्ट्रिच पालनमा धेरैको रुचि छ । तर, नयाँ जातबारे सरकारले अनुसन्धान र अन्य मासुजन्य पशुपंक्षीजस्तै अष्ट्रिच प्रबद्र्धनका काम नगर्दा क्षेत्र विस्तार र बजारमा सहज उपलब्ध हुन सकेको छैन ।

स्वास्थ्यका लागि उपयुक्त
खासगरी थोरै क्यालोरी, क्लोस्टोरको मात्रा निकै कम हुनु, बोसो नहुने, भिटामिन प्रशस्त पाइने भएकाले पनि अष्ट्रिचको मासु अन्य मासुजन्य पदार्थभन्दा निकै स्वास्थ्यबद्र्धक मानिने पशु चिकित्सक बताउँछन् । पशु चिकित्सक डा.परवेज आलम भन्छन्, ‘ब्लडप्रेशर र मुटुका रोगीहरुलाई पनि अष्ट्रिचको मासु निकै लाभदायक हुन्छ ।’ रातो भए पनि मासु सेवनले शरीरलाई निकै फाइदा गर्ने चिकित्सकहरु बताउँछन् ।

अष्ट्रिचको मासुमा प्रति १ सय ग्राममा प्रोटिन ३२ प्रतिशत, फ्याट १.२ ग्राम, आइरन ४.९, क्यालोरिज १ सय ११ ग्राम पाइन्छ । यस्तै, प्रतिसय ग्राममा पोटासियम ३ सय ५३ मिलीग्राम, फोस्फोरस २ सय ४, सोडियम, ७७, सिलिनियम ३६.६, म्याग्नेसियम २५, क्याल्सियम ६, जिंक ४.७२, कपर ०.१ सय ४८, म्याग्नेज ०.१८ मिलिग्रामलगायत ९ थरीका भिटामिन र ओमेगा ३ एन थ्रि फेट्टी एसिड ८ प्रतिशत पाइन्छ । यसैले पनि अन्य मासुभन्दा अष्ट्रिचको मासु स्वास्थ्यबद्र्धक हुने चिकित्सकहरु बताउँछन् । अष्ट्रिचको मासु तयार गरी १८ डिग्री सेन्टिग्रेडको तापक्रममा राखेर ६ महिनासम्म प्रयोग गर्न सकिन्छ ।

पर्यटकको रोजाई
निजी क्षेत्रबाट संचालित यो फार्ममा अष्ट्रिच चरा हेर्न आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । खासगरी फार्म आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । संघसंस्था, निजी तथा सामुदायिक विद्यालय, क्याम्पसहरु, क्लबहरु, किसान समूह र कृषि पेसामा आश्रित संस्थाहरुले अवलोकनका लागि आफ्नो पहिलो रोजाईमा अष्ट्रिच फार्मलाई लिने गरेको शर्माले बताए । अष्ट्रिच चराहरुसँग रमाउन र मासुको स्वाद लिन पाउने भएपछि आन्तरिकसँगै भारत तथा तेस्रो मुलुकका पर्यटक पनि यहाँ पुग्ने गरेका छन् ।

‘अष्ट्रिचको व्यवसायीकरणसँगै पर्यटक क्षेत्रको पनि प्रबद्र्धन भएको छ’, प्रालि अध्यक्ष शर्माले भने, ‘दैनिक यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकहरु घण्टौंसम्म रमाउने गरेका छन् । यसले पर्यटकीय विकासमा समेत योगदान पुगेको छ ।’ यहाँ कोरोना अघि दैनिक एक हजारको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनका लागि आउने गर्थे । अहिले भने घटेका छन् । शर्माका अनुसार अहिले सरदरमा दैनिक एक सय जना पर्यटक फार्मम पुग्छन् । फार्मभित्रै एउटा रेष्टुराँ छ । उक्त रेष्टुराँमा अवलोकन गर्न आउने पर्यटकले अष्ट्रिचका विभिन्न परिकारहरुको स्वाद लिन पाउने व्यवस्था गरिएको छ ।

‘रिचर्स गर्नेहरुलाई सहज होस् भनेर हामीले दाना बनाउनेदेखि अष्ट्रिच पालनपोषण तालिम पनि दिने गरेका छौं । जसले गर्दा रिसर्चकर्ताहरुको रोजाई फर्म पर्ने गरेको छ’, शर्माले भने । पछिल्लो समय विभिन्न मेलामहोत्सव तथा कृषि बजारीकरणहरुमा समेत अष्ट्रिच प्रदर्शनीका लागि पठाउने गरिएको छ ।

सहुलियत नपाएको गुनासो
नेपालमै अर्बौं लगानीमा पहिलोपटक शर्माले अष्ट्रिच पालन सुरु गरे पनि सरकारबाट कुनै किसिमको सहुलियत नपाएको बताए । ‘मुनाफामा सरकारी कडाई गरेर आयकर लिने गरेको छ तर सहुलियत केही दिएको छैन’, उनले भने । दानामा सहुलियत दिए पनि के सहज हुने उनी बताउँछन् । संकटमा करोडौं क्षति व्यहोर्दासमेत सरकारले केही नहेरेको उनले बताए ।

‘बैंक ब्याज र दानामा छुट नै दिन नसके पनि कसमेकम यस्तो महामारीमा किसनालाई सरकारले पुनर्कर्जा दिएको भए पनि सहज हुनेथियो’, उनले भने, ‘हामीले बैंक ब्याज नै मिनाहा गर त भनेका छैनौं, केही समयलाई ब्याजमा सहकीकरण गरे पनि राम्रो हुने थियो ।’ उनले सरकारी नीति किसानमैत्री नभएको बताउँदै कृषिलाई प्रोत्साहन नगरेसम्म मुलुकको व्यापार घाटा नघट्ने र आत्मनिर्भर पनि नबने बताए ।