September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

क्रसर उद्योग मालामाल, स्थानीय काकाकुल

भैरहवा– रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ स्थित नन्दननगरका राममिलन गोसाई तीन दिन अघि घरभित्रै थिए । चर्को गर्मीमा कामकाज गर्न सम्भव थिएन । त्यसैले घरभित्र बसेको उनले बताए । घरमा को हुनुहन्छ ? भनेपछि उनी बाहिर निस्किए । हालखबर सोधेपछि आफ्नो नाम बताए । नयाँ मानिस आएपछि पानी पिउनु हुन्छ ? भनेर सोधे । अम्खोरा हातमा लिएर नजिकैको चापाकल (नल्का) मा गए । चापाकालको हत्ता तलमाथि गरे । पानीको थोपा खसेन ।

Advertisement

बाल्टिनमा रहेको पानी हालेर चलाउँदा समेत नआएपछि दिक्क माने । नजिकै छिमेकीको घरमा गएर पानी ल्याएर दिए । ‘कहिलेकाँही दिनरात प्यासै सुत्नुपर्छ,’ उनले भने, ‘१० वर्षभन्दा बढी भयो, समस्या भयो ।’ उनका अनुसार खाना पकाउन, पिउन, नुहाउन, कपडा धुने पानीको खोजीमा सधैं भौतारिनु पर्छ । यो समस्या छिमेकमा क्रसर उद्योग सञ्चालन भएपछि सुरु भएको हो । क्रसरले चार इन्चको पाइपबाट पानी तान्न थालेपछि आसपासका बस्तीमा रहेका चापाकाल सुकेका हुन् ।

Advertisement

तिनाउ नजिकै रहेको गाउँको बाक्लो बस्तीसँगै लस्करै ७ वटा क्रसर उद्योग संचालनमा छन् । दैनिक गिटी–बालुवा प्रशोधन गर्ने यी उद्योगले मोटामोटा पाइप गाडेर बोरिङ संचालन गरिरहेका छन् । क्रसर उद्योगबाट २० मीटर नजिककै बस्ती छ । बस्तीका स्थानीय पिउने पानी अभावमा काकाकूल छन् । क्रसर उद्योगले गहिरो गरी गाडेका बोरिङले पानी तान्दा स्थानीयले गाडेका चापकलमा पानी आउँदैन ।

लामो समय पानीको हाहाकारमा रहेका यहाँका स्थानीयको समस्या समाधानमा न क्रसर व्यवसायीले ध्यान दिनएका छन् न त स्थानीय सरकारले नै । नन्दननगरमा शिवशक्ति, इरविन, एभरेष्ट, दाउन्ने, महामाया, पंचमूर्ति र सिद्धबाबा क्रसर उद्योग संचालनमा छन् । बिहानैदेखि साँझसम्मै यी उद्योगले ठूल्ठूला मोटर लगाएर बोरिङ चलाउँछन् र पानी तान्छन् । दिनभर गिट्टी–बालुवा प्रशोधन गर्छन् र विक्री गरेर मनग्य आम्दानी गर्छन् । उद्योग परिसरमा रहेका बोरिङका कारण नजिकै रहेको बस्तीका स्थानीय भने पानी समेत पाएका छैनन् ।

क्रसरका कारण पिउने पानीको समस्या भयो भनेर गुनासो गर्ने स्थानीयलाई उद्योगीले क्रसरमै आएर पानी लैजाउ भन्ने गरेका छन् । कतिपयले उद्योगमा गएर पानी लिएर खाने गरेका छन् । यस्तो पीडा यहाँका नागरिकले भोग्दै आएको वर्षौं भयो । ‘मेरो घरको चापकलमा पानी नआएको १० वर्ष हुन लाग्यो’, पीडित गोसाइले भने, ‘खासगरी फागुनदेखि असारसम्म बढी समस्या हुन्छ ।’ वर्खा लागेपछि जमिन रिचार्ज भएर केही समय पानी आए पनि गर्मीमा बढी समस्या हुने गरेको उनले सुनाए ।

स्थानीयका अनुसार ६ महिना चापाकलबाट पानी आउँदैन । दिनभरका लागि पानीको जोहो गर्न स्थानीय केही परका छरछिमेक र क्रसर उद्योगमा पुगेर पानी ल्याएर भाडाबर्तन्मा भरेर राख्छन् । स्थानीयले भोग्दै आएको पानीको समस्याबारे उद्योगी र स्थानीय सरकार जानाकार छन् । तर, पानी सुविधा उपलब्ध गराउन भने ध्यान दिएका छैनन् । स्थानीय बुद्धबहादुर विकले क्रसर उद्योगको बोरिङबाट पानी ल्याएर तिर्खा मेट्ने गरेको सुनाए ।

‘पिउने पानीको सबैभन्दा बढी समस्या छ, दैनिक पानीको खोजीमा यताउता गर्नुपर्छ’, उनले भने । निर्वाचनका बेला भोट माग्न आउने दलहरुले आफूहरुको समस्या समाधानमा कुनै पहल नगरेको उनले गुनासो गरे । कानूनतः बस्ती छेउमा क्रसर उद्योग संचालन गर्नै पाइन्न । तर, यहाँ बस्ती छेउमा संचालनमा मात्रै छैनन्, क्रसर उद्योगीले आफूखुशी बोरिङ गाड्दा स्थानीयले पानी पिउनसमेत पाएका छैनन् । धुलो, धुँवा र ध्वनी प्रदूषण थेगिनसक्नु छ ।

‘दिनभर धुलो, धुँवा र ध्वनि प्रदूषणले बसिनसक्नु हुन्छ, त्यसैमाथि पानीसमेत खान नपाउँदा झनै पीडा बोध हुन्छ’, विकले भने । यहाँ रहेका क्रसर उद्योग परिसरमा मनपरी चार–पाँच सय फिट गहिराईसम्म बोरिङ गाडिएको छ, निमयनमा कसैको चासो देखिन्न । स्थानीयको समस्या बेवास्ता गर्ने क्रसर उद्योगीले बरु नजिकै रहेको तिनाउ नदीमा लुकीछिपी गिटी–बालुवा चोरी–तस्करी गर्ने गरेको आरोप लागिरहन्छ ।

क्रसर उद्योगीको मनपरीप्रति सबै निकाय रमिते छन् । तराईको उराठ लाग्दो गर्मीमा धुलो, धुँवा र पानी अभावमा काकाकुल स्थानीयलाई स्वच्छ पिउने पानीको व्यवस्था गरी मनपरी बोरिङ गाड्ने क्रसर उद्योगीलाई कानूनी दायरमा ल्याउनतर्फ जिम्मेवार निकायको ध्यान जानु पर्ने सथनीयको माग छ । शिवशक्ति रोडा उद्योगका संचलक मंगल भण्डारीले स्थानीयले पानीको समस्याबारे जानकारी नदिएको बताए । उनले केही स्थानीयको चापकलमा पानी नआएको भन्ने बारे आफूलाई जानकारीमा आएको बताउँदै समाधानका लागि अन्य व्यवसायीसँग सल्लाह गरेर पहल गर्ने बताए ।

‘मलाई यो विषय जानकारीमा आएको छ’, उनले भने, ‘मैले सबै उद्योगीसँग सल्लाह गर्छु र स्थानीयको समास्या समाधानमा पहल गर्छु ।’ तिलोत्तमा नगरपालिका–१४ का वडाध्यक्ष आश्विन पौडेलले निर्वाचनका बेला मत माग्न जाँदा आफूले त्यहाँ पानीको समस्याबारे जानकारी पाएको बताउँदै छिट्टै स्थानीयको भोग्दै आएको समस्या सहज हुने बताए ।

‘वडा नम्बर १३ मा खानेपानीको ट्यांकी निर्माण भइरहेको छ, निर्माण सम्पन्न पछि हामीले सबै घरमा पानी उपलब्ध गराउँछौं’, उनले भने । उनले स्थानीय सरकारलाई कर तिरिरहेका क्रसर उद्योग बन्द गर भन्न नसकिने जनाउँदै पानी अभाव पूर्ति गर्न अन्य विकल्प खोजिने जनाए । स्थानीयले करोडौं आम्दानी गर्ने उद्योगले स्थानीयको भोग्दै आएको समस्या नबुझ्नु दुःखद् भएको बताएका छन् ।